चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै गएराति झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल मृतकका आफन्तले तोडफोड गरिदिएका छन्।
तोडफोडबाट अस्पतालको झ्याल, ढोका, सिसा, इमरजेन्सी कक्ष, फार्मेसी लगायतमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ।
मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय छोरा जेनित राजवंशीको नर्सले इजेक्सन लगाएलगत्तै मृत्यु भएको मृतकका परिवारको आरोप छ।
आइतबार साँझ ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केही क्षणमा नै मृत्यु भएको मृतकका बुवाले बताए।
मृतकका बुवाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएको थियो।
डाक्टरको चरम लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड थालेपछि प्रहरीले ४ सेल अश्रुग्यास प्रहार गरेको थियो।
अस्पताल प्रशासनले झाडा पखलाबाट सिकिस्त भएका बालकको उपचार सुरू गर्न लाग्दा मृत्यु भएको जनाएको छ।
आइतबार दिउँसो बिर्तामोडको मनमोहन अस्पतालमा उपचारपछि बालकलाई घर लगिएको थियो। साँझ परेपछि पुन: झाडापखला दोहोरिएपछि बिर्तासिटी ल्याइएको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल सञ्चालक देउमान थेवेका अनुसार उपचार सुरू नहुँदै बालकको मृत्यु भएको हो ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच घटनाको बारेमा यथार्थ बुझ्न छानबिन समिति गठनपछि बिर्तासिटी अस्पताल परिसर शान्त बनेको प्रहरीले जनाएको छ।