यो जंगलमा गैंडा, मृग र गोही त आम भइहाले।
अघिल्लोपटक मेघौलीमा जंगल सफारी गरिरहँदा ताज रिसोर्टकी नेचर गाइड सुश्री दत्ताले अचानक बँदेल देखिएको जानकारी तीव्र उत्तेजनासाथ दिएकी थिइन्।
‘उ... त्यहाँ जंगली बँदेल,’ मोटरबाटै देखाउँदा देखाउँदै आफूलाई धरि सम्हाल्न नसकेर भनिरहेकी थिइन्, ‘ओह माइ गड!’
उनले औंल्याएको ठाउँमा हत्तपत्त हेर्न खोज्दा पात हल्लिएको मात्र देखियो। बँदेल त ती पश्चिम बंगालबाट आएकी पोख्त अनि प्यारी नेचर गाइडलाई मात्र दर्शन दिएर अन्तर्ध्यान भइसकेको थियो।
बँदेल देख्न नपाए पनि उसले हल्लाएको पातमै चित्त बुझाएर त्यस दिन हामी फर्किएका थियौं।
झन्डै दुई वर्षपछि अघिल्लो साता फेरि चितवनमा जंगल सफारीको मौका मिल्यो। यसपटक हामी सौराहाबाट प्रवेश गर्दै थियौं।
एकाबिहानै राप्ती खोला तरेर जंगल सफारी सुरु गर्नै लाग्दा हाम्रो जीप उभिएकै ठाउँनिर अचानक जंगली बँदेल आइपुग्यो। रूपमा बँदेल भए पनि व्यवहारमा सुँगुरजस्तो बढो आरामले ढल्किँदै नजिक आइरहेको थियो। छेउछाउ उभिएका विदेशी उत्तेजित हुन थाले।
बँदेल त नजिक, झन् नजिक पो आउन थाल्यो!
हामी झस्किएको देखेपछि सौराहाकै रैथाने हाम्रा मोटरचालक राजु तामाङले ‘नतर्सिनुस्’ भनेर आश्वस्त पार्न खोजे।
‘यो हामी चालकहरूले नै हुर्काएको बँदेल हो,’ उनले भने, ‘जंगली नभई घरपालुवाजस्तो स्वभाव भएकाले केही गर्दैन।’
जंगली बँदेलको घरपालुवा स्वभाव? यो रोचक जानकारी थियो।
राजुले यस बँदेलको नामसमेत लिएर बोलाए, ‘सुँगुरे यता आइज।’
बँदेल राजुकै हात सुँघ्न आइपुग्यो।
‘एक वर्षपहिले सेनाले फेला पारेका तीनवटा बँदेलका बच्चा यहाँ ल्याएर छाडिदिएको थियो,’ राजुले भने, ‘तीमध्ये दुइटा मरे, यो बाँच्यो।’
राजुका अनुसार बँदेलको झुण्डलाई नै बाघले आक्रमण गरेपछि यी टुहुरा बच्चालाई गस्तीमा गएका सेनाले उद्दार गरेर ल्याइदिएका थिए।
यसरी आइपुगेको बच्चालाई सौराहाको जंगल सफारी सुरुवात विन्दुमा तैनाथ पर्यटक जीपका चालकले नै पालनपोषण गरिदिएका रहेछन्।
यहाँबाट हरेक बिहान सफारीका निम्ति विशेष किसिमले बनाइएका ३२ वटा जीप चल्छन्। त्यसमा जाने पर्यटक निम्ति दिवा भोजनका प्याकेट प्रत्येक जीपले बोकेका हुन्छन्।
‘सफारीबाट फर्कँदा बचेका खानेकुरा टन्नै हुन्छ,’ राजुले सुनाए, ‘त्यही खानेकुरा खाएर यो बँदेल हुर्किएको हो।’
सुँगुरे तमाम वन्यजन्तुजस्तै अरू बेला जंगलमै भौंतारिँदो रहेछ। सौराहाको राप्ती किनारमा जीपहरू आइपुगेका बेला चालकहरूसँग झुम्मिन र खानेकुरा खोज्न नियमित आइपुग्ने जानकारी राजुले दिए।
