बलिउडलाई साहित्यको सर्वोच्च पाइन चढाउने शिल्पी हुन् गुलजार।
कवि गुलजार यतिबेला बलिउडको घेराभन्दा बाहिर निस्केका छन्। पछिल्लो समय उनले आफ्नो जीवनमै प्रभाव पार्ने संसारभरिका मान्छेहरूकाबारे किताबै लेखेका छन्– ‘सगे सारे’।
ती प्रत्येक व्यक्तिका बारेमा लेखेर तयार पारेको कविताहरूको संग्रह हो यो किताब।
गुलजारका कविताअनुसार उनलाई संसारभरमा मनपरेका ५४ जना छन्। ती सबै एक से एक नाम हुन्। तिनैमध्ये एउटा नेपाली नाम पनि देखिन्छ-आनी छोइङ ड्रोल्मा।
मराठी भाषामा लेखिएको यो किताब एक सय ८० पानाको छ। सन् २०१८ अगस्ट १८ तारिखका दिन तयार भएको हो।
किताबमा गालिब, रुमी, शेक्सपियर, भ्यानगग, टैगोर, प्रेमचन्द हुँदै पाब्लो पिकासोसम्म कविता बनेका छन्। त्यसैगरी राजीव गान्धीदेखि महात्मा गान्धीसम्मका राजनेतालाई उनले समेटेका छन्। अर्कोतिर कानुन व्यावसायी एण्ड्रयु फिस्टलदेखि प्रथमपटक चन्द्रमा यात्रा गरेका नील आर्मस्ट्रङ पनि कवितामा अटाएका छन्।
भारतीय फिल्म उद्योगकै सर्वोच्च सम्मान ‘दादा साहेब फालके’ पाइसकेका गुलजारको किताबमा बलिउडका जानेमाने हस्तीहरू हुने नै भए। नशीरुद्दीन शाह, आशा भोसले, सुनील दत्त, सलील चौधरी, पंचम दा (आरडी बर्मन), मीना कुमारी, अमजद खान, संजीव कुमार, ओम पुरीलगायत अरू केही नाम देखिन्छन्। त्यसैगरी गायकमा जगजीत सिंह।
आफ्नी एकमात्र छोरी मेघनालाई त उनले औपचारिकदेखि घरमा दिइएको विभिन्न नामसम्ममा पटकपटक कवितामार्फत उल्लेख गरेका छन्।
‘सेल्फ पोट्रेट’ भनेर आफैंलाई समेत कवितामा ढालेका उनले आमालगायत आफन्तहरूको पनि कविता बनाएका छन्।
यसरी भारतीय साहित्यकै उँचो कद गुलजारको ‘सगे’ (आफन्त) बन्न हाम्री आनी छोइङ कसरी सफल भइन्?
