काशीनाथ ज्ञवाली आँखा देख्दैनन्। मनको आँखा भने यति फराकिलो छ, उनी त्यसैले समाजका विसंगति पर्गेल्न सक्छन्। त्यसमा व्यंग्य चेत भएपछि त सुनमा सुगन्ध!
यही व्यंग्य चेतले काशीनाथका लेखनमा सुगन्ध थप्छ।
गुल्मी, सुनडाँडाका काशीनाथ आफ्नो नयाँ कृति ‘बोकाको मन’ लिएर आएका छन्। शनिबार प्रज्ञा प्रतिष्ठानमा विमोचित यो व्यंग्य निबन्ध संग्रह हो।
शिक्षण पेसामा संलग्न उनले खण्डकाव्य, महाकाव्य र छन्द कविता गरी तीनवटा पुस्तक लेखेका छन्। उनको पहिलो पुस्तक ‘रक्सी’ खण्डकाव्य हो।
जन्मजात दृष्टिविहीन काशीनाथको परिवारमा आँखा नदेख्ने उनी एक्ला होइनन्। उनका बुबा दृष्टिविहीन थिए। चार भाइ छोरामध्ये तीन जना आँखा देख्दैनन्।
यी तीन दाजुभाइको निम्ति शारीरिक अक्षमता कहिल्यै कमजोरी बनेन। बरू उनीहरूले यसैलाई प्रेरणास्रोत बनाए। आँखा नदेखे पनि शिक्षाको उज्यालोले भविष्यको बाटो देखाउनेछ भन्ने पाठ उनीहरूले बुबाबाट सिके।
त्यही उज्यालो पछ्याउँदै जेठा छोरा लक्ष्मण ज्ञवाली नेपालका पहिलो दृष्टिविहीन अधिवक्ता बनेका छन्।
‘आँखा नदेख्नेहरूका निम्ति हामीकहाँ लेखपढ सजिलो छैन,’ गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका लक्ष्मण भन्छन्, ‘हामीले गुरूले बोलेका कुरा सुनेकै भरमा पढ्यौं। आँखा नदेख्नेले छामेर पढ्नसक्ने किताब (ब्रेल लिपि) हुन्छ भन्ने त धेरै पछि थाहा पायौं। हामी नजिकका साथीहरूलाई ठूलो अवाजमा पढ्न लगाएर याद गर्थ्यौं।’
उच्च तहसम्मको शिक्षा यसरी नै पूरा गरेका लक्ष्मणले पछि ब्रेल लिपिबारे थाहा पाए। तर, अभ्यस्त हुन सकेनन्। ‘सानैबाट अरूको बोली सुनेर पढ्ने बानी बसेको थियो। ब्रेल लिपिमा लेख्न मात्र सक्ने भएँ, पढ्न गाह्रो भयो,’ उनले भने।
स्क्रिनमा आएका अक्षर पढेर सुनाउने कम्प्युटर सफ्टवेयरले भने पढ्न सहज भएको उनी बताउँछन्। यसैको सहयोगमा राजनीतिशास्त्रमा पिएचडी गरेको उनले जानकारी दिए। उनी नेपालका चौथौ दृष्टिविहीन विद्यावारिधि हुन्।
उच्चशिक्षासम्मको उनको यो यात्रा सहज थिएन।
स्कुल र बाटोमा ‘अन्धा’ भनेर जिस्क्याउँदा धेरैचोटि उनको आत्मबल पराजित हुन्थ्यो। त्यही भएर दुई वर्ष स्कुलै गएनन्। पछि मनको चेतले शारीरिक अक्षमतालाई जित्यो। जस्तोसुकै टोकसो सहन परे पनि आफू दह्रो गरी उभिएपछि सबै पराजित हुन्छन् भन्ने उनलाई विश्वास थियो।
‘त्यही विश्वासले म फेरि स्कुल फर्किएँ, र जसले जेसुकै भनोस् आफ्नो पढाइलाई खुरुखुरु निरन्तरता दिएँ,‘ लक्ष्मणले भने।
हुन त अहिले पनि त्यस्ता दुर्वचन सहनु नपर्ने होइन। बाटोमा हिँड्दा हिँड्दै छुच्चा मुखहरूबाट आफ्नो अक्षमताबारे प्याच्च टिप्पणी सुन्छन्। यतिबेला उनको आत्मबल यति दह्रो भइसकेको छ, त्यस्ता टिप्पणीले उनको मन घोच्दैन। बरु अझ दह्रो भएर आउँछ।
