काठमाडौंको दम्बचोक र ललितपुरको पिलाछेँमा केही समानता छन्।
दुवैले काठमाडौं उपत्यकाको पुरानो जनजीवन झल्काउँछन्। यी दुवै नेवार संस्कृतिले भरिएका बस्ती हुन्। र, दुवै बस्तीमा भुइँचालोले पुर्याएको क्षति लगभग उस्तै छ।
यी तीन समानताबीच दम्बचोक र पिलाछेँमा एउटा ठूलो असमानता पनि छ।
भुइँचालोको तीन वर्षपछि पिलाछेँ मौलिक शैलीमा पुनर्निर्माण हुँदैछ। स्थानीय अग्रसरतामै घरहरू बन्दैछन्। छिट्टै 'होमस्टे' सञ्चालन गर्ने योजना छ।
दम्बचोकमा भने पुनर्निर्माण सुरू भएकै छैन। घरहरू मौलिक शैलीमा बनाउनु त परै जाओस्, मासेर 'अपार्टमेन्ट' बनाउने योजना अघि सारिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दम्बचोकसहित ललितपुरको खोकना लगायत पुराना बस्तीमा यस्तो योजना ल्याएको हो। यसले काठमाडौं सभ्यता झल्काउने पुराना घर मासिन्छन् भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।
अब प्रश्न उठ्छ, भुइँचालोमा उस्तै क्षति भएको एउटा टोल पुरानै शैलीमा फर्कन सक्छ भने अर्को टोल किन सक्दैन? पुनर्निर्माण भनेको पुराना घर मासेर अपार्टमेन्ट बनाउने हो कि बस्तीलाई पुरानै शैलीमा फर्काउने हो?
यही प्रश्न हामीले प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई सोध्यौं।
‘भुइँचालो गएको चार वर्ष बित्न लाग्दा पनि काठमाडौंका कतिपय भित्री बस्ती पुनर्निर्माण हुन सकेको छैन। सानो क्षेत्रमा अग्ला घर छन्। धेरै परिवार एकै ठाउँ बस्छन्। पुरानो भत्काएर नयाँ बनाउन समस्या छ। यसैलाई बचाउन हामीले यो योजना ल्याएका हौं,’ ज्ञवालीले भने।
उनका अनुसार दम्बचोकमा हाउस पुलिङ गर्न उपभोक्ता समिति, काठमाडौं महानगर र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ।
काठमाडौं महानगरपालिका र प्राधिकरणबीच गत भदौ १८ गते भएको छलफलले यस्तो निर्णय गरेको थियो। बैठकले दम्बचोकसम्म पुग्ने पूर्वाधारको काम प्राधिकरणलाई जिम्मा दिएको छ। नक्सा निर्माण र मापदण्ड महानगरले तय गर्ने र निर्माण उपभोक्ताले गर्ने निर्णय गरेको थियो।
बस्तीका ५४ घर हाउस पुलिङमा लैजान लागेको प्राधिकरणले जनाएको छ। तीमध्ये १९ घरपरिवारले योजनामा आपत्ति जनाउँदै वडा कार्यालयमा निवदेन दिएका छन्। निवेदन दिने अधिकांशले आफूहरूलाई प्रलोभनमा पारेर बस्तीको मौलिकता मास्न खोजेको आरोप लगाएका छन्। उनीहरूले अन्य स्थानीयलाई पनि हाउस पुलिङमा नजान सुझाएका छन्।
यसले बस्तीको पुनर्निर्माणै अलमलमा परेको छ। बरू मौलिक शैलीमा बनाउन सहयोग गरेको भए अहिलेसम्म पूरा भइसक्ने स्थानीयको भनाइ छ।
यसरी दम्बचोकमा हाउस पुलिङ विवादित भइरहँदा पिलाछेँका ८२ घर पुरानै शैलीमा पुनर्निर्माण भइरहेका छन्। बस्ती पुनर्निर्माणमा सहयोगी बनेको माया फाउन्डेसनका अध्यक्ष रमेश महर्जनको यसमा मुख्य हात छ।
‘हामीले तीन वर्षमै सक्ने भनेका थियौं। स-साना क्षेत्रफलमा भएका घर मिलाउनै अप्ठ्यारो पर्यो,’ अध्यक्ष महर्जनले भने, ‘स्थानीयलाई नमिलाई अघि जाने कुरा भएन। उनीहरूलाई सम्झाउँदै, बुझाउँदै, सहमतिमा ल्याउँदै घर निर्माण गर्न अलि समय लागेको छ।’