यो जिज्ञासा आनीसँगै राखियो।
कन्सर्टका निम्ति प्रायः विदेशै रहने आनी मंगलबार पनि चीन उड्ने तयारीमै थिइन्। तै पनि भेटेर गुलजारबारे विस्तार वर्णन गर्न तयार भइन्।
‘मेरो किताब पढेपछि उहाँ मसँग नजिकिनु भएको हो,’ आनीले भनिन्, ‘त्यसमा मेरो आमाबुबाले मात्र मलाई बोलाउने नाम फोमो हो भन्ने पढेपछि आजसम्म उहाँले मलाई केवल ‘फोमो’ भनेरै बोलाउँदै आउनुभएको छ।’
गुलजारले आनीमाथि लेखिएको कविताको शिर्षकमा पनि ‘फोमो– आनी छोइङ ड्रोल्मा’ भनेरै उल्लेख गरेका छन्।
आनीका अनुसार हिन्दी सिनेमा र गीतमार्फत् उनी पहिलेदेखि गुलजारसँग परिचित थिइन्।
‘उहाँको साहित्यलाई मैले पूर्णतया छिचोल्न सकेकी छैन होला,’ उनले भनिन्, ‘तर, मैले जति बुझ्दै आएकी थिएँ र पछिल्लो समय सम्पर्क पनि बढेपछि उहाँको व्यक्तित्व मेरो मनमा असाध्यै उँचो बनेको छ।’
आनीका अनुसार गुलजार बोल्दा जुन शब्दहरू प्रकट हुन्छन्, त्यसको आवाजसमेत असाध्यै वजनदार हुन्छ। सदैव सफा सेतो लुगामा प्रस्तुत हुने त्यो व्यक्तित्व उत्तिकै चोखो देखिन्छ।
‘आध्यात्मिक चिन्तनका गम्भीर विषयलाई पनि सरल भाषामा लेखिदिनुहुन्छ,’ आनीले भनिन्, ‘यो नै मलाई सबैभन्दा मनपर्ने विशेषता हो।’
नेपालमा त्यस किसिमको व्यक्तित्व आफूले कवि तथा गीतकार दुर्गालाल श्रेष्ठमा भेटेको उनले सुनाइन्।
आनीको गुलजारसँग भेट कसरी भयो?
‘सन् २०१७ को अक्टोबरमा मुम्बईस्थित एनसीबिए (नेशनल सेन्टर फर परफर्मिङ आर्ट) मा मेरो दोश्रोपटक कन्सर्ट हुँदै थियो,’ उनले भनिन्, ‘हलमा पुगेर तयारी गरिरहेकै बेलामा शान्तनु मोइत्राजीले मलाई गुलजार साहेब आउँदै हुनुहुन्छ भनेर अवगत गराए।’
बलिउडका प्रसिद्ध संगीतकार मोइत्रासँग पछिल्लो समय आनीको घनिष्ट मित्रता छ। ‘परिणिता’, ‘लगे रहो मुन्नाभाइ’ देखि ‘थ्री इडियट्स’ जस्ता फिल्मको संगीतमा मोइत्राकै देन छ।
आनीका पाहुना भएर मोइत्रा बारम्बार काठमाडौं आइसकेका छन्। मोइत्राले आनीकै निम्ति तयार पारेको गीत पनि रेकर्ड हुने क्रममा छ।
‘मलाई मनपर्ने मान्छेहरू मेरो कार्यक्रममा आउँदैछन् भन्ने जानकारी पाउँदा जहिले पनि असाध्यै आनन्द लाग्छ,’ आनीले भनिन्, ‘त्यसमा पनि गुलजार त मेरोनिम्ति असाध्यै विशेष नाम थियो।’
गुलजारको नाम सुनेपछि आफू हल्का ‘नर्भस’ समेत भएको आनीले बताइन्।
नभन्दै केही छिनमै गुलजार हलभित्र देखिए।
‘साउण्ड चेक गरिरहेकै बेला उहाँलाई देखेपछि म तुरुन्तै उठेँ र सरासर उहाँ भएको स्थानमा पुगेँ,’ उनले थपिन्, ‘आफू उहाँको ठूलो फ्यान रहेको अवगत मात्र गराइनँ, उहाँप्रति कति अगाध श्रद्धा छ भनेर सक्दो प्रकटसमेत गर्न खोजेँ।’
जवाफमा गुलजारले बारम्बार आनीलाई ‘धन्यवाद’ भनिरहे।
‘त्यस्ता मानिसहरूको उपस्थिति भएको क्षण वातावरणमा फैलिने आभा नै बेग्लै हुन्छ,’ आनी भनिरहेकी थिइन्, ‘मैले गुरूहरूको संगतमा त्यस्तो आभा महशुस गर्ने गरेकी थिएँ।’
कन्सर्ट सुरु भयो।
त्यो कन्सर्टले गुलजारमा कस्तो प्रभाव पर्यो भन्ने उनले किताबमै कविताभन्दा अघिल्तिर लेखेको आनीको परिचयमा उल्लेख गरेका छन्– ‘आंखे बंद कर के सुर लगाती थी तो साध्वी लगती थी। न होंठ हिलते थे, न गर्दन! इबारत (दुआ) जैसा ऊंचा सुर कैसे लगा लेती थी?’
