बहुमुल्य पत्थरसहित सुर्खेतमा पाँच जना पक्राउ परेका छन्। गए राति कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कारपीयो गाडी चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले साढे ११ किलो पत्थरसहित पक्राउ गरेको हो।
वीरेन्द्रनगरस्थित बाङ्गेसिमल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारपीयोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बहुमूल्य पत्थर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेतको वीरेन्द्रनगर–४ बस्ने ४० वर्षीय भिमबहादुर सुनार, वीरेन्द्रनगर–५ बस्ने ३० वर्षीय नविन कँडेल, वीरेन्द्रनगर–८ बस्ने २८ वर्षीय सुरेन्द्र शाही, सुर्खेतको बराहताल गाउँपालिका–८ बस्ने २६ वर्षीय भक्त बहादुर पाण्डे र सोही ठाउँका ३२ वर्षीय तेजेन्द्र बस्नेत रहेका छन् ।
बरामद गरिएको पत्थर, गाडी र पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।