माइक्रो बस। खलासी बालक। केही किताबहरू।
राजधानीका सडकमा दिनहुँ देखिने यस्तो दृश्य माइतीघरको पर्खालमा कुँदिएको छ। साथमा नारा छ– ‘चासो कसलाई ... सवारी साधनमा बालश्रम प्रयोग नगरौं।’
बाल वातावरण केन्द्रले तयार पारेको यो भित्तेकलाले सार्वजनिक सवारीमा बालश्रम रोक्ने सन्देश दिन्छ।
उता पिम्बहाल, पाटनको पर्खालमा एउटी केटी हात थापिरहेकी छे। सँगै केटाको हातमा मुटुको टुक्रा छ। माथिबाट चराले टप्प टिपेर त्यो मुटु केटीतर्फ लैजान खोजेको देखिन्छ।
जावलाखेलमा अर्को भित्तेकला छ, जसले महिनावारी बेला छोइछाइ नगर्न सन्देश दिँदै भन्छ– ‘नलजाऔं, महिनावारी त हो नि!’
काठमाडौं र ललितपुरका विभिन्न सडकछेउका भित्तामा पछिल्लो समय यस्ता चित्र प्रशस्त देखिन थालेका छन्। झट्ट हेर्दा भित्ता सिँगार्न खोजेजस्ता देखिने यी चित्र नियाल्ने हो भने, हरेकले कथा भनिरहेको छ। कथाले हामीलाई कल्पनाको दुनियाँमा पुर्याउँछ। हिँड्दा हिँड्दै केही बेर चित्रभित्र पसेर घोत्लिन बाध्य बनाउँछ।
कुनै बेला यिनै भित्ता राजनीतिक नाराहरूले भरिएका हुन्थे। एउटा पार्टीको आमसभा छ भने त्यही पार्टीका नाराले सहरका भित्ता रंगिन्थे। पछि अर्को पार्टीको सभा हुन्थ्यो। उसले पुराना नारा मेटेर नयाँ कोर्थ्यो।
गालीगलौचपूर्ण यस्ता नाराले भित्ता फोहोर। सहर फोहोर।
राजनीतिक नारासँगै टाँसिन्थे, फिल्मका पोस्टर। कति ठाउँमा अर्धनग्न चित्रसहितका। पुरानो हुँदै जाँदा आधा च्यातिएका।
सहरको सरसफाइ सडकमा मात्र हुँदैन। धूलोधुवाँ मात्र प्रदूषण होइन। वरिपरिको दृश्य आँखालाई बिझ्छ भने त्यो पनि प्रदूषण हो। सडक छेउका भित्ता पनि यसमा पर्छन्। भित्तामा जथाभाबी अक्षर लेखिएका छन्, पोस्टर टाँसिएका छन् भने सडक शोभायमान हुन्न। सहर शोभायमान हुन्न।
थोरै भए पनि सडक वरिपरिको यो दृश्यमा परिवर्तनको सुरुआत हुँदैछ। अचेल सडक किनारका थुप्रै भित्तामा हेरूँ हेरूँ लाग्ने कलात्मक चित्रहरू छन्। रोकिएर सेल्फी खिचुँ जस्तो।
सेल्फी त खिच्नुहोला, तर कहिले सोच्नुभएको छ, यी चित्र कसले बनाए?
