सिन्धुपाल्चोक जिल्ला अदालतमा चालु आर्थिक वर्षको तीन महिनामा ५२ वटा सम्वन्ध विच्छेदका उजुरी दर्ता भएको छ।
त्यसमध्ये पनि नयाँ मुलुकी ऐनले पुरूषलाई पनि सम्वन्ध विच्छेदको लागि अदालत जान पाउने अधिकार दिएपछि ११ मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ फछ्र्यौटसमेत भइसकेका छन्।
श्रीमान् अथवा श्रीमती वैदेशिक रोजगारीमा गएपछि उत्पन्न परिस्थितिकै कारण सम्वन्ध विच्छेदका उजुरी पर्ने गरेको हो। ‘बैदेशिक रोजगारी नै सम्वन्ध विच्छेदको मुल कारण देखिन्छ’, सिन्धुवाल्चोक जिल्ला न्यायाधीश टिकाराम आचार्यले भने, ‘बैदेशिक रोजगारीकै कारण बहुविवाह बढेको छ र यसकै कारण सम्वन्ध विच्छेदका उजुरी पनि बढेको हामीले पाएका छौं।’
यही कारणले पारिवारिक मनमुटाव बढ्ने गरेको र त्यो सम्वन्ध विच्छेदसम्म पुगेको उनले बताए।
सिन्धुपाल्चोकमा बैदेशिक रोजगारीका लागि जानेको संख्या अधिक छ। परिवारबाट श्रीमान् अधवा श्रीमती विदेश गएपछि नेपालमै रहेनेले दोस्रो विवाह गर्ने वा अवैध सम्बन्ध राखेकै कारण विदेशबाट फर्कीएपछि यस्ता मुद्दा दर्ता हुने गरेको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले बताए।
त्यस्तै विदेश जानेले पनि परीवारको ख्याल नगर्ने, उतै अर्को सम्बन्ध बनाउने गरेको पनि देखिएको पैडेलले बताए। विदेशमा दुःखले कमाएको रकम घरमा बस्नेले मनलाग्दी खर्च गरीदिएका कारण पनि यस्ता घटना बढेको अदालनको ठम्याई छ।
मुलुकी ऐनले सम्बन्ध विच्छेदमा श्रीमानबाट श्रीमतीले अनिवार्य अंश पाउने व्यवस्था गरेको छ। त्यसकारण सम्वन्ध विच्छेदको उजुरी सँगै अंश मुद्दा पनि जोडीने गरेको छ। जसकारण मुद्दा फछ्र्यौट हुन लामो समय लाग्ने गरेको छ। श्रीमतीले लिखीत रुपमा स्वीकारेको अवस्थामा भने छिटो फछ्र्यौट हुने अदालतको अनुभव छ।