कन्सर्ट सकिएपछि गुलजार सरासर स्टेजमै पुगेछन्। राजकुमार हिरानी, विधुविनोद चोपडालगायत बलिउडका एक से एक निर्देशक र कलाकारसमेत पुगेको स्टेजमा गुलजार पनि थपिएपछि माहोलै बेग्लै भएछ।
‘त्यो मौका छोप्दै मैले मेरो किताब (नेपालीमा ‘फूलको आँखामा’ को अंग्रेजी संस्करण) उहाँलाई उपहार दिएँ,’ आनीले थपिन्, ‘उहाँले किताबमा मेरो अटोग्राफ माग्नुभयो।’
आनीले लेख्दै गर्दा गुलजारले ‘क्यान आइ ह्याभ योर नम्बर’ भनेछन्। आनीले नम्बर पनि लेखिदिइन्। नम्बर लेख्नेबित्तिकै इमेल ठेगाना पनि मागेछन्। आनीले त्यसैमा इमेल पनि लेखिदिइन्।
त्यसपछि आनी नेपाल फर्किइन्।
‘नेपाल आउन पाएको छैन मोबाइलमा म्यासेज आइसकेको थियो,’ आनीले भनिन्, ‘त्यो म्यासेज गुलजार साहेबकै थियो।’
–‘आनी फोमो, लेट मी नो इफ दिस मेसेज रिचेज टु यु। गुलजार’ (यो सन्देश पुग्यो कि पुगेन जानकारी पाऊँ)
आनीको खुशीको सीमै रहेन।
‘म त म्यासेज पढेरै उफ्रिएँ,’ उनले भनिन्, ‘तुरुन्तै जवाफ पनि फर्काइ हालेँ।’
‘ओह माइ गड। योर म्यासेज ब्रट भेरि ओभरह्वेल्मिङ जोय इन माइ हार्ट विथ बिग स्माइल इन माइ फेस। थ्यांक यू सो मच।’ (तपाईंको सन्देशले म असाध्यै खुसी भएकी छु)
उताबाट फेरि म्यासेज आयो।
‘आइ एम स्टिल रिडिङ योर बुक। भेरी वेल रिटेन। इन्ग्रोसिङ। गुलजार’ (म तिम्रो किताब पढिरहेकै छु। असाध्यै राम्रो छ। पढेपछि थामिन गाह्रो हुने)
जवाफमा आनीले नमस्कार गरेको चित्र पठाइन्।
यस बीचमा झण्डै एक वर्ष बितिसकेको थियो।
सन् २०१८ को अक्टोबरमा आनी फेरि मुम्बई जाँदै थिइन्।
आनीले गुलजारलाई फेरि म्यासेज पठाएर अभिवादन मात्र के गरेकी थिइन् उताबाट तत्कालै ‘क्यान आइ कल यु’ (म फोन गर्न सक्छु?) भनेर उत्तर आइहालेछ।
आनीले ‘स्योर’ भन्न नपाउँदै मुम्बईको नम्बरबाट घन्टी बज्न थाल्यो।
‘मैले एउटा किताब लेखेको थिएँ। तिमीलाई पनि त्यो पठाउन लगाएको थिएँ। पायौ?’ गुलजारले सोधेछन्।
