झापा अर्जुनधाराकी एक महिलाको हत्या गर्ने उद्धेश्यले धारिलो हतियार (खुकुरी) प्रहार गरी फरार रहेका स्थानीय एक अधबैसे युवाले घाँटी रेटेर आत्महत्या गरेका छन्।
शनिबार बिहान साढे ५ बजे स्थानीय वडा नम्बर १० की २४ वर्षीया जमुना ओझालाई टाउकोमा खुकुरी प्रहार गरी फरार सोही वडाको चिसापानी बस्ने ४४ वर्षीय खडानन्द पौडेलले घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जमुना बिहान उठेर घरको ढोका खोल्ने बित्तिकै पौडेलले घरभित्र पसेर अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट जमुनाको दाइने भागको कान छिनेको छ। टाउकोमा गहिरो चोट छ। जमुनाकै घरमा राति सुत्न साथी आएकी छिमेकी १८ वर्षीय बालकुमारी भारती पनि प्रतिकार गर्ने क्रममा घाइते भएकी छन्। उनको दुवै हातका औंला काटिएको छ।
जमुनाको घरदेखि ३ सयमिटर दक्षिण एउटा कुलोमा पौडेलको शव फेला परेको छ।
प्रहरीका अनुसार पौडेलको शव भेटिएको स्थानमा जमुनालाई प्रहार गरेको खुकुरी पनि बरामद भएको छ। घटनास्थलको प्रकृति हेर्दा पौडेलले आफ्नै घाँटी खुकुरीले रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।
जमुनाका श्रीमान् नविन वैदेशिक रोजगारका क्रममा दुबईमा कार्यरत छन्।
६ वर्षीय छोरासँग जमुना घरमा बस्दै आएकी थिइन्। स्थानीय पुष्पलाल भारतीका अनुसार बिहानै जमुनाको घरमा चिच्याएको आवाज आयो र त्यहाँ पुग्दा जमुना ढलिसकेकी थिइन्।
घाइते दुवै जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
पौडेल पुरोहित हुन्। उनी डकर्मी सिकर्मीको पनि काम गर्छन्। गाउँलेका अनुसार मृतक पौडेल र जमुनाका श्रीमान् घनिष्ट साथी हुन्।
तर, कुन उद्धेश्यले जमुनाको हत्या प्रयास भयो गाउँले त्यसबारे अनविज्ञता प्रकट गरे।