झापाको मेचिनगरमा बिहीबार राति आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालका अनुसार स्थानीय ६ नम्बर वडाको साठ्ठी बिगाहा भन्ने ठाँउमा आगलागी हुँदा कम्तिमा १३ वटा फुस्को छाना भएका घर जलेका हुन्।
खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
करिब डेढ घन्टा पछि आगो पूर्ण नियन्त्रणमा आएको प्रहरीको भनाई छ। मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकाको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले राति करिब ८ बजेदेखि फैलिएको आगो नियन्त्रणमा लिएका हुन्।
साठ्ठी विगाह क्षेत्रमा १५० भन्दा माथि अस्थायी प्रकृतिका घर छन्। समयमै सुरक्षाकर्मी परिचालित भएकाले ठूलो धनजनको क्षति हुन नपाएको प्रहरी उपरीक्षक ढकालले सेतोपाटीलाई बताए।
आगलागीका क्रममा तीनवटा खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो। स्थानीयबासी विकास देवकोटाका अनुसार आगलागीको घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीका अनुसार अन्य क्षतिको विवरण आउन बाँकी छ।
स्थानीयका अनुसार आगलागी भएको घरबाट कुनै पनि सामाग्री बाहिर निकाल्न सकिएको थिएन। बस्तीमा बाक्लो घर भएकाले आगो तुरून्तै फैलिएको बताईएको छ।