काठमाडौं महानगरले पैदलयात्रुको अत्यधिक चाप भएका ठाउँमा सार्न मिल्ने आकाशे पुल राख्ने भएको छ।
यसको सुरुआत चाबहिल र माइतीघरबाट गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
चाबहिल र माइतीघरबाहेक टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा यस्ता पुल राख्ने योजना महानगरको छ। अन्त पनि आवश्यकता अध्ययन भइरहेको छ।
'हामीले दस ठाउँमा सार्न मिल्ने तर सस्तो लागतका पुल बनाउन लागेका हौं,' प्रवक्ता कार्कीले सेताेपाटीसँग भने, 'डिजाइन तयार छ। यसका लागि यो साता नै बोलपत्र आह्वान गर्ने तयारी छ।'
चाबहिल र माइतीघरमा पैदलयात्रुको चाप धेरै हुनाले यही वर्ष बनाइसक्ने योजना महानगरको छ। सबै ठाउँको बोलपत्र भने एकैसाथ खोलिने उनले बताए।
कस्ता हुन् त यी सार्न मिल्ने पुल? हामीले जान्न चाह्यौं।
कार्कीले हामीलाई यसको उदाहरण दिए- पुरानो बसपार्कमा भए जस्तै।
‘यी आकाशे पुल पुरानो बसपार्कमा भएका जस्तै नै हुन्। फलामका हुन्छन्। यिनको नट-बोल्ट खोलेर सजिलै अर्को ठाउँमा सार्न मिल्छ,' उनले जानकारी दिँदै भने, 'यस्तो पुल कम खर्चमा बन्छ र फाइदै फाइदा छ। हामीले १० वर्ष अगाडि बनाएको पुरानो बसपार्क पुल अझै चलिरहेको छ।’
उनले थपे, ‘पक्की पुल बनाएको भए खर्चले आकाश छुन्थ्यो। फलाम भएकोले करिब ३० लाख जति मात्र लाग्यो। त्यही पुलले फाइदा पुगेकोले गर्दा अरु त्यस्तै बनाउन लागेका हौं।’
महानगरले आर्थिक वर्ष २०७५/७६ को बजेटमा १२ करोड रुपैयाँ नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ। जसमध्ये पहिलो चरणमा चाबहिल र माइतीघरमा पुल बनाउन साढे दुई करोड लाग्ने उनले जानकारी दिए।
चाबहिल, माइतीघरमा राखिने पुलको मोडल अन्य आठ ठाउँमा राखिनेभन्दा फरक हुनेछ। त्यसैले यहाँ अरूतिरको भन्दा खर्च बढी हुने कार्की बताउँछन्।
'यी दुई ठाउँमा बन्ने आकाशे पुल गोलो आकारको हुनेछ। ३/४ ठाउँबाट आउन र जान मिल्ने। अरू ठाउँमा भने दुई तर्फी मात्र बनाउँछौं,’ उनले भने।
उनका अनुसार यी आकाशे पुलको तल्लो भाग मात्र कंक्रिटको हुनेछ। कंक्रिटको जगमा अड्याएर माथिल्लो भागमा फलामको पुल हुनेछ। पुलका आवश्यक फलामका फ्रेमहरूलाई नट-बोल्ट कसेर पुल बनाइनेछ। यहीकारण पुललाई चाहेअनुसार खोलखाल पारेर अन्त सार्न सहज हुन्छ।
‘कहिलेकाहीँ विभिन्न कारणले बनिसकेको ठूलो पुल यसै भत्काउन पर्ने अवस्था आउन सक्छ। बाटो विस्तार हुँदैछ। सहर बन्दैछ। यस्तोमा कुनै ठाउँको पुलको अवस्थिति नमिलेर भत्काउन पर्ने हुन सक्छ,’ कार्कीले भने।
कलंकीको ठूलो आकाशे पुल यस्तै भएर दुई वर्षअघि भत्काइएको थियो। करिब १३ करोड लगानीमा बनेको कंक्रिटको ठूलो पुल चक्रपथ विस्तार क्रममा भत्काउनुपर्यो। कलंकी चोक सुधारका लागि वाधक बनेको भन्दै पुल भत्काउन मुद्दा नै झेल्नुपरेको थियो। निर्माण कम्पनीले यहाँ टहरा बनाइ भाडामा लाउने भन्दै महानगरसँगकै सहकार्यमा बनाएको पुलको आयु ५ वर्ष मात्र रह्यो। अब बाँकी चक्रपथ विस्तार गर्न गोंगबुको आकाशे पुल पनि भत्काइने सम्भावना छँदैछ।
'यस्तै समस्या नहोस् भनेर हो, खोलखाल पारेर अन्त लैजान मिल्ने पुल बनाउन खोजेको,' प्रवक्ता कार्कीले भने।
उनका अनुसार यस्ता पुल सार्न पनि धेरै खर्च हुँदैन। पछि टेन्डरमा पनि एक ठाउँबाट अर्को ठाउँसम्म लैजाने लागत मात्र भए पुग्छ। यसले गर्दा दोहोरो खर्च कम हुने उनको भनाइ छ।
'यसको अर्को राम्रो पक्ष सुन्दर देखिनु हो। कंक्रिटको पुल ठूलो र भद्दा हुन सक्छ। धेरै ठाउँ ओगट्छ,' उनले भने, 'बसपार्कमा भएको पुल हेर्नु त, कति छरितो छ।'
उनका अनुसार अब बन्ने फलामे पुल भाडा र विज्ञापनका लागि उपलब्ध हुने छैन।
पुरानो बसपार्कमा पहिलोपटक परीक्षणका रूपमा सार्न मिल्ने पुल बनाइएको थियो। यसको सञ्चालन राम्रो भएकाले नै अरु पनि बनाउने निर्णय गरिएको महानगरको भनाइ छ।
महानगरभित्र हाल न्युरोड, वीर अस्पताल, सुन्धारा, जमल, रत्नपार्क–भोटाहिटी, रत्नपार्क–बागबजार, भद्रकाली पुरानो बसपार्क र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन्। भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएका पुल मर्मत गर्न नपर्ने अवस्थामा रहेको कार्की बताउँछन्।अन्य ठाउँका पुल भने तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन्।