जनअपेक्षाअनुरूप काम गर्न नसकेको गुनासो खेप्दै आएका काठमाडौं र ललितपुर महानगरपालिकाले केही समययता सडक निर्माण र सरसफाइलाई तीव्रता दिएका छन्।
काठमाडौं र ललितपुरका मुख्य सडकदेखि भित्री बाटोहरू चिटिक्क देखिन थालेका छन्। भित्री बाटोमा वर्षौंदेखि त्यत्तिकै रहँदै आएका खाल्डाखुल्डी पुरिएका छन्। सडकमा धुलो उड्न नदिन ब्रुमर प्रयोग बढेको छ। पानी हालेर सरसफाइ गर्ने काम पनि भइरहेका छन्।
कतिलाई यी काम सडक विभागबाट भइरहेको छ भन्ने पनि लागेको छ। खासगरी सडक विभागका ब्रुमर प्रयोग गरिएकाले यो भ्रम हुनसक्छ। तर, पछिल्ला दिनहरूमा काठमाडौं र ललितपुरमा भइरहेका सडक निर्माण र सरसफाइ स्थानीय सरकारकै सक्रियता हो। काठमाडौंले आफूसँग पर्याप्त ब्रुमर नभएर सडक विभागसँग पैंचो लिएको मात्र हो।
एक वर्षदेखि आलोचना सहँदै आएका यी स्थानीय सरकारहरू सडक विस्तार र विकासमा लागेकै हुन् त? सडक सफा राखेर धूलो नियन्त्रण गर्न कस्सिएकै हुन् त? के-के छन् महानगरका भावी योजना?
हामी यिनै प्रश्न लिएर दुवै महानगरपालिका पुग्यौं।
ललितपुर महानगरका अनुसार चालू आर्थिक वर्षको चार महिनामा झन्डै तीन किलोमिटर सडक कालोपत्रे गरिएका छन्। यी महानगरको दायित्वमा पर्ने आठ मिटरभन्दा साना हुन्। आर्थिक वर्ष सकिँदासम्म १६ किलोमिटर सक्ने लक्ष्य छ। गत वर्ष सात किलोमिटर निर्माण भएको महानगरले जनाएको छ।
महानगरको कार्ययोजनाअनुसार चार मिटरभन्दा साना सडक कालोपत्रे गरिने छैन। त्यहाँ कालोपत्रेको सट्टा ढलान गर्ने योजना छ। यसअनुरूप महनगरका २९ वटै वडा धमाधम काम भइरहेका छन्। सबै वडामा सडकका खाल्डाखुल्डी पुर्न मात्र करिब डेढ करोड छुट्याइएको छ।
सडक निर्माण, ढलान र ब्लक हाल्ने योजनालाई अर्को साता अन्तिम रूप दिने तयारी भइरहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए।
सरसफाइअन्तर्गत पाटन दरबार क्षेत्र सफा राख्न एउटा ब्रुमर नियमित प्रयोग भइरहेको छ। त्यहाँ हरेक बिहान ब्रुमरले सडक सफा गरिन्छ। अन्य ठाउँमा पनि नियमित सडक सफा राख्न थप दुई ठूला ब्रुमर ल्याउन टेन्डर आह्वान गरिएको छ। आगामी तीन महिनामा दुवै ब्रुमर महानगर आइपुग्ने प्रवक्ता महर्जनले जानकारी दिए।
‘नयाँ ब्रुमर हामीसँग अहिले भएकोभन्दा ठूलो र अत्याधुनिक प्रविधिको हुनेछ,’ उनले भने।
निर्माणको काम सडकमा मात्र सीमित छैन। इटी टोलदेखि महापालसम्म पाँच सय मिटर ढल निर्माण भइरहेकाले खाल्डाखुल्डी पुर्न र धूलो उड्न नदिन सरसफाइ भइरहेको महानगरले जनाएको छ।
काठमाडौं पनि के कम।
यहाँ पनि सडक विभागसँग तीनवटा ब्रुमर पैंचो लिएर सडक सफा गरिँदैछ। धूलो उड्न नदिन काठमाडौं महानगरले थप सातवटा ब्रुमर ल्याउँदै छ। यी सातमध्ये दुईवटा चिनियाँ सहयोगमा आउन लागेका हुन् भने बाँकी पाँचवटा महानगरले किन्न लागेका इटालियन हुन्।
