शिवसताक्षी नगरपालिका –७, लालझोडामा गत आइतबार रातिको आगलागीले एउटा वंश नै सखाप पार्यो।
आगलागीबाट ३४ वर्षीय लक्षमण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र ५ महिने छोरा टीकारामको सुतिरहेकै अवस्थामा जलेर मृत्यु भयो।
सुरूमा यो घटना देख्ने र सुन्ने सबैले भवितव्य भएको टिकाटिप्पणी गरेका थिए। आगलागी भएकै दिन प्रहरीले मृतक सबैको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएर विशेष अनुसन्धान सुरू गर्यो।
यस्तो प्रकृतिको घटना नौलो होइन। १ वर्षअघि मोरङको हरकपुरमा पनि एउटा घरमा आगो लाग्दा ४ जनाको जलेर ज्यान गएको थियो।
झापामै १४ वर्षअघि चन्द्रडाँगीको एक घरमा आगो लाग्दा ५ जनाको जलेर ज्यान गयो। ५ वर्षअघि दुधेको एक घरमा आगो लाग्दा ३ जनाको जलेर ज्यान गयो। यी सबै घटना राति भएका हुन्।
यस्ता घटनामा प्रहरीले गरेका अनुसन्धान भवितव्य मै सिमित भए। तर, शिवसताक्षीको पछिल्लो घटना अभितव्य भएको अनुमान कसैले पनि गर्न सकेका छैनन्।
सेन्टर बेरा भएको घरको भुई तलादेखि सबै कोठामा एकै पटक आगो दन्किएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए।
‘वंश विनाश हुने गरी गरिएको आगलागी घटना नियोजित’- कांग्रेस प्रवक्ता शर्मा
कोठाको आगो घरको धुरीसम्म पुग्न कतिवेरै पनि लागेको थिएन। भान्सा कोठामा भएको खाना पकाउने ग्यासको सिलिण्डर पड्किएपछि मात्र अधिकांश स्थानीयले आगलागीको पत्तो पाएका थिए।
आगलागी भएको घरको ३ मिटर नजिकमा हिमा सापकोटाको पक्की घर छ। सापकोटाको परिवारले पनि आगोले घर पूरै ढाकेपछि मात्र थाहा पाए।
आगलागी भएको थाहा पाउनेवित्तिकै घटनास्थल आइपुगेका शेषराज कोइरालाले पनि आफू आइपुग्दा घर पूरै दनदनी बलिरहेको देखे।
आगो नियन्त्रण उनको काबु बाहिर थियो। मृतक लक्ष्मणले आफूले चलाउने ट्याक्टरका लागि डिजेल भण्डारण गरेका थिए। घरको भुई तलामा उनले चलाउने मोटरसाइकल राखेका थिए। लक्ष्मणले आइतबारमात्र मोटरसाइकलमा फुल ट्यांकी पेट्रोल भरेको उनका साथीले बताए।
आगलागीको घटनाका प्रत्यक्षदर्शीले धूँवाको मुस्लो देखेनन्। उनीहरूले आगोको ज्वालामात्र दनदनी बलेको देखे। प्रहरीले डिजेल बल्दा आगोको मुश्लो कालो हुनुपर्ने अनुमान गरेको छ। हुन पनि सँगै जोडिएको घरको भित्तामा कालो ध्वासोसमेत लागेको छैन। घर नजिकैको बाँसको झ्याङ्गमा आगोको लप्काले छोएको छैन।
आँगनमा पार्किङ गरिएको थ्रेसर सामान्य जलेको छ। घटनाका बाह्य प्रकृति हेर्दा प्रहरीले पनि शंका उपशंका गरेको छ।
प्रहरीले केही स्थानीयसँग सोधपुछ गर्न सुरू गरेको छ। ९ गते आइतबार बिहानदेखि घटना हुँदासम्मको विवरण संकलन सुरू गरेको छ।
मृतक लक्ष्मण दम्पत्तिले प्रयोग गर्ने मोबाइलको कल डिटेल्स पनि प्रहरीले संकलन गरेको छ। सिभिलमा प्रहरी खटिएका छन्। ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राई भन्छन्,‘हामीले कुनै कसुर बाँकी राखेका छैनौं।’
प्रहरी निरीक्षक राईका अनुसार प्रहरीलाई पव्लिकको सहयोग भयो भने यथार्थ बाहिर आउन धेरै कुर्नु पर्देन।
मृतक लक्ष्मणका बुवा रामकृष्ण खनालले आफ्नो छोरोको परिवारै सखाप हुने गरी भएको आगलागीको घटना नियोजित भएको बताउँदै न्यायका लागि सरकासँग माग गरिरहेका छन्।
आफ्नो एउटा वंशनै सखाप भएको भन्दै उनले यसलाई सरकारले सामान्य रूपमा नलिन आग्रह गरेका छन्।
‘आधा घण्टा मात्र भएको थियो छोरा लक्ष्मण र ४ वर्षीया नातिनी चन्द्रासँग मोबाइलमा कुराकानी भएको। एक्कासी फोन आयो छोरा लक्ष्मण खनालको घरमा आगलागी भो काइँला छोरासँग बाइकमा पुग्दा साइलो छोरोको घर पूरै जलेर नष्ट भएको थियो। अनि आफ्ना छोराका परिवार कोही पनि नबाँचेको सुनेपछि मैले केही गर्नै सकिनँ, हातखुट्टा काम्न थाले’, मृतकका ६५ वर्षीय बुवा रामकृष्ण खनालले भने।
उनको मनमा अनुत्तरित प्रश्नहरू उब्जिरहेका छन्। कसरी आगो लाग्यो? सँगै रहेका छिमेकीले किन थाहा पाएनन्? छिमेकीको घर किन केही भएन? मेरै छोराको घर मात्रै कसरी जल्यो? मृतककी आमा इन्दिराले छोराको घरमा सत्रू लागेको बताईन्। उनले भनिन्, ‘त्यत्रो आगलागी हुँदा कसैले पत्तो नपाउनु सहजै शंकास्पद छ। घटनाको छानबिनको हुनुपर्यो,’ उनले भनिन् ‘मैले न्यायका लागि सडक जानु नपरोस्।’
सुरक्षा देउ
आगलागीको घटना पछि लालझोडाबासीले प्रशासनसँग शुरक्षा माग गरेका छन्। गाँउमा बालबालिका तर्सिने, रूने कराउने गर्न थालेको स्थानीय ओएसीस ईंलिस बोर्डिङ्गकी शिक्षीका रीता दाहालले बताईन्।
घटना बिर्सन नसकिने गरी घटेकाले गाउँलेलाई गाह्रो भएको छ। ‘दिनभर मान्छेको आउने जाने भएकाले त्यति कठिन भएको महशुस हुन्न,’ उनले भनिन्, ‘रात परेपछि आगलागीकै झझल्को आईरहन्छ। बचाउ बचाउ भनेर मानिस चिच्याएको झझल्को आउँछ, निद्रा पटक्कै लाग्दैन।’
बाटोमा कोही मान्छे नयाँ हिड्यो भने पनि डर लाग्ने गरेको उनले बताइन्।