नेपालमा कुनै औपचारिक कार्यक्रम कति समयको हुन सक्ला? एक घन्टा, दुई घन्टा वा सो भन्दामाथि।
झापामा शुक्रबार नेपाली सेनाले आयोजना गरेको एउटा औपचारिक कार्यक्रम १५ मिनेटमा सकियो। श्री नम्बर २१ बाहिनी अड्डाको १५ औं स्थापना दिवसको कार्यक्रम सुरू भएको १५ मिनेटमै सकिँदा स्थानीय सहभागी मात्र होइन, निमन्त्रणा गरिएका भिआइपी अतिथि पनि अचम्ममा परे।
आसन ग्रहणका लागि माइकबाट नाम आउला र जाउँला भन्ने योजनामा रहेका कतिपय अतिथि ख्रिस्रिक्क परे। करिब पाँच सय सहभागी कार्यक्रममा कसैलाई पनि आसन ग्रहण गराइएन। भाषणका लागि समय पनि दिइएन।
शिवसताक्षी नगरका मेयर चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल प्रहरीका झापा प्रमुख भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका झापा प्रमुख रमेशकुुमार थम्सु, जिल्ला वन कार्यलय झापाका प्रमुख विष्णुलाल घिमिरे लगायतलाई आयोजक श्री २१ नम्बर बाहिनी अड्डाले निमन्त्रणा गरेको थियो।
यति मात्र होइन। सो अड्डाले पशुपतिप्रसाद गण इलामका गणपति असिमद्वीप गुरुङ, नयाँ श्री नाथ गण चारआलीका गणपति प्रमुख सेनानी मुकाहाङ याक्थुम्वा, जिल्लाका केही सामाजिक संघ–संस्थालाई पनि निमन्त्रणा गरेको थियो। कतिपय स्थानीय सेनाको कार्यक्रम हेर्न भनेर पाँच किलोमिटर साइकल, अटो लगायतका यातायातका साधनमा समेत गएका थिए।
भिआइपीलाई बाहिनीले स्टेज शैलीमा पाल बनाएको थियो। सो पालमा जिल्ला तहका प्रमुख र स्थानीय तहका प्रमुखलाई राखेको थियो। अन्य अतितिलाई स्टेजको अगाडि दायाँ–बाँया अर्को पाल टाँगेको थियो। सो पालमा स्थानीय अगुवालाई राखेको थियो।
बीचमा प्लास्टिकका कुर्सीमा सेतो टि–सर्टमा सजिएका राष्ट्रिय सेवादलका ४० विद्यार्थी र २१ नम्बर बाहिनीका सेना भद्र स्वभावमा बसेका थिए। बाहिनीपतिको धन्यवाद ज्ञापन मन्तव्य, वाक एण्ड रनका बिजेतालाई पुरस्कार वितरण र कम्प्युटर प्रदान गर्दा ताली बजाउने पछिल्लो भागमा सेनाकै ठूलो समूह थियो।
हेर्दा भव्य भए पनि कार्यक्रममा सहभागी सबैको सभ्यता अन्य कार्यक्रममा भन्दा विल्कुल फरक थियो। स्टेजमा बसेका कसैको पनि मोबाइलको घण्टी समेत बजेन। स्थानियले भने, ‘अनुशासन नगुमाउने हो भने त सबै कार्यक्रममा यतिकै शोभा हुन्थ्यो होला।’
कार्यक्रम संयोजक श्री २१ बाहिनी अडडका सहायक बाहिनीपति शक्तिजंग बस्नेतको निर्देशनमा कार्यक्रमका सञ्चालकले कार्यक्रमको तालिका नै बाचन गरेर सुनाएपछि केही अतिथिले कानेखुसी समेत गरे।
कार्यक्रमको सेड्युुलमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी सञ्जय थापाले कार्यक्रममा सहभागीलाई धन्यवाद दिने, १० किलोमिटर वाक एण्ड रनका बिजेतालाई पुरस्कार दिने र चुलाचुली १ इलामको जनता मावि लाई ९ थान कम्प्युटर प्रदान गर्ने तालिका थियो।
बाहिनीपति थापाले आफ्नो धन्यवाद ज्ञापन मन्तव्य एक मिनेटमै सके। त्यसपछि झापाको केर्खादेखि सताक्षीधामसम्मको १० किलोमिटर दुरी ३६ मिनेट ५२ सेकेन्डमा पूरा गरी प्रथम हुने जितेन्द्र दनुवार, ३८ मिनेट २८ सेकेन्डमा पूरा गरी द्वितीय हुने रमेश मण्डल र ३८ मिनेट ५० सेकेण्डमा पुरा गरी तृतीय हुने सुरेश मगरलाई बाहिनीपति थापाले पुरस्कार गरे। तीनै जना बिजेता नेपाली सेनामा कार्यरत छन्।
महिलातर्फ त्यति नै दुरी ५१ मिनेट १ सेकेण्डमा पूरा गर्ने राष्ट्रिय सेवादलकी ऋतिका सुवेदी र ५५ मिनेट २३ सेकेण्डमा सो दुरी पूरा गर्ने नेपाली सेनाकी अनिता बस्नेतलाई पनि बाहिनीपति थापाले पुरस्कार प्रदान गरे।
कार्यक्रम सकिन करिब चार मिनेट बाँकी छँदै कार्यक्रमका सञ्चालकले स्थानीय जनता माविलाई कम्प्युटर ग्रहण गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बोलाए। कार्यक्रममा न त सभापतिको आसन ग्रहण न त स्वागत मन्तव्य नै। कार्यक्रम सकिएको सहभागीलाई पत्तै भएन।
यति छोटो र मीठो कार्यक्रम जिवनमा पहिलो पटक अनुभव गरेको सुनाए कार्यक्रममा सहभागी तीर्थ नेपालले। उनले भने, ‘कार्यक्रम पट्यारलाग्दो हुनै पाएन, नत कुनै भिआइपीलाई आसन ग्रहण न त भाषण नै।’
स्थानीय पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाले पहिलोपटक झापाको सताक्षीधाममा आफ्नो पन्ध्रौं स्थापना दिवसको कार्यक्रम राखेको थियो। जनतासँग सम्बन्ध जोड्न पनि सेनाले आफ्नो अड्डाबाहिर कार्यक्रम ल्याएको बताइएको छ।