अमेरिकाका केही महिलाले यौन उत्पीडनविरूद्ध आवाज उठाउँदै गत वर्ष 'ह्यासट्याग मिटू' (#मिटू) अभियान सञ्चालन गरे। यसमा हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम यौन उत्पीडनको आरोपमा मुछिए। महिलामाथिको यौनहिंसालाई लिएर ठूलो जवाफदेहिता सिर्जना भयो।
यही अभियान अहिले भारतमा चर्चित छ। बलिउड, सञ्चार क्षेत्र, विज्ञापन एजेन्सीदेखि राजनीतिक क्षेत्रका दर्जनौं व्यक्ति मुछिएका छन्। विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। आरोपित कलाकार तथा पत्रकारहरूले आफ्नो कामबाट बाहिरिनुपरेको छ।
नेपालमा पनि #मिटू अभियान अघि बढाउँदै दुई जना महिलाले सार्वजनिक पद धारण गरेका व्यक्तिविरूद्ध यौन उत्पीडनको आरोप लगाएका छन्।
काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पूर्वपत्रकार उज्जला महर्जनले काठमाडौं महानगरका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाएका हुन्।
प्रजापतिले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव लेखेकी छन्। पन्ध्र वर्षअघिको उक्त घटना सम्झँदै प्रजापतिले सेतोपाटीसँग भनिन्, 'उनले (स्थापित) घुम्न जाने र 'क्वालिटी टाइम' बिताउने प्रस्ताव राखे। मैले अस्वीकार गरेकै कारण जागिरबाट निकालिएँ।'
त्यतिबेला रश्मीला करारमा महानगरको शाखा अधिकृत नियुक्त भएकी थिइन्। आफूलाई अर्को कुनै विभागको प्रमुख बनाइदिने लोभ देखाउँदै स्थापितले घुम्न जाने प्रस्ताव राख्ने गरेको प्रजापतिले बताइन्।
'निरन्तर ६ महिनासम्म उनले मलाई हरेक शुक्रबार 'शनिबार घुम्न जाउँ' भन्ने प्रस्ताव राख्थे। मैले कहिल्यै मानिनँ,' उनले भनिन्।
उनी त्यतिबेला नगरपालिकाको कामबाट छुट्टि मिलेको दिन (शनिबार) एउटा एफएम रेडियोमा कार्यक्रम चलाउँथिन्। एक शनिबार एफएमका रिसेप्सनिस्टले फोन आएको भन्दै प्रजापतिलाई बोलाइन्।
'त्यो फोन मेयर स्थापितको थियो,' स्थापितसँगको टेलिफोन कुराकानी उद्धृत गर्दै प्रजापतिले भनिन्, 'नगरकोट आउनू, तपाईंको प्रमोसनबारे कुरा गर्नुछ। मैले गाडी पठाएको छु।'
'मैले झ्यालबाट बाहिर हेरेँ। त्यहाँ स्थापितको गाडी थियो। मैले 'आउन सक्दिनँ' भन्दै फोन राखेँ। आउँदिन भन्दा पनि स्थापितको गाडी धेरै बेरसम्म एफएमअगाडि बस्यो। साँझ अबेरसम्म म बाहिर निस्कन सकिनँ। अफिसमै बसेँ। त्यो गाडी त्यहाँबाट गएपछि बल्ल घर गएँ,' उनले भनिन्।
उनी भोलिपल्ट मेयरको कार्यकक्ष पुगिन्। भनिन्, 'मेयरसाब, तपाईंले मलाई गलत सम्झिनुभो जस्तो छ। म जागिर जोगाउन हाकिमसँग रिसोर्ट जाने मान्छे हैन। आफूलाई बेचेर कुनै प्रमोसन मलाई चाहिन्न। अबदेखि त्यसरी नबोलाउनू।'
स्थापितले भने उनको 'प्रमोसन गर्दिन' चाहेको र 'क्वालिटी टाइम' बिताउन चाहेको उत्तर दिए। करार कर्मचारीलाई यसरी बढुवा गर्ने प्रस्ताव नै आफूलाई अनौठो लागेको प्रजापतिको भनाइ छ।
स्थापितले त्यसअघि पनि अप्ठ्यारो हुने गरी हात समाउन र छुन खोज्ने गरेको उनले बताइन्।
उनी उक्त घटनाको चार वर्षसम्म हनुमानढोकास्थित पुरातत्व तथा पर्यटकीय विभागमा काम गर्न गइन्। त्यो महानगरपालिकाअन्तर्गत नै पर्थ्यो। यो चार वर्ष मेयर स्थापित चुपचाप बसे।
निर्वाचित मेयरका रूपमा उनको कार्यकाल सकियो। पूर्वराजा ज्ञानेन्द्रले नगरप्रमुखमा फेरि स्थापितलाई नै नियुक्त गरे। आफ्नो नियुक्तिको पहिलो निर्णयमै उनले रश्मीला प्रजापतिको जागिर खोसे।
