मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य समूहको युवा विद्यार्थी संगठनले मोसो दलेको छ।
बुधबार दिउँसो कार्यालयभित्रै घर्तीलाई मोसो दलिएको हो।
मालपोतमा काम गर्ने कर्मचारीहरूले काममा ढिलासुस्ती गर्ने गरेको जनगुनासो आएपछि आफूहरूले कर्मचारीलाई चेतावनी स्वरूप मोसो दलेको विद्यार्थी नेता हिमाल शाहीले बताए।
उनले सेवाग्राहीलाई सास्ती दिने कर्मचारीका लागि यो एक जनकारबाही भएको बताए।
यता, मोसो दलिएका घर्तीले आफूहरूलाई मोसो दलिनु दुःखद भएको बताए।
‘हामीले जनतालाई सास्ती दिएका छैनौं,’ उनले भने, ‘यसरी मोसो दलेकोमा हामीलाई दुःख लागेको छ। हामीलाई काम गर्ने मनोबलमा कमी ल्याएको छ।’
उनले आफूहरूलाई भ्रष्टाचार गरेको भन्ने कुरा आरोपका नाममा आरोपमात्र भएको भन्दै खण्डन गरे।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले यस विषयमा अनुसन्धान भैरहेको बताए ।
‘मोसो दलिएको भन्ने खबर आएपछि त्यसको हामी अनुसन्धान गर्दैछौं । मैले पनि समाचार पढेपछि यो थाहा पाएको हुँ । अनुसन्धानपछि के रै’छ थाह हुन्छ।’