कतिसम्म भने चालकहरूले ‘बस्’ भन्दा टुक्रुक्क बसिदिने र ‘सुत्’ भन्दा सुतिदिनेसमेत गर्न थालेको रहेछ।
यसका हर्कत देखेर रमाउने विदेशी पर्यटकहरू फोटो खिच्न लालायित हुने गरेका छन्। केही दिनयता भने क्यामरा नजिकै लगेर फोटो खिच्न खोज्दा खानेकुरा ठानेर यसले विदेशीको हातै टोकिदिन खोजेको रहेछ।
अहिलेसम्म उत्ति साह्रो अप्रिय घटना भने भएको रहेनछ।
सुँगुरेको भर्खरै दाह्रा निस्कन थालेको चालकहरूले बताए। उनीहरूका अनुसार यो बँदेलबाहेक निकुञ्जका चेकपोष्टहरूमा सेनाले हरिण लगायतका वन्यजन्तु पनि पालेर राखेका छन्।
यसरी चितवनमा मानिससँग घुलमिल हुँदै गरेका वन्यजन्तु देखापर्न थालेका छन्।
‘हिजोआज यहाँका गैंडासमेत मानिससँग सामान्य व्यवहार गर्न थालिसकेका छन्,’ चालकहरू भनिरहेका थिए, ‘घुम्न आएका कतिपय पर्यटकले नजिकै आएर छुने र सेल्फी खिच्ने गरुन्जेलसम्म पनि प्रतिक्रिया जनाउन छाडेका छन्।’
आफ्नो प्राकृतिक गुण बदलिएर वन्यजन्तु मानिससँग घुलमिल हुन थाल्नु कत्तिको राम्रो हो?
‘वन्यजन्तुलाई सक्दो उनीहरूकै अवस्थामा रहन दिनुपर्छ,’ राजु भन्छन्, ‘यो बँदेल भने हामीले बचाएकै कारण घुलमिल भएको छ।’
हाम्रो यात्रा सौराहाबाट जंगलको बाटो हुँदै कसरा पुग्यो।
कसरास्थित सैनिक ब्यारेकबाट गस्तीमा निस्कने टोलीले डोर्याउने चार कुकुरमध्ये सबभन्दा खाइलाग्दो अघिअघि देखिन्थ्यो। त्यसलाई सेनाहरूले ‘मुरे’ भनेर बोलाउँदा अनौठो लाग्यो। नभन्दै बेल्जियन सेफर्ड जातको त्यस कुकुरको नामै रहेछ ‘एन्डी मुरे’।
यो नाम त कता सुनेजस्तो लाग्यो।
‘कुनै समय विश्वकै नम्बर एक टेनिस खेलाडी सर एन्डी मुरेकै नाम यसलाई दिइएको हो,’ ब्यारेकका कर्णेल समुद्र थापाले भने, ‘मुरेले निकुञ्जलाई प्रदान गरेको कुकुर भएकाले यसको नाम पनि मुरे।’
तीनपटक टेनिसको ‘ग्रयाण्ड स्ल्याम’ र दुईपटक ओलम्पिकको स्वर्ण पदक विजेता मुरेले पछिल्लो समय मानवीय सेवाका विभिन्न क्षेत्रमा रुचि राख्न थालेका रहेछन्। पहिलेदेखि कुकुरप्रेमी मुरे केही वर्षयता विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सद्भावना दूतका रूपमा काम गर्न थालेको जानकारी त्यहीँ उपस्थित कोषका नेपालस्थित सञ्चार प्रमुख आकाश श्रेष्ठले दिए।
श्रेष्ठका अनुसार विश्व वन्यजन्तु कोषमा आबद्ध भएपछि मुरेले विशेषगरी वन्यजन्तुको चोरीशिकारी नियन्त्रणमा आफ्नो के भूमिका हुनसक्छ भनेर चासो राखे।