बस्तीमा ८२ मध्ये ३२ घर बनिसकेका छन्। दस वटा निर्माण क्रममा छन् भने ४० वटा भत्काउन बाँकी छ। घर निर्माण छिटो सक्न स्थानीय आफैं जुटेका छन्। उनीहरू बस्तीलाई मौलिक ढाँचामा उभ्याउन एकअर्काको घर ढलानदेखि विभिन्न काममा खटिन्छन्।
भुइँचालो गएकै वर्ष माघ २ गते पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी गोविन्द पोखरेलले बस्ती पुनर्निर्माण परियोजना शिलान्यास गरेका थिए। त्यतिबेला उनले ‘नमूना परियोजना’ को संज्ञा दिए पनि प्राधिकरणबाट सहयोग नभएको अध्यक्ष महर्जन बताउँछन्।
२०७२ को भुइँचालोले यहाँका १ सय १० घरमध्ये ८२ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त घर झन्डै १० महिना काठको टेकोमा अडिएको थियो। निम्न आय भएका बहुसंख्यक टोलबासी घर कसरी उभ्याउने भनी अलमलिएका थिए।
‘यहाँका निम्नवर्गीय स्थानीय घर कसरी बनाउने भनेर अलमलिएका थिए। सरकारको पनि बस्ती निर्माणमा कुनै चासो थिएन,’ स्थानीय मदनराज महर्जनले भने, ‘अलमलमै भएका बेला यहाँका समाजसेवी रमेश महर्जनको सक्रियतामा बस्ती पुनर्निर्माण अभियान थालनी भएको हो।’
स्थानीयले घर निर्माणमा लाग्ने ३ लाख रुपैयाँ सरकारी अनुदान पाए भने २५ प्रतिशत रकम फाउन्डेसनले बेहोर्यो। यसरी सुरु भएको बस्ती पुनर्निर्माणमा विभिन्न संघसंस्था र व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन्।
‘२०६५ सालमा आमा बित्नुभएपछि उहाँकै नाममा माया फाउन्डेसन खोलेँ,’ अध्यक्ष महर्जनले भने, ‘तन्नेरीहरूलाई विभिन्न तालिम दिएर योग्य बनाउने र रोजगार दिलाउने काम संस्थाबाट गर्दै आएको थिएँ। यत्तिकैमा भुइँचालो गयो। स्थानीयलाई अलमलमा देखेँ। त्यही भएर आफ्नो पुर्ख्यौली टोल उभ्याउनतिर लागेको हुँ।‘
सरकारको लगानीविना बनिरहेको यो बस्ती पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकका निम्ति छुटाउनै नहुने स्थान बन्न सक्नेछ। यहाँ अझै पनि ज्यापू समुदायको मौलिकता झल्काउने संस्कृति जीवित छ। यसलाई संरक्षण गर्दै स्थानीयको आयआर्जन बढाउन होमस्टेको अवधारणा ल्याइएको छ।
‘ललितपुरको यो भित्री बस्तीमा अझै पनि नेवारी सिप, शैली र मौलिकता बाँचेको छ। पाटन दरबार क्षेत्रसँग जोडिएकाले यहाँको मौलिकता हेर्न थुप्रै पर्यटक आउन सक्छन्। होमस्टे राम्ररी चल्न सक्छ। दुइटा घर होमस्टेका लागि भाडामा समेत गइसकेको छ,' अध्यक्ष महर्जनले भने।
उनका अनुसार यी ८२ घर तयार हुन ४६ करोड र पर्यटकीय कार्यक्रम सञ्चालन गर्न अर्को १० करोड रुपैयाँ छुट्याइएको छ। यसबाट स्थानीय संस्कृति र रैथाने खानपिन प्रवर्द्धन गर्ने योजना छ।
यही अवधारणामा दम्बचोक पनि पुनर्निर्माण गर्न सकिन्छ। असन र इन्द्रचोकजस्तो मध्य काठमाडौंको मूल बजार नजिकको यो बस्तीमा मौलिक नेवार शैली र परम्परा ब्युँताउन सके पर्यटक आकर्षित गर्न सक्छ।
प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीले भने पिलाछेँ पुनर्निर्माणमै आफू अनभिज्ञ रहेको बताए।
‘मैले सञ्चारमाध्यमबाट सुनेको हुँ। त्यसबाहेक अन्य जानकारी छैन,’ उनले भने, ‘मौलिक रूपमा बनिरहेको बस्ती भए हामी सहयोग गर्न तयार छौं। त्यसका लागि प्राधिकरणमा प्रस्ताव त आउनु पर्यो नि।’
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी