झापाको शिवसताक्षी नगरपालिका ७ स्थित लालझोडाको एक घरमा आइतबार राति आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएको छ।
राति साढे १० बजे लागेको आगोले ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको घटनास्थलमै मृत्यु भएको हो।
मृतक सबैको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ।
एक तले जस्तापाताले छाएको काठको घरमा के कारणले आगलागी भयो भन्ने यकिन भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भिमप्रसाद ढकालले अनुमानका भरमा यसै भन्न नसकिने बताए।
‘गुहार, गुहार भनेको आवाज आयो,’ स्थानीय भिमकला खतिवडाले भनिन्, ‘लक्ष्मण भाईले गुहार मागेको रहेछ, कुदेर जाँदा आगो हाम्रो नियन्त्रण बाहिर थियो।’
‘सिमेन्टको तला, सेन्टरबेरा लगाएको घर, झ्यालमा रड लगाएको थियो उहाँहरू उम्कनै सक्नुभएन,’ उनीहरूलाई आगोले पोलेको आँखैले देखेको बताउने खतिवडाले सेतोपाटीसँग भनिन् , ‘कति चिच्याउनु भयो, के गर्नु हामीले सकेनौं।’
आगोले पड्किएको सिलिण्डरको आवाजले गाउँमा सुतिसकेका मानिससमेत उठेर घटनास्थल आएका थिए। जतिबेला गाउँले घटनास्थल आइपुगे त्यस अगावै खनाल परिवार आगोमा परिसकेका थिए।
‘बाहिर सिँढीमा लगाइएको घोप्टे दैलोमा ट्याक्टरका लागि डिजेल राखिएको रहेछ। आगोले डिजेल पक्रिसकेपछि दैलो खोलेर उहाँहरू बाहिर आउन नसक्नु भएको हो,’ स्थानीय शिव मैनालीले भने, ‘एकै पटक आगोले घर छोपिसकेको थियो।’
खनालका बुबा आमा र अन्य दाजुभाइ धरमपुरमा बस्छन् भने भिमकलाको माइती नजिकै हो।
आगो लागेपछि भान्सामा रहेको सिलिण्डर पड्केर छिमेकी गीता ढुंगेल पनि घाइते भएकी छिन्। उनलाई विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको छ।
शिवसताक्षी नगरमा दमकल छैन। दमक, विर्तामोडबाट दमकल आइपुग्न समय लाग्ने भएकाले शिवसताक्षी नगरका स्थानीयका घरमा लागेको आगो नियन्त्रण गरेर धनमाल र जिउ जोगाउन नगरवासीलाई मुश्किल छ।
लालझोडाको आगो नियन्त्रणका लागि दमकबाट साढे ११ बजे मात्र दमकल आइपुगेको थियो।
साविकको शिवगञ्ज र सतासीधाममा यस्तै प्रकृतिका अन्य ३ वटा घटना घटिसकेका छन्। २०६१ सालमा चन्द्रडाँगीमा संग्राम खड्काको घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको जलेर ज्यान गएको थियो।
यस्तै दूधेमा मनिका खरेल (भट्टराई) को घरमा २०६९ सालमा आगलागी हुँदा एकै परिवारका ३ जनाको जलेर ज्यान गएको थियो।