त्यही क्रममा नेपालले वन्यजन्तु संरक्षणमा उल्लेख्य प्रगति हासिल गरेको र यसलाई निरन्तरता दिइरहन अहिले पनि धेरै चुनौती झेल्नु परिरहेको जानकारी पाएछन्। उनलाई विशेषगरी गैंडा र बाघको संख्यामा असाध्यै रुचि रहेछ।
यस्तो अवस्थामा नेपालको निकुञ्जले वन्यजन्तु सुरक्षामा अहिलेसम्म अपनाउन नसकेको नयाँ उपायमा आफूले योगदान गर्ने इच्छा मुरेले जाहेर गरेछन्। उनलाई सहयोगीहरूले नेपालमा वन्यजन्तु नियन्त्रणनिम्ति तालिमप्राप्त कुकुर परिचालन गर्न नसकिएको र त्यो उपलब्ध गराइदिए उपयोगी हुने सल्लाह दिए।
त्यसलगत्तै करिब तीन वर्षअघि मुरेले दुइटा (एक जोडी) महँगा नश्लको बेल्जियन सेफर्ड कुकुर पठाइदिएका रहेछन्। श्रेष्ठका अनुसार मुरेको सहयोगलगत्तै अन्तबाट अर्को जोडी ल्याब्रोडर तालिमप्राप्त कुकुर पनि निकुञ्जलाई प्राप्त भयो। यसरी चितवनका जंगलमा वन्यजन्तु जोगाउने कामका निम्ति पहिलोपटक कुकुरसमेत परिचालन हुन थाल्यो।
बेलायतस्थित विश्व वन्यजन्तु कोषको कार्यालयबाट पठाइएको कुकुरलाई रेखदेख गर्ने जिम्मेवारीमा खटाइएका सेनासमेत साथ लगाइयो। त्यसपछि उनीहरूलाई केही महिना भारतमा कोषले नै प्रबन्ध गरेर तालिमनिम्ति पठाएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार यीमध्ये दुइटा शिकार गर्नेहरूलाई पछ्याउन र दुइटा वन्यजन्तुका सामग्री सुँघ्न विशेष तालिमप्राप्त कुकुर हुन्।
‘वन्यजन्तुको कुनै पनि अवशेष फेला परेछ भने दुइटाले सुँघेर पत्तो लगाउँछन्,’ श्रेष्ठले थपे, ‘अर्को दुइटाले चाहिँ गन्धका आधारमा मानिस खोज्ने काम गर्छन्।’
यी कुकुरलाई चितवनमा सेनाको ‘पेट्रोल’देखि ‘चेक’का निम्ति समेत प्रयोग गर्दै आइरहेको कर्णेल थापाले जानकारी दिए।
‘यी कुकुर प्रयोगपछि चोरीशिकारी नियन्त्रणमा सजिलो भएको छ,’ थापाले भने, ‘यिनले वन्यजन्तु तस्करमा मनोवैज्ञानिक त्राससमेत थपिदिएका छन्।’
विश्व वन्यजन्तु कोषको वेबसाइटमा नेपालका वन्यजन्तुनिम्ति आफ्नो योगदानबारे खेलाडी मुरेको भनाइ पनि उल्लेख गरिएको छ।
‘मुरे (कुकुर) ले नेपालका महत्वपूर्ण वन्यजन्तु सुरक्षामा निकै सघाउ पुर्याइरहेको जानकारीले खुसी लागेको छ,’ मुरेले भनेका छन्, ‘म निकट भविष्यमै उसको कार्यक्षेत्रमै पुगेर भेट्न इच्छुक छु।’
विश्वप्रसिद्ध खेलाडी मुरेमार्फत् नेपाललाई योगदान दिइरहेको मुरेसँग भेटेपछि हामी कसरामै रहेको हात्तीसार पुग्यौं।
त्यतिबेला ढोइ (पोथी हात्ती) तमरकलीले भर्खरै बच्चा जन्माएको खबर वनको डढेलोजस्तै फैलिँदै थियो। हामी पुग्नु केही घन्टा मात्रअघि अर्थात् बिहान करिब साढे चार बजे त्यो बच्चा जन्मिएको जानकारी पायौं।