सडकछेउका भित्तामा बनाइने यस्तो कलाकारितालाई ‘मुरल्स’ वा ‘ग्राफिटी’ भनिन्छ। काठमाडौंमा ग्राफिटी गर्नेहरू को हुन् भन्ने जान्नुअघि भित्तेचित्र कुँद्न कहिलेबाट थालियो भन्ने इतिहास बुझौं।
खासमा भित्तामा चित्र कुँद्ने चलन मानव विकासक्रमको ढुंगेयुगबाटै सुरु भएको हो। त्यो बेला हाम्रा पुर्खा गुफामा रेखाचित्र कुँद्थे। तिनै रेखाचित्रको उत्खननबाट सयौं, हजारौं वर्षअघिको मानव सभ्यता इतिहास पर्गेल्न मानवशास्त्रीहरू अनुसन्धान गरिरहेकै छन्।
प्राचीन रोम र ग्रिक साम्राज्यका क्रममा पनि आफ्नो नाम र विरोधका कविता घरका भित्ताहरूमा लेख्न थालिएको पाइन्छ। यही अभ्यासलाई ‘ग्राफिटी’ भन्न थालिएको हो।
ग्राफिटीको अर्थ कसैको अनुमति नलिई निजी भवन वा भित्तामा विभिन्न अक्षर वा आकृति कुँद्नु हो। यसलाई विभिन्न देशले गैरकानुनी पनि मान्छ। यसरी सार्वजनिक ठाउँमा चित्र बनाउनेलाई कारबाही गरिन्छ। त्यस्ता देशमा ग्राफिटी गर्ने कलाकारहरू राति लुकिछिपी भित्तामा चित्र बनाएर भाग्ने गर्छन्।
कति ठाउँमा भने नगरपालिका वा सरकारसँग अनुमति लिएर निश्चित ठाउँका भित्तामा चित्र बनाउने चलन पनि छ।
नेपालको सन्दर्भमा हेर्दा भित्तामा चित्र बनाउने चलन मिथिला सभ्यतासँग जोडिन्छ। मिथिला समुदायमा वर्षौंदेखि यस्तो चलन छ। थारू समुदायमा पनि छ।
प्राचीन समयमा तीखो हतियारले भित्ता खोपेर चित्र बनाउने गरिन्थ्यो। आधुनिक ग्राफिटी भने इस्प्रे र मार्कर पेनले बनाइन्छ। पहिलो आधुनिक ग्राफिटी सन् १९६० मा अमेरिकाको फिलाडेल्फियामा बनाइएको अनुमान छ।
काठमाडौंमा सन् २०११ देखि ग्राफिटी बनाउने क्रम सुरु भएको कलाकार आदित्य अर्याल बताउँछन्।
उनका अनुसार यसको श्रेय अमेरिकी कलाकार ब्रुनो लेभीलाई जान्छ। उनले काठमाडौंमा ‘द बिगफुट’ प्रोजेक्ट गरेपछि ग्राफिटी विस्तार भएको हो।
‘काठमाडौंका भित्ता राजनीतिक नारा र फिल्मका पोस्टरले भरिएका बेला अमेरिकी कलाकार ब्रुनोले सुन्दर कलाकृतिका ग्राफिटी बनाउन थालेका हुन्,’ उनले भने।
ब्रुनोकै मार्गदर्शन पहिल्याउँदै यहाँ धेरै कलाकार ग्राफिटीमा लागेका छन्। यस्ता चित्रले चेतना फैलाउन होस् वा शैक्षिक ज्ञान दिन महत्वपूर्ण भूमिका खेलेका छन्। धेरैजसो चित्रमा सामाजिक घटना झल्काइन्छ। भावना, विचार र आक्रोश पोखिन्छ।
ग्राफिटीका यही विशेषता मन परेर आदित्य यो क्षेत्रमा लागेका थिए। उनी काठमाडौं विश्वविद्यालयबाट कला विधामा स्नातक हुन्। पढाइपछि केही समय के गर्ने भनेर अल्मलिएका थिए। शिक्षकले उनलाई ग्राफिटीमा चासो बढाइदिए। त्यहीँबाट सुरु उनको यात्रा अहिले क्यानभास र विभिन्न वस्तुमा चित्र बनाउनेसम्म पुगेको छ।
हाल ‘कालो १०१’ नामक समूहमा आबद्ध रहेर चित्र बनाउने उनी आफूलाई ‘अर्बान आर्टिस्ट’ अर्थात् सहरी कलाकार भन्न रुचाउँछन्।
