सात वर्षीय भारतीय बालकलाई अपहरण गरी फिरौती रकम मागेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तविरूद्ध प्रहरीले मुद्दा चलाएको छ।
झापाको गौरीगञ्जबाट मङ्गलबार पक्राउ परेका गौरीगञ्ज–६ का ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगञ्ज ४ की २७ वर्षीया अञ्जु मुखियालाई आज म्याद थप गरी जिल्ला अदालत झापामा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए।
तीनै जना अपहरणकारीलाई आज नै जिल्ला प्रहरी कार्यालयले समेत सार्वजनिक गरेको छ। यादव गएको संघीय संसदको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार भएका थिए।
भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई गत मंसिर २० गते घरैबाट अपहरण गरी त्यहाँबाट गौरीगञ्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
अपहरणकारीले बालकको परिवारसँग भारु १५ लाख फिरौती माग्दै आएका थिए।
रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेको थियो।
भारतीय प्रहरीसहित नेपाल प्रहरीको टोलीले आलमलाई दमकको देउराली होटलबाट उद्धार गरी मंगलबार नै परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक सुब्बाले बताए।
प्रहरीले अभियुक्त तीनै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ।