शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्वमा जिल्लाको लेकवेशी नगरपालिका–८ लामिडाँडामा करिब ६ बिघा जमिनमा लगाइएका अफिमका बिरुवामा नष्ट गरियो। प्रहरीका अनुसार त्यहाँ करिब १ लाख अफिमका बिरुवा थिए। गाउँमा अफिम खेती गरिएको भन्ने सूचनाका आधारमा प्रहरी त्यसलाई नष्ट गर्न गएको हो।
प्रहरीले नष्ट गरेको उक्त अफिम खेती भारतीय व्यापारीको लगानीमा भएको खुलेको छ। भारतबाट आएका व्यापारीले बिउ दिने र त्यसबाट भएको उत्पादन खरिद गर्ने प्रलोभन देखाएपछि त्यहाँका समुदायले अफिमको खेती गरेका थिए।
गएको कात्तिक महिनामा भारतबाट आएका व्यापारीहरूले उक्त अफिम खेतीका लागि बिउ छोडेर गएका थिए। सुरक्षा निकायको पहुँचभन्दा टाढाको बस्ती लामीडाँडामा भारतबाट आएका कुम्ले व्यापारी (कुम्लोमा सामान राखेर बेच्न आउने)ले सुरूमा स्थानीयलाई भेला गराए।
त्यस क्रममा उनीहरूले भने, ‘तपाईंहरूसँग खेती गर्नका लागि जमिन छ, हामीसँग राम्रो आम्दानी दिने बिउ छ। तपाईंहरू खेती गर्नुहोस्, उत्पादन हामी किनेर लैजान्छौं।’
पैसाको प्रलोभनमा स्थानीयले उनीहरूको कुरा माने। त्यसपछि अफिमको खेती सुरू गरे।
बिउ पनि दिने र उत्पादन भएको अफिमको चोप पनि खरिद गरेर लैजाने भनेपछि आफूहरूले खेती गरेको स्थानीय श्यामबहादुर बाह्रघरेले बताए। उनले आफूलाई अफिम ‘लागुऔषध’ हो भन्ने जानकारी नभएको बताए।
भारतीय ती कुम्ले व्यापारीहरूले त्यहाँका केही स्थानीयलाई चोप खरिद गर्नका लागि अग्रिम रकम समेत दिएका थिए।
योभन्दा अघिल्लो महिना माघको पहिलो हप्तामात्र ती बिउ दिने भारतीय व्यापारी गाउँ आएको बाह्रघरेले बताए।
उनका अनुसार ती व्यापारीहरूले त्यहाँ पुगेर ‘अब अफिमको चोप निकाल्ने बेला भयो’ भनेर फर्किएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लामिडाँडामा रहेका सबै ९० घरधुरीमध्ये धेरैजसोले आफ्नो बारीमा अफिम लगाएका थिए। त्यो अफिम खेती नष्ट गर्न ६ घण्टाभन्दा धेरै समय लागेको प्रहरी निरीक्षक रञ्जन घिमिरेले बताए।
धेरै पैसा कमाउने लोभमा भारतीय कुम्ले व्यापारीको प्रलोभनमा परेर स्थानीयले पहिलो पटक अफिम खेती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले अफिम खेती गर्न प्रेरित गर्ने भारतीय कुम्ले व्यापारीहरूको खोजी भइरहेको बताए।