भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमकमा मंगलबार दिउँसो बाबु–छोराको मृत्यु भएको छ।
प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा मोरङ, पथरी–शनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरी रहेका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को३३प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस स्टेण्ड चौंक सडकखण्डमा दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार दुबैै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
ठक्करबाट सख्त घाइते दुबैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।