आनीले किताब नपाएको बरु आफू स्वयं मुम्बई आउन लागेको जवाफ दिइन्।
‘ओहो त्यसो भए झनै राम्रो भयो,’ गुलजारले भनेछन्, ‘मैले तिमीलाई हातैमा त्यो किताब दिन पाउने भएँ। मुम्बई आएपछि मेरो घरमा निम्तो छ।’
मुम्बई पुगेपछि कन्सर्टभन्दा अगावै आनी शान्तनु मोइत्रासँगै गुलजारको बान्द्रास्थित निवास पुगिन्।
घरको सजावट पुरानो शैलीको थियो। अलि 'क्लासिक'। आनीलाई पुराना हिन्दी फिल्मका ठूल्ठूला घर जस्तै लागेछ।
सबभन्दा अचम्म चाहिँ, चारैतिर बुद्धका मूर्ति मात्र थिए। जता हेरे पनि बुद्धैबुद्ध।
एकजना पञ्जाबी, जसले उर्दूमा लेखेर दुनियाँलाई प्रभावित पारेको छ, उसमा बुद्धप्रति त्यस्तो प्रभाव देखेर आनी खुसी र अचम्म दुवै भइन्।
त्यसदिन आनी नजिकै आइपुग्दा गुलजार असाध्यै खुसी देखिए।
‘त्यो एकदमै माया गर्ने मानिसलाई देख्दा केटाकेटी जसरी रमाउँछन् नि,’ आनीले थपिन्, ‘गुलजार साहेबमा मैले त्यस्तै रुप देखेकी थिएँ।’
आत्मीयताको त कुरै भएन। नजिक आउने बित्तिकै अँगालो मारे।
‘फोमो’ भनेर मारिएको त्यो अँगालो असाध्यै न्यानो थियो।
त्यसपछि गुलजारले भर्खरै मराठी भाषामा लेखेका कविता संग्रह आनीतर्फ बढाए।
गुलजारले लेखेको पुस्तकमा आफू कविताका रुपमा प्रस्तुत भएको जानकारी पाउँदा आनीमा हर्षको सीमा रहेन। उनी सकभर धैर्य गरेर सामान्य बन्ने कोशिश गरिरहिन्।
त्यतिबेलै गुलजारले आनीसँग फोटो खिच्ने इच्छा देखाए। आनी तयार नहुने कुरै थिएन।
‘अहँ, यहाँ होइन,’ बैठक कोठाबाट अर्कोतिर इशारा गर्दै गुलजारले भनेछन्, ‘मैले लेख्ने कोठामा।’
आनी तयार भइन्।
सबै गुलजारको लेखन कक्षतिर लागे। जताततै किताबको चाङ थियो। त्यसैगरी चारैतिर बुद्धका मूर्ति पनि। कोठामा पुगेपछि गुलजारले आफूले लेख्दा बस्ने कुर्सीमा आनीलाई बस्न लगाए।
‘मलाई त्यो कुर्सीमा बस्न असाध्यै अप्ठ्यारो लागिरहेको थियो,’ उनले भनिन्, ‘सुरुमा त मानिनँ।’
तर, गुलजारले जिद्दी गरेपछि के लाग्थ्यो?
