अपांगता भएका व्यक्तिहरूले राज्यले व्यवस्था गरेको सहुलियत नपाएको गुनासो गरेका छन्।
सोमबार सुर्खेतमा आयोजित अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका विषयक सचेतना गोष्ठीमा सहभागी अपांगता भएकाहरूले राज्यले व्यवस्था गरेको यातायात, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियत नपाएको गुनासो गरेका हुन्।
कार्यक्रममा सहभागी मयाराम जैसीले कर्णाली यस क्षेत्रमा यातायातमा दिइएको सहुलियत लागू नभएको बताए।
‘राज्यले यातायातमा सहुलियतको व्यवस्था गरेको छ, तर यहाँ यसको लागू भएको छैन,’ उनले भने, ‘यसको कार्यान्वयनका लागि प्रदेश सरकारले पहल गर्नुपर्छ।’
प्रदेश र स्थानीय तहमा सरकार बनेपछि अपांगता भएकाहरूले पाउने सुविधाहरू पाउने आशा गरिएको शर्माले बताए।
नेत्रहीन सेवा संघ सुर्खेतका सचिव रेणुका कोइरालाले शिक्षा क्षेत्रमा अपांगता भएका व्यक्तिहरूले सहुलियत नपाएको बताइन्।
‘राज्यले शिक्षा क्षेत्रमा पनि सहुलियतको व्यवस्था गरेको छ। तर, हाम्रा कतिपय साथीहरूले पूरै शुल्क तिरेर फाराम भर्नुभएको छ,’ उनले भनिन्।
छात्रवृत्तिको सुविधा पनि आफूहरूले पाउन नसकेको उनले बताइन्।
अपांग महिला संघ सुर्खेतकी अध्यक्ष धनसरा शाहीले अस्पतालहरूमा अपांगता भएकाहरूलाई सपांग नागरिकको जस्तै व्यवहार गर्ने गरिएको बताइन्।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका सञ्जय वान्तवा राईले नेपालमा बन्ने भौतिक संरचना निर्माणका क्रममा ख्याल नगर्दा सपांगहरूको लागि समेत वृद्धा अवस्थामा समस्या हुने गरेको बताए।
नेपालमा बनेका सडक, पेटी, कार्यालयहरू अपांगमैत्री नभएकोले समस्या हुने गरेको उनले बताए।
राष्ट्रिय अपांग संघ सुर्खेतका सचिव नन्दराम चौलागाइँले अपांगता भएकाहरूका लागि जारी निर्देशिका हालसम्म पूर्णरूपमा कार्यान्वयन हुन नसकेकोले यसको कार्यान्वयनका लागि राज्यबाट नियमित अनुगमन गरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले संघीयतापछि अपांगता भएका व्यक्तिहरूलाई केही सहज भएको बताइन्।
पहिले जिल्लाबाट वितरण हुने परिचयपत्रलगायतका अन्य सुविधा अहिले स्थानीय तहहरूबाट दिन थालिएकोले यसमा उनीहरूको थप पहुँच बढेको उनले बताइन्।
अपांग भएकाहरूको लागि व्यवस्था गरिएको आरक्षण सुविधा ‘क’ वर्गका लागि उचित नभएको उनको भनाइ थियो। ‘क’ वर्गका व्यक्तिले त्यस्तो आरक्षणको उपयोग गर्न नसक्ने भएकाले बरु उनीहरूको सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्नेमा उनले जोड दिइन्।