‘सर्वोच्च अदालतमा मेरो पहिलो बहस थियो,’ लक्ष्मण भन्छन्, ‘विपक्षी वकिल बहसको समय हाजिर हुनु भएन। पछि थाहा पाएँ, म दृष्टिविहीन भएको थाहा पाएर उहाँले बहस छाड्नुभएको रहेछ।’
‘उहाँको त्यस्तो व्यवहारले मलाई केही फरक परेन। म अलिकति पनि विचलित भइनँ। बरु उहाँ बहसमा अनुपस्थित हुन भएकैले एक्लै बहस गर्ने मौका पाएँ। धेरै कुरा सिक्न पाएँ। म उहाँलाई धन्यवाद दिन चाहन्छु।’
लक्ष्मण नेपाल ब्लाइन्ड क्रिकेट एसोसियसनदेखि अन्य थुप्रै संस्थामा आबद्ध छन्। उनका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भइरहन्छन्।
लक्ष्मणले कोरिदिएको यही बाटो उनका दुई दृष्टिविहीन भाइले पनि पछ्याए। माइला काशीनाथ र साइँला श्रीराम दुवै उच्चशिक्षा सकेर शिक्षणमा लागेका छन्। दुवै गुल्मीकै स्कुलमा पढाउँछन्। काशीनाथ नेपाली विषय पढाउँछन् भने श्रीराम इतिहास।
काशीनाथलाई त लेखनमा पनि टक बसेको छ। सानैदेखि कविता लेख्ने उनी पछि आफ्नो अभिव्यक्तिको दायरा फराकिलो पार्न निबन्ध विधा रोजेको बताउँछन्।
‘भैरव अर्यालको व्यंग्य रचना मलाई एकदमै मनपर्छ। यसले व्यंग्य लेखनतर्फ मेरो रुचि ढल्कियो। समाजका विसंगति र कुरीतिलाई सपाट लेखनबाट भन्दा व्यंग्यमिश्रित भावमा अभिव्यक्त गर्न सके त्यसको प्रभावकारिता बढी हुन्छ भन्ने लाग्यो,’ उनले भने, ‘व्यंग्य निबन्धतर्फ ढल्किएको त्यही कारणले हो।’
लेखनलाई उनी आत्मसन्तुष्टि पनि मान्छन्। समाजमा देखेभोगेका क्षणलाई आफ्नो भावनासहित अभिव्यक्त गर्न पाउँदा मन हलुंगो हुने उनको अनुभव छ।
‘जो दृष्टिविहीन छन्, उनीहरूको हेर्ने आँखा हुँदैन, देख्ने आँखा हुन्छ,’ उनले भने, ‘हामी त्यही देख्ने आँखाबाट यो समाज नियाल्न सक्छौं।’
शनिबार पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काशीनाथको साहित्य रचनाप्रति टिप्पणी गर्दै भनेका थिए, ‘धेरैसित दृष्टि हुन्छ, तर दृष्टिकोण हुँदैन। काशीनाथजी दृष्टिविहीन भएर पनि दृष्टिकोण भएका प्रतिभाशाली सर्जक हुन्।’
समाजमा यी ज्ञवाली दाजुभाइजस्ता शारीरिक अपांगता भएका थुप्रै छन्, जो आफ्ना अनेक समस्या जितेर सपना पछ्याइरहेका छन्। राज्यले उनीहरूको होस्टेमा हैंसे गरिदेओस् भन्ने लक्ष्मणको चाहना छ।
‘हाम्रो समाजको सोच र सहरको पूर्वाधार दृष्टिविहीन अनुकूल छैन। राज्यले आजसम्म हामीलाई सुविस्तापूर्वक हिँड्न मिल्ने बाटोघाटोधरि बनाइदिएको छैन। शारीरिक अपांगता भएका व्यक्तिको आधारभूत मौलिक हक पनि सुनिश्चित गर्न नसक्नु राज्यको कमजोरी हो,’ उनले भने।