आनी कुर्सीमा बसिन्। गुलजार छेउमा उभिएर तस्बिर खिच्न लगाए। (हेर्नुस् मुख्य तस्बिर)
त्यो कुर्सीको ठीक सामुन्ने अर्को एउटा गज्जबको बुद्ध मूर्ति थियो। टाउको ठीक माथि उठाउने बित्तिकै देखिने। त्यो मूर्तिको निधारमा टलक्कै टल्किने एउटा हरियो टीका असाध्यै प्रभावशाली थियो।
‘मूर्तिको त्यो टीका देख्दैछौ?’ गुलजारले आनीलाई सोधेछन्, ‘हरेकपटक त्यो देख्दा म सेरेनिटी फिल (शान्ति महशुस) गर्छु। त्यसले मलाई सर्टेन इनर्जी (ऊर्जा) दिइरहेको हुन्छ।’
त्यो कोठाकै कुनामा अर्को एउटा बुद्ध मूर्तिको टाउकामा 'काउ ब्वाय' टोपी लगाइएको थियो।
‘यो मेरो नाति (छोरी मेघना गुलजारको छोरा)को काम हो’ भन्दै हाँस्न थाले।
गुलजार पेन्टर पनि रहेको आनीलाई थाहा थिएन। त्यो लेख्ने कोठामै गुलजारले आफूले तयार पारेका पेन्टिङहरू आनीलाई देखाए।
त्यहाँबाट फर्केपछि फेरि सबै बैठकमा पुगे।
त्यतिबेलै आनीलाई मनमा खेलिरहेको एउटा इच्छा राख्ने आँट भएछ।
‘मेरो एउटा फूलको आँखामा भन्ने नेपाली गीत छ,’ उनले भनिन्, ‘त्यसलाई हिन्दी भाषामा तपाईंकै कलमले अनुवाद गरिदेओस् भन्ने ठूलो इच्छा छ।’
त्यसपछि आनीले त्यो गीत गाएरै सुनाइन् र सकेसम्म अंग्रेजीमा त्यसको अर्थ पनि बताउने कोशिश गरिन्।
गुलजार एकछिनसम्म शान्त बसे। त्यसपछि विस्तारै मौनता तोड्दै भनेछन्– ‘इट विल बी अनर फर मी।’ (यो अनुवाद गर्न पाउनु मेरोनिम्ति सम्मानको कुरा हुनेछ)
त्यो ठूलो शब्द थियो।
‘आइ विल डेफिनेट्ली डु इट (म पक्कै गर्नेछु),’ गुलजारले फेरि बोलेछन्।
आनीलाई अब के चाहिन्थ्यो?
यति कुरा भइसकेपछि यो तीन महिनामा फेरि आनीले यो कुरा उप्काएकी छैनन्। बरु उनलाई एकपटक संगीतकार न्ह्यु बज्राचार्यलाई साथै लिएर गुलजार भेट्न मुम्बई जाने इच्छा छ।
‘न्ह्यु जीको फुर्सद मिलिरहेको छैन,’ आनी भन्छन्, ‘एकपटक उहाँलाई लगेर भेटाउन पाए गुलजार साहेबलाई सांगीतिक हिसाबले पनि अझ स्पष्ट पारिदिन सकिन्थ्यो भन्ने लागिरहेको छ।’
यसबीच आनी दुई महिनाअघि, नोभेम्बर २६ का दिन फेरि कन्सर्टका निम्ति मुम्बई पुगेकी थिइन्। मुम्बईमा आतंकवादी हमला भएको सम्झनामा आयोजित त्यस कन्सर्टमा अभिनेता अमिताभ बच्चनको पनि प्रस्तुति थियो।
‘त्यतिखेर गुलजार साहेब मुम्बईमा हुनुहुन्थेन,’ आनीले भनिन्, ‘उहाँ साहित्य महोत्सवमा भाग लिन अन्तै जानुभएको थियो।’
गुलजार नभए पनि उनलाई मनपर्ने चियालगायत विभिन्न उपहार लिएर गएकी आनीले घरैमा छाडिदिइन्।
नेपाल आइसकेपछि मोबाइलमा फेरि गुलजारको म्यासेज आयो– ‘सरी फोमो, आइ मिस्ड यु। आइ वाज ट्राभलिङ। व्हाट ग्रेट गिफ्ट यु लेफ्ट फर मी। अल लाइट एण्ड इनलाइटेनमेन्ट। रिमेम्बरिङ यु विथ एभ्री सिप अफ टी। लभ यु फोमो।’
(माफ पाऊँ फोमो। म अन्तै घुम्दै थिएँ। तिमीले छाडेका सुन्दर उपहारका निम्ति धन्यवाद। उज्यालोदेखि आलोकसम्म। तिमीले छाडेको चियाको प्रत्येक चुस्कीमा तिमीलाई सम्झिरहेको छु। मेरी प्रिय, फोमो)