तारजालीले घेरिएको काष्ठमण्डप परिसरमा केही दिनदेखि धमाधम काम हुँदैछ।
शिल्पकारहरू काठमा कला भर्न व्यस्त छन्। अलि पर ठूला आकारका इँटालाई माटो र बालुवाले अडाउने काम चल्दैछ। पहिले प्रयोग भएका साना इँटा पाखा लगाइएका छन्। जग बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ।
२०७२ को भुइँचालाले पूर्ण क्षति भएको काष्ठमण्डप पुनर्निर्माण लामो समय विवादमा रह्यो। स्थानीय र काठमाडौं महानगरपालिकाको विवादले पुनर्निर्माण तीन वर्ष धकेलियो। अहिले महानगरकै सक्रियतामा काम सुरू भएको हो।
‘हामीले सबै काम खुला होस् भनेर तारजाली लगाएका हौं। हाम्रो गलत मनशाय हुन्थ्यो भने अन्य क्षेत्रमा जस्तै जस्ताको बार लगाउन सक्थ्यौं,’ काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने।
गत वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमापूजा गरेपछि काष्ठमण्डप पुनर्निर्माणले औपचारिकता पाएको हो। पुनर्निर्माण निम्ति २३,२४,१९ र २० नम्बर वडाका अध्यक्षको रोहवरमा समिति गठन गरिएको छ। समिति बनेपछि साउन महिनासम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम भयो। भदौमा निर्माणक्षेत्र सफा पारियो। त्यसपछि कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् पुनर्निर्माण सुरु भएको थियो।
तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको समितिका अध्यक्ष शाक्यले जानकारी दिए।
उनका अनुसार ‘प्यंग थां’ (चारवटा मूल थाम) उठाउने काम सुरू भएको छ। पचास लाख रूपैयाँ बजेटबाट सुरू भएको पुनर्निर्माणअन्तर्गत आगामी असार १५ भित्र एक तल्ला उठाउने लक्ष्य छ।
‘हामीले माघ महिनामा चारवटा मूल थाम राख्ने योजना बनाएका छौं। यसका लागि तीनवटा नयाँ राख्छौं। एउटा पुरानै राख्दा हुने विज्ञहरूले स्वीकृत गरेका छन्,’ उनले भने, 'पुनर्निर्माणमा प्रयोग भएका सबै सामग्री पुरातत्व विभाग र युनेस्कोको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरिएको छ।'
काष्ठमण्डपका लागि धेरै काठ पुरानै प्रयोग गरिएका छन्। नयाँ राखिने काठको निम्ति असोज २५ गते टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) सँग सम्झौता भएको छ। मंसिर १६ गतेबाट काठ ल्याउन सुरु भएको छ। अहिलेसम्म चार खेप गरेर ८ सय १४ क्युफिट काठ आइसकेको छ।
यहाँ प्रयोग भइरहेका काठ बर्दिबासबाट ल्याइँदैछ। यसको निम्ति अध्यक्ष शाक्यले सातादिन बर्दिबासमै बिताएका थिए। त्यहाँबाट प्रत्येक साता एकट्रक काठ आउँछ। ‘पुनर्निर्माणका लागि सबैभन्दा महत्वपूर्ण सामग्री भनेको काठ हो। त्यो पनि वर्षौं टिक्ने,' अध्यक्ष शाक्यले भने, ‘बर्दिबासमा गएर म आफैंले हेरेर आएपछि अब हामीलाई काठको दु:ख छैन।’
सुरुमा काठ काट्ने मेसिनको समस्या भएको उनले बताए। ठूलो काठको खासै प्रचलन नभएकाले १५-१६ फिटका काठ काट्ने मेसिन मात्र नेपालमा पाइन्छ। २५, ३०, ३२ फिटका काठ काट्ने मेसिन पाइँदैन। नयाँ काठको औसत आयु कम्तीमा तीन हजार वर्ष हुने अनुमान छ।
पुनर्निर्माणमा प्रयोग हुने ढुङ्गाका केही काम भक्तपुरमा भइरहेको छ। इँटा भक्तपुरको दक्षिणबाराही ब्रिक उद्योगबाट ल्याइँदै छ। यहाँ मौलिक इँटा तयार पारिन्छ। माटो भने धरहरा पुनर्निर्माणका लागि खनिएकोबाट प्रयोग भइरहेको छ। यसअघि विभिन्न ठाउँको माटो परीक्षण भएको थियो। विज्ञको सल्लाह र परीक्षणबाटै धरहराको कालो माटो प्रयोग गर्न थालिएको शाक्यले बताए।
काष्ठमण्डपको नक्सा पुरातत्व विभागबाट मंसिर १६ गते स्वीकृत भएको छ। यसलाई पुनर्निर्माण स्थलकै पर्खालमा टाँगिएको छ। सबैले सहज रूपमा हेर्न सक्छन्।
काष्ठमण्डप चार अवधारणाअनुसार काम भइरहेको छ - उपभोक्ता मोडल, मौलिकतामा आधारित, जनताको अपनत्व र जनताकै आर्थिक सहयोग।
‘अहिले नै जनताबाट आर्थिक सहयोग नलिनुको कारण हामीले काम धेरै देखाउन सकेका छैनौं,’ उनले भने, ‘सुरूमै जनताबाट लिन खोज्दा उनीहरूले विश्वास नगर्न सक्छन्। काम देखिने भएपछि मात्र सहयोग लिन्छौं।’
उनीहरूले दैनिक के कति काम भयो, कसरी काम भइरहेको छ भन्ने विस्तृत जानकारीसमेत राख्ने गरेका छन्। यसमा स्थानीयको साथ रहेको समितिको दाबी छ।
‘हाम्रो समिति नै जनताबाट बनेको हो। त्यसैले यसमा पूर्ण रूपमा स्थानीयको सहभागिता छ। जनतासँग एकाकार भएर काम गरिरहेका छौं,’ अध्यक्ष शाक्यले भने, ‘हामीले हामी मात्र ठिक छौं, जान्ने छौं भनेका छैनौं। हामी पनि बनाउने र सिक्ने क्रममा छौं। काम गर्ने क्रममा काष्ठमण्डप बुझ्ने मानिसले हामीलाई सुझाव दिए मनन गछौं। गलत सुझाव भने ग्रहण गर्दैनौं।’
काष्ठमण्डप पुनर्निर्माणमा भक्तपुरका कामदारले काम गरिरहेका छन्। दैनिक हाजिरीका आधारमा उनीहरुले ज्याला पाउँछन्। यसमा महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउनेछ भने पुरातत्व विभागले प्राविधिक सहयोग। यहीअनुरुप महानगरपालिकाले पुनर्निर्माण समितिलाई गत असोजमा ५ करोड रुपैयाँ थप रकम दिएको थियो। यसमा १९ करोड खर्च लाग्ने अनुमान छ।