झापाको दमकमा बिहिबार बिहान आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। ईलाका प्रहरी कार्यालय दमकका अनुसार स्थानीय हरि प्रसाद निरौलाको घरमा आगलागी भएको हो।
घरमा कोही नभएको अवस्थामा बिहान ६ बजेतिर अचानक आगोलागी हुँदा घरका सम्पूर्ण सरसमान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। आगलागीबाट उन्नत जातको एउटा गाई, खसी र एउटा बाख्रा जलेर मरेको छ।
निरौलाको घरमा रहेको अन्नपात, गरगहना,लत्ताकपडा,नगदसहितका सम्पूर्ण सामानहरू जलेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी स्यामल लिम्बूले बताए।
डिएसपी सुब्बाका अनुसार आगलागीबाट १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।
घरमा निरौला दम्पत्तिमात्र बस्दै आएका थिए। आगलागी पीडित निरौलाले श्रीमती घरमा नभएको र आफू दूध पुर्याउन घर बाहिर गएकाबेला खोले पकाउने चुल्होबाट आगो फैलिएको हुन सक्ने अनुमान गरे।
आगलागी भएको देख्ने बित्तिकै स्थानीयले दमकको वरुणयन्त्रलाई खबर गरेका थिए। तर एक घण्टा ढिलो गरेर दमकल घटनास्थल पुगेकोले ठूलो क्षति भएको स्थानीयले बताए। घटनास्थल आइपुग्न वरुणयन्त्रलाई करिब ५ मिनेटमात्र लाग्ने स्थानीय बताउँछन्। दमक नगरपालिकादेखि घटनास्थलको दूरी करिब ३ किलोमिटरमात्र छ।