पुराना ब्रुमरले साना धूलो मात्र उठाउँथ्यो। अब आउने मेसिनले सडकमा छरिएका गिट्टी, बालुवाजस्ता ठूला फोहोर पनि सजिलै उठाउने महानगरले जनाएको छ। एक घन्टामा ५ किलोमिटर सडकको धूलो उठाउने क्षमता छ। यसअनुसार प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने लक्ष्य छ।
ब्रुमरले सफा गरेपछि पानी खन्याएर थप धूलो उड्नबाट रोक्ने योजना पनि छ। यस निम्ति महानगरपालिकाले पाँचवटा जेट मेसिन अर्डर गरेको छ। चार करोड रूपैयाँ बराबरका जेट मेसिन आयात ठेक्का नेपाली कम्पनी म्यापले पाएको छ। यो मेसिन अर्को महिना आइपुग्ने छ।
महानगरमा गत वर्ष बन्न नसकेका सडक पनि यसपालि थपिएका छन्। चालू आर्थिक वर्षका लागि १ सय ३६ वटा योजना छन्। तीमध्ये ९१ सम्पन्न भइसके। ४५ वटा सम्पन्न हुन बाँकी छन्। आर्थिक वर्ष २०७४/७५ मा ५५ वटा स्वीकृत भएका थिए। गत आर्थिक वर्षमै सुरु भएर सकिएका योजना १३ वटा छन् भने गत वर्षका ३१ योजना यो वर्षलाई थपिएका छन्।
गत आर्थिक वर्ष काठमाडौं महानगरले सडक पूर्वाधार निर्माणमा दुई अर्ब बजेट छुट्याएको थियो। यो वर्ष त्यसलाई बढाएर तीन अर्ब बनाएको छ। त्यसैले यो वर्ष सडक पूर्वाधारका ८० प्रतिशत काम सम्पन्न भइसकेका छन्। सडकमै खर्च गर्न भनेर ७५ करोड बजेट वडाहरूलाई पठाएको महानगरले जनाएको छ। जुन वडाबाट माग हुन्छ, बजेट त्यही दिँदै आएका काठमाडौं महानगरका सह-प्रवक्ता नमराज ढकालले जानकारी दिए।
'यी सबै सडक महानगरअन्तर्गतका हुन्। मेलम्ची खानेपानी र सडक विभागका आयोजना होइनन्। बरू मेलम्ची र सडक विभागले आफ्नो दायित्वको सडक पूरा नगर्दा हाम्रो बद्नाम भइरहेको छ। यसले काठमाडौंको धूलो नियन्त्रण गर्न गाह्रो परेको छ,' उनले सेतापाटीसँग भने, ‘मुख्य सडकमै जाम, धूलोधुवाँ भएपछि हामीलाई पनि जोडेर आलोचना गरिन्छ। हामीले जति बजेट खर्च गरे पनि नहुने रहेछ।'
उनका अनुसार महानगरलाई पूर्वाधार विकासका काम गर्न बजेट अभाव छैन। राजस्व क्षेत्र बलियो हुँदै गएकाले थप सहज भएको छ। स्थानीय सरकारले ८ मिटरभन्दा साना सडक निर्माण र मर्मतका अधिकार पाएका छन्।
‘पहिले हामीले वडाहरूलाई १०/१२ लाख बजेट पठाउँथ्यौं। अहिले पूर्वाधार विकास भनेरै त्यसको तीन गुणा बजेट पठाइएको छ। वडाध्यक्षले प्रदेशका माननीयले भन्दा धेरै बजेट चलाउन पाउनुहुन्छ। त्यसैले जनप्रतिनिधि आएपछि पूर्वाधार विकासका काम धेरै भएका छन्,’ सह-प्रवक्ता ढकालले भने।
उनका अनुसार गत वर्ष काठमाडौं महानगरभित्र साढे २५ किलोमिटर कालोपत्रे सकिएको थियो। ढल चार किलोमिटर, ढुङ्गा छाप्ने काम साढे तीन किलोमिटर, ब्लक छाप्ने तीन किलोमिटर, आरसिसी ढलान करिब चार किलोमिटर, ग्राभेल करिब चार किलोमिटर, खाल्डाखुल्डी पुर्ने ८७ हजार वर्गकिलोमिटर सकिएका थिए।