भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि रानीपोखरी कसरी पुनर्निर्माण गर्ने भनेर काठमाडौं महानगरपालिकाले निधो गर्न सकेको छैन।
रानीपोखरी बाहिरी भागको जिम्मा पाएको महानगर पहिलेजस्तै टेन्डर आह्वान गरेर पुनर्निर्माणमा जाने कि स्थानीय मागअनुरूप उपभोक्ता मोडलमा जाने भन्ने दुबिधामा छ। यसअिघ रानीपोखरीको पुरातात्विक सम्पदा मासिने गरी कंक्रिट स्विमिङ पुलको रूप दिन खोज्दा सर्वसाधारणको विरोधले महानगर पछि हटेको थियो।
महानगरले रानीपोखरी पुनर्निर्माणलाई लिएर अहिलेसम्म तीनचोटि टेन्डर आह्वान गरिसकेको छ।
गत मंसिरमा तेस्रोपटक टेन्डर आह्वान गर्दा तीन कम्पनीले सहभागिता जनाएकामा दुई कम्पनी प्राविधिक रूपमै अयोग्य ठहरिए। बाँकी एउटा कम्पनी रविना कन्स्ट्रक्सनले पनि ठेक्का रकमभन्दा ११ प्रतिशत धेरै मागेपछि संस्थागत निर्णयबाट टेन्डर रद्द गरेको महानगर प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
अब चौथोचोटि टेन्डर आह्वान गर्ने कि उपभोक्ता मोडलमा जाने भन्नेबारे छलफल भइरहेको छ। ‘रानीपोखरी पुनर्निर्माणका लागि हामीले १७ करोड बजेट छुट्याएका छौं। कसरी काम गर्ने भनेर छलफल भइरहेको छ,' प्रवक्ता डंगोलले भने, 'छिट्टै निर्णयमा पुग्छौं।’
पहिलो टेन्डर आह्वानबाट वर्ल्डवाइड कँडेल केएन के जेभीले ठेक्का पाएको थियो। उसले यहाँको पुरातात्विक महत्व मासिने गरी कंक्रिट पर्खाल लगायो। स्थानीयबाट विरोध भएपछि ४ करोड खर्च गरेर लगाइएको पर्खाल भत्काइयो। सम्झौता पनि रद्द भयो। दोस्रोपटकको टेन्डरमा दुइटा निवेदन मात्र परेपछि मागअनुरूप भएन भन्दै रद्द गरियो।
टेन्डर प्रक्रियाबाट जाँदा पहिलेजस्तै सम्पदा मासिने जोखिम रहेको भन्दै सम्पदाविद्हरू उपभोक्ता मोडलको पक्षमा उिभएका छन्।
उपभोक्ता मोडल रोजेपछि काष्ठमण्डप पुनर्निर्माणले गति लिएको उदाहरण दिँदै रानीपोखरीमा पनि यही तरिका अपनाउनुपर्ने सम्पदाविद् सुर्दशनराज तिवारीले बताए।
‘महानगर कहिले के भन्छ, कहिले के। हामीले डेढ वर्षअघि नै मल्कालीन शैलीमा पुनर्निर्माण गर्न सुझाएका थियौं। महानगरको ढिलासुस्तीले झन् झन् हालत खस्किँदै छ,’ सम्पदाविद् तिवारीले सेतोपाटीसँग भने, ‘पुनर्निर्माण छिट्टै गर्ने हो भने उपभोक्ता मोडलमा जाँदा राम्रो हुन्छ।’
यो अवधारणामा गए स्थानीयको चाहनाअनुसार पुनर्निर्माण हुने उनको भनाइ छ।
'काम गुणस्तरीय हुन्छ। मौलिकतामा औंला उठाउने ठाउँ रहन्न। काम गर्दै जाँदा विभिन्न अनुसन्धान गर्न पाइने भएकाले मौलिकता ल्याउन सजिलो हुन्छ। चाहेको काम चाहेको तरिकाबाट गर्न सकिन्छ,' उनले भने।
उपभोक्ता मोडलमा पुनर्निर्माण गर्दा काष्ठमण्डपले रूप फेरेको उनले बताए।
पुनर्निर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठित विज्ञ समूहले प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न सुझाएको थियो। तिवारी पनि उक्त समूहका सदस्य थिए। त्यसपछि विभिन्न समूहले रानीपोखरी पुनर्निर्माण द्रुत गतिमा गर्न दबाब दिँदै आएको छ।
‘उपभोक्ता मोडल छाडेर ठेक्का प्रणालीमै जाने हो भने कुनै हालतमा राम्रो काम हुँदैन। पुनर्निर्माणको ज्ञान नभएकालाई ठेक्का पर्न सक्छ। उनीहरूले जस्तो पायो त्यस्तै जनशक्ति लगाउन सक्छन्। हाम्रो सम्पदाको मौलिकता जुन रूपमा हुनुपर्ने हो, त्यो नहुन सक्छ,’ उनले भने, ‘अहिले रानीपोखरी यत्तिकै छाडिदिँदा त्यहाँको जमिन चिराचिरा परेको छ। त्यसलाई थप अनुसन्धान गरेर बनाउनुपर्ने हुन्छ।'
ठेकेदारलाई दिँदा थप अनुसन्धानको अवसर नपाउने उनले बताए।
प्रताप मल्लले रानीपोखरी बीचमा बालगोपालेश्वर र चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको इतिहास छ। उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरव मन्दिर, उत्तर–पूर्वी कुनामा भैरव मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको छ।