अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट बिहीबार मध्याह्न बुटवल आउँदै थियौं। महेन्द्र राजमार्गको कपिलवस्तुस्थित गोरुसिंगे पुग्न तीन किलोमिटर बाँकी थियो। अचानक सडकमा एउटा वीभत्स दृश्य देखियो।
त्यहाँ साइकल हाँकेर यात्रा गरिरहेका एक यात्री सडकमा लडेका थिए। साइकल नराम्ररी क्षति भएको थियो।
बीच सडकमै उभिएर एक जोगीबाबा बाटोमा आउने हरेक गाडीलाई रोक्न अनुरोध गरिरहेका थिए। तर, मोटर अनि बसहरू एकैछिन नजिकै रोकिन्थे र हिँडिहाल्थे।
एक जना मोटरसाइकल चालकले मोटरसाइकल छेउ लगाए। मोबाइल निकालेर कतै कुरा गर्दै थिए। पछि थाहा पाएअनुसार उनले प्रहरीलाई खबर गरेका रहेछन्।
हाम्रो मोटर यस दृश्यको छेवैबाट अगाडि बढ्यो। लडेका साइकल चालकको टाउकोबाट असाध्यै धेरै रगत बगेको देखियो। रगत जमेका हिसाबले दुर्घटना केही पहिले भएको र तत्काल कसैले उद्धार नगरेको देखिन्थ्यो।
त्यत्तिकैमा घाइतेको शरीर चलमलाएको देखियो।
हामीले मोटर छेउ लगायौं।
त्यतिञ्जेल पनि दर्जनजति सवारीहरू यो दृश्यको बेवास्ता गर्दै दुवैतर्फ अगाडि बढिसकेका थिए। तीमध्ये झन्डै तीनवटा त बस नै थिए।
घाइते अझै जीवित रहेको अवस्थामा उनको तत्काल उद्धार हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं। तर, सहयात्री एक मित्रले यस्ता घाइतेलाई ओसार्दा बाटैमा कसैगरी मृत्यु भइदियो भने त्यसले ठूलो समस्यामा पार्ने र अनेक प्रहरी झमेला बेहोर्नुपर्ने सुनाए।
उता मानिस जीवितै छन्। यता एकातिर धमाधम आएका सवारीसाधन वास्तै नगरी गुज्रिरहेका थिए। अनि उद्धार गर्न चाहनेलाई पनि नचाहिँदो झमेलामा अल्झनुपर्ला भन्ने भइरहेको थियो।
‘जे जस्तो भए पनि बेहोरौंला। तर यी घाइतेलाई यसरी बाटैमा मर्न दिनु हुँदैन’ भनेर हामी निस्क्यौं।
घाइते नजिक पुगेपछि प्रत्यक्षदर्शी जोगीबाबाले एउटा मोटरसाइकलले यी साइकल चालकलाई हिर्काएको सुनाए। ती चालक गोरुसिंगेतिरै अत्यन्त वेगमा भागेको पनि जानकारी दिए। जोगीबाबा र मोटरसाइकल रोकेर मोबाइलमा सम्पर्क गर्ने व्यक्तिबाहेक अन्य कसैले दुर्घटनाप्रति खासै सरोकार देखाइरहेको देखिएन।
कसैगरी घाइतेको बाटैमा मृत्यु भइदिए कुनै समस्या नआइलागोस् भनेर त्यस घटनाका प्रत्यक्षदर्शी बाबासँग मोबाइलमै छोटो अन्तवार्ता लियौं र घाइते भएतिर दौडियौं।
हामीले घाइतेलाई उठायौं। मोटरमा राख्यौं र तत्कालै गोरुसिंगे पुग्यौं। गोरुसिंगे पुग्नेबित्तिकै बाटैमा रहेको ट्राफिक प्रहरी कार्यालय पसेर वस्तुस्थिति बताउँदै हामीसँगै गइदिन प्रहरीलाई अनुरोध गर्यौं।
प्रहरी दलबहादुर बस्याल हामीसँगै मोटरमा चढे। बस्यालले यस किसिमका साइकल चालकहरूलाई राजमार्गमा मोटरले हिर्काएर भाग्ने प्रवृत्ति असाध्यै धेरै रहेको जानकारी दिए।
गोरुसिंगेमै बुद्ध पोलिक्लिनिक रहेछ। त्यहाँ हतारहतार घाइतेलाई भित्र लग्यौं।
चिकित्सकले तत्काल उपचार सुरु गरे।
घाइते भेलाही गाउँका महावीर चौधरी रहेको पत्ता लाग्यो। पछिल्लो समयसम्मको रिपोर्टमा उनी अब खतरा बाहिर छन्।
यस्ता घटनामा एकातिर तत्काल उद्धारनिम्ति जुट्न राजमार्गमा ओहोरदोहोर गर्नेहरूलाई प्रेरित गर्नुपर्ने र अर्कोतिर उद्धार गर्न चाहनेलाई प्रहरीले कुनै पनि किसिमको झमेलामा नपर्ने अवस्थाको प्रत्याभूति गर्नुपर्ने जरुरी देखिन्छ।