दस दिनअघि मंसिर २ गते हामी पुग्दा तमरकली उसको जन्मजात बानीअनुसार लगातार टाउको हल्लाइरहेकी थिइन्। भर्खरै ‘विश्वगज’ नाम दिइएको छावा आमाको दूध चुस्न संघर्ष गरिरहेको थियो। छावालाई हात्तीसारका कर्मचारीले सघाइरहेका थिए।
मलाई यो दृश्य रमाइलो लाग्यो। तत्काल तस्बिर ट्विट गर्न चाहेँ। लेखिसकेर बटन थिच्नु ठीकअघि हात्तीसारका माहुतेले भनेको एउटा वाक्य ट्वाङ्ग कानमा बज्यो।
‘यो ध्रुवे हात्तीको बच्चा हो।’
मलाई यो जानकारीले तरंगित बनायो। त्यसैले यो सूचनासमेत थपेर ट्विट गरेँ।
तमरकलीले छावा पाउनुभन्दा पनि ध्रुवे हात्तीको बच्चा जन्मिनुले ट्विटरमा अत्यधिक प्रतिक्रिया पाउन थाल्यो।
‘ध्रुवे रक्स!’
धेरैले यस्तो लेखे।
‘यो बच्चा ध्रुवेकै हो भन्ने के प्रमाण छ?’ जस्ता प्रश्न पनि ट्विटरमा उठे।
यसमा धेरैको जिज्ञासा जोडिएको देखेपछि दोश्रो दिन फेरि हात्तीसार पुगेर यो विषयबारे थप जानकारी लिन खोजेँ।
मेरो जिज्ञासाको उत्तर दिन तयार थिए माहुते बलिराम चौधरी।
चौधरीका अनुसार यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा परिपक्व उमेरका भालेको कमी छ। यसले यहाँका ढोइलाई प्रजनननिम्ति जंगली हात्तीको भर पर्नुपर्ने बाध्यता छ। निकुञ्जको स्वामित्वमा साठीभन्दा बढी हात्ती छन्। यीमध्ये थोरै भाले भए पनि या त असाध्यै बूढा भइसकेका या भर्खरैका बच्चा छन्।
यस्तो अवस्थामा निकुञ्जको पूर्वी क्षेत्रमा जंगली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवे हात्तीले नै ढोइलाई प्रजनन गराउँदै आएका रहेछन्। सौराहा र हात्ती प्रजनन केन्द्र खोरसोर पूर्वी भेगमा पर्छ। कसरा पश्चिमी भेगमा।
अब लागौं रोनाल्डो र ध्रुवेतर्फ।
जतिबेला फुटबल खेलाडी रोनाल्डोले सातवटा महत्वपूर्ण गोल गरेर विश्वभर चर्चा कमाइरहेका थिए, ठीक त्यतिबेलै यता जंगली हात्तीले सात जना मान्छे मारेको रहेछ। त्यही भएर चितवनको यो हात्तीको नाम रोनाल्डो राखियो। रोनाल्डोकै योगदानबाट निकुञ्जका ढोइले १२ वटाभन्दा बढी बच्चा जन्माइसकेका छन्।
गणेशकली, पूजाकली, चितवनकली, कर्णालीकलीजस्ता पूर्व क्षेत्रका थुप्रै ढोइले जन्माएका बच्चा रोनाल्डोकै हुन्।
यता ध्रुवेले भने पन्ध्र जनाको ज्यान लिइसकेको रहेछ। ठूलै उपद्रो मच्चाएपछि सरकारले यसलाई मार्नसमेत खोजेको रहेछ। तर, गोली हान्दा पनि ध्रुवे बाँचेछ।
‘ध्रुवे अहिले पनि कसराको यो हात्तीसारमा आएर हैरान पार्छ,’ माहुते चौधरी भन्छन्, ‘कहिलेकाहीँ त उसलाई मनपरेको ढोइको साङ्लोसमेत चुँडाएर जंगलतिर लगिदिन्छ।’