नेपालको ग्राफिटी विकासक्रममा पहिलो पुस्ताका यी कलाकार यहाँको ग्राफिटीलाई वास्तविक भने मान्दैनन्।
‘हामी यहाँ जसलाई ग्राफिटी भनेर भन्छौं, खासमा त्यो सडक कला मात्र हो,’ उनले भने, ‘आन्दोलन बेला आफ्नो विचार अभिव्यक्ति निम्ति सडकका भित्तामा लुकिछिपी बनाइने चित्र ग्राफिटी हो। यसले प्रतिबन्धित विचारलाई कलात्मक रूपमा अभिव्यक्त गर्छ। हामीकहाँ भने सहरको सौन्दर्य बढाउने हिसाबले बनेका छन्, जसलाई खासमा ग्राफिटी भन्न मिल्दैन।’
कलाकारले भित्तामा आफ्नो नामको ‘ट्याग’ कोरे पनि ग्राफिटी भने कसैले नबनाएको उनको भनाइ छ।
यति मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा ग्राफिटी भनेको निजी घरको भित्तामा बनाइन्छ। नेपालमा भने कलाकारलाई निम्ता गरी–गरी आफ्नो घरको भित्तामा चित्र बनाउन पनि लगाइन्छ। यस्तोलाई सही ग्राफिटी मान्ने कि नमान्ने भन्ने प्रश्न आदित्यले उठाए।
‘आर्ट ल्याब’ मा आबद्ध अरिन श्रेष्ठ अर्का ग्राफिटी कलाकार हुन्।
केही वर्षयता यसले युवापुस्ता आकर्षित गरेको उनले देखेका छन्। ‘यी सडक कलाले युवालाई रोजगारको अवसर दिएको छ,’ उनले भने, ‘ग्राफिटीबाटै नेपालमा केही गर्न सकिन्छ भनेर सन्देश दिएको छ।’
उनका अनुसार यस्ता चित्रले सडकमा हिँड्ने अनुभव बदल्छ। ‘बाटोमा हिँड्दा वरिपरि कलात्मक चित्र देखियो भने हिँडाइ नै रमाइलो हुन्छ,’ उनले भने।
यही विषय लिएर नेपालमा तीन वर्षअघि ‘प्रसाद’ प्रोजेक्ट सुरु भएको थियो। आर्ट ल्याबले सुरु गरेको यो प्रोजेक्टले नेपालका परिचित अनुहारलाई सडक चित्रमार्फत् देखाएको थियो। पहिलो चित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको थियो।
‘यसको मूल उद्देश्य युवालाई नेपालभित्रै रहेका सम्भावनामा विश्वास गर्न प्रेरणा दिनु हो,’ अरिनले भने।
‘कालो १०१’ समूहले पनि यस्तै कला एवं कलाकारलाई प्रोत्साहन गर्दै आएको छ। त्यहीँ कार्यरत आदित्य भित्तामा ‘साधु एक्स’ लेख्छन्। उनी विदेशी कलाकारको प्रभावका कारण उपनाम लेख्न थालेको बताउँछन्। विदेशमा ग्राफिटीलाई गैरकानुनी मानिएकाले कलाकारले आफ्नो नाम प्रयोग गर्दैनन्।
अन्तर्राष्ट्रिय अभ्यासभन्दा परिमार्जित रूपले भित्रिए पनि काठमाडौंमा ग्राफिटीको लोकप्रियता बढ्दो छ। खासगरी क्याफे, रेस्टुरेन्ट लगायत आफ्नै भवनमा चित्र बनाइदिन आग्रह गर्ने क्रम बढेको छ। विभिन्न स्वदेशी तथा विदेशी प्रोजेक्टले पनि यसमा लगानी गर्न थालेका छन्। आदित्य आफैं ‘माइक्रो ग्यालरी’ प्रोजेक्टमा काम गर्ने तयारीमा छन्।
‘म विचार गरेर मात्र भित्तामा चित्र बनाउँछु,’ उनले भने, ‘कतै पुराना भित्ता छन् र पुराना पोस्टर टाँसिएका छन् भने त्यसैमाथि चित्र बनाउँछु।’
‘सरकारी कार्यालय, दूतावास लगायतमा चित्र कुद्न थाल्यो भने त आफैं फसिन्छ। यस्ता कुरामा कलाकार सजग हुनुपर्छ,’ उनले भने।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी