पाँचथरको मेची राजमार्गमा खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बुधबार राती १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।
उनीहरूको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकृत प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार फिदिम १ स्थित पौवाबाट फिदिम बजारतर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय वडा नम्बर २ का ४३ वर्षीय गोपाल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी ट्याक्टर चालक फिदिम ४ बस्ने २४ वर्षीय विजय वर्देवा, सोही ठाउँका १२ वर्षीय उमेश दर्जी र १३ वर्षीय छवि दर्जी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालकको अवस्था गम्भीर छ।
ओभर स्पिडका कारण चालकले ट्याक्टर नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर भिरबाट करिब ५ सय फिट तल झरेको थियो।