त्यति मात्र गरिदिए पनि धेरै आतंक मच्चिने थिएन।
‘ढोइसँग संसर्गको उत्तेजनामा सारा हात्तीसारै तहननहस पारिदिने गरेको छ,’ चौधरीले भने, ‘अहिले पनि भत्किएका घर सबै उभ्याउन सकिएको छैन।’
त्यसबाहेक हात्तीसारमा पालिएका हात्तीलाई खुवाउन थुपारिएका धान र भेलीका डल्ला सक्दो खाने र बोकेरसमेत लैजाने काम ध्रुवेले गर्दो रहेछ।
ध्रुवे हात्तीको बयान सुन्दै गर्दा एक हिसाबले कसैको नियन्त्रणमा नरहेको 'गुण्डो' चरित्र सामुन्ने आइरहेको थियो।
हुन पनि ध्रुवे आतंकको अर्को नाम बनिसकेको रहेछ।
मान्छे मार्ने, घरहरू भत्काइदिने, रासनकोठा तहसनहस पारिदिने, अरू हात्तीलाई घाइते बनाइदिने र छानी-छानी ढोइसँग संसर्ग गरेर फर्किने। विशेषगरी असोज अन्तिमदेखि वैशाखसम्म यी जंगली हात्ती रातका बेला ढोइ खोज्दै आउने गर्छन्।
केही समयअघि मात्र लोकतन्त्रकलीलाई सुखीभारमा गर्भाधान गराएको ध्रुवेले लगत्तै तीर्थमानकलीलाई बाँधेकै ठाउँबाट सिक्री चुँडाएर पर लगेको थियो। अलिदिनसम्मै तीर्थमानकलीसँग समय बिताएपछि बल्ल ऊ फर्किएको थियो। सुखीभार कसराभन्दा अझ पश्चिम अर्थात् टाइगरटप्स जाने बाटोमा पर्छ।
यसरी पूर्वी चितवनमा रोनाल्डो र पश्चिमी चितवनमा ध्रुवेको सरकारले पालेका ढोइसँग एकछत्र राज चलिरहेको छ।
यसरी संसर्ग भएपछि २२ देखि २४ महिनामा ढोइले बच्चा जन्माउँछे।
‘संसर्ग भएका सबै ढोइ गर्भिणी भने हुँदैनन्,’ २० वर्षदेखि निकुञ्जका हात्तीको सेवामा संलग्न बलिराम भन्छन्, ‘यो कसरामा पनि भएभरका ढोइसँग ध्रुवेले संसर्ग गरे पनि तमरकली मात्र भारी जिउकी भएकी हो।’
खोरसरस्थित हात्तीपालन केन्द्रमा जन्मेकी तमरकलीलाई कसरा नजिकैको विशाल तमर तालका आधारमा नाम दिइएको हो।
तमरकली, देवीकली, कोमलकली र लक्ष्मीकली गरेर कसरामा चारवटा ढोइ छन्। यिनले नौ र दस वर्षपहिले जन्माएका दुइटा र भर्खरै जन्मेको विश्वगजसमेत गरेर यहाँ कुल सात वटा हात्ती ( चार पोथी र तीन भाले) पुगेका रहेछन्।
चितवनमा जंगली हात्तीको बयान सुनिसकेपछि ट्विटरमा साथीहरूले उल्लेख गरेको दुई शब्द सम्झेर फेरि पनि खित्का छुट्यो– ‘ध्रुवे रक्स’
यी त भए नाम भएका जनावर।
अन्तिममा सबभन्दा धेरै धन्यवाद एउटा बेनाम भालुलाई दिन चाहन्छु।
दुई दिन लगातार चितवनको जंगल घुम्दै गर्दा अचानक बाटोमा यसको दर्शन पाइएको थियो। कालो भालु अचानक अगाडि टप्किँदा मेरा विदेशी सञ्चारकर्मी साथीहरूको उत्साह चरम चुलीमा पुगेको थियो।
सबै तस्बिरः गिरीश गिरी/सेतोपाटी