'पहिलो निर्णयमै मलाई हटाए,' प्रजापतिले भनिन्, 'मलाई थमाइएको पत्रमा फलानो दिनको निर्णयबाट हटाइएको भन्ने उल्लेख छ। किन हटाइएको जानकारी छैन। रेडियोमा काम गर्थेँ, त्यसैले नगरपालिकाको जागिर गए पनि म खाली हुन्थिनँ। चुपचाप नगरपालिकाबाट विदा भएँ।'
पत्रिकामा भने भ्रष्टाचार गरेकाले निकालिएको भनेर समाचार आएको प्रजापतिले बताइन्।
'भ्रष्टाचार गरेको भए मलाई दिएको पत्रमा लेख्नुपर्ने। अरू कारबाही गर्नुपर्ने। धेरैले मलाई अदालत जान सुझाए तर जागिरबाट निकाल्नेले जे पनि गर्न सक्छ भनेर चुपचाप बस्ने निर्णय गरेँ,' उनले भनिन्, 'केही समयपछि थाहा भयो, उनले चार वर्षअघिको प्रस्ताव नमानेकाले रिसिइबी साँध्न मलाई निकालेका रहेछन्।'
अहिले प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री रहेका स्थापितले प्रजापतिको आरोप खण्डन गरेका छन्। उनले प्रजापतिविरूद्ध कानुनी कारबाही गर्ने तयारीमा लागेको पनि बताए।
'उहाँ हनुमानढोकास्थित पुरातत्व तथा पर्यटकीय विभागमा काम गर्नुहुन्थ्यो। त्यहाँ ड्राइभरलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। नगरपालिकाका १३ सय कर्मचारीले उहाँको विरोध गरेपछि निकालिएको हो,' उनले सेतोपाटीसँग भने।
नगरकोट जाने प्रस्ताव किन गर्नुभएको भन्ने प्रश्नमा उनले भने, 'त्यो सबै झूटो आरोप हो। मेरो सार्वजनिक बेइज्जत गर्ने काम भएको छ। अहिले म मेरो लिगल टिमसँग त्यहीबारे छलफल गर्न जाँदैछु। प्रहरीसँग पनि कुरा भैरहेको छ। म मुद्दामा जान्छु।'
रश्मीला 'सानोतिनो शाखा अधिकृत' भएकाले आफ्नो भेटघाटै नहुने उनले बताए। एफएममा गाडी पठाएको आरोप पनि झूटो रहेको उनको दाबी छ।
'त्यो एफएममा म जम्मा तीनचोटि गएको छु। एकपटक अन्तर्वार्ता दिन, अर्कोपटक एफएमका लागि घर किन्न। मेरो छोरा पनि त्यहीँ काम गर्ने भएकाले तेस्रोचोटि उसलाई लिन गएको छु,' स्थापितले भने।
स्थापितविरूद्ध यौन उत्पीडनको आरोप लगाउने प्रजापति मात्र छैनन्। पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि 'आफूलाई असजिलो हुने गरी साथी बन्ने प्रस्ताव राखेको' सामाजिक सञ्जालमा लेखेकी छन्।
उज्ज्वलाका अनुसार उनले अंग्रेजी दैनिक 'रिपब्लिका' मा काम गर्दा स्थापितसँग अन्तर्वार्ता लिएकी थिइन्। अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखे।
'मलाई त्यतिबेलै धेरै असजिलो लाग्यो। त्यही पनि प्रतिवाद गरिनँ। किनभने, धेरैले उनी राम्रा मान्छे हुन् भन्थे। मलाई भने पहिलोपटक, त्यो पनि प्रोफेसनल कामका लागि भेटेको मान्छेले साथी बन्नुपर्छ, हामी भेटिराख्नुपर्छ है भन्दा अप्ठ्यारो लागेको थियो,' उनले सेतोपाटीसँग भनिन्, 'जब साँझ पर्थ्यो, स्थापितले मलाई फोन गरिरहन थाले। एक-दुईपटक त उठाएँ, तर पछि बेवास्ता गरेँ। उनको फोन उठाउन छाडेँ।'
स्थापितले भने उज्ज्वलालाई आफूले चिन्दै नचिनेको र अन्तर्वार्ता पनि नदिएको बताएका छन्।
'नागरिक, रिपब्लिका खुलेपछि म कुनै पोष्टमा थिइनँ, यसबीच मेरो अन्तर्वार्ता कतै आएको मलाई थाहा छैन। म उहाँलाई चिन्दिनँ,' उनले भने।
उनले यस्तो दाबी गरे पनि उज्ज्वलाले स्थापितलाई भेटेर कुराकानी गरी समाचार लेखेको प्रमाण सेतोपाटीले भेटेको छ। सन् २०१२ अप्रिल १३ मा प्रकाशित उक्त समाचार उज्ज्वलाले स्थापितलाई भेटेरै लेखेको तलको अंशबाट पुष्टि हुन्छ:
'सडकको अघिल्लो लहरमा घर हुने धेरै जना विस्थापित हुनेछन्, पछाडि बस्नेहरू जग्गाको भाउ दोब्बर भएर लाभान्वित हुनेछन्,' कागजमा चित्र कोरेर देखाउँदै स्थापितले भने, 'यसले रातारात कोही अरबपति हुनेछन् भने कोही भिखारी बन्नेछन्।'