विनोद सापकोटा
लामखुट्टेको डसाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि झापामा अभियान थालिएको छ।
डेंगु रोग भदौ, असोज र कात्तिक महिनामा बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा अभियान शुरू भएको हो।
झापाका शिवसताक्षी, दमक, भद्रपुर मेचीनगरलगायत स्थानीय तहका सवै वडामा लामखुट्टे बस्ने र त्यसको लार्भा नस्ट गर्ने अभियान शुरु भएको शिवसताक्षी नगरका स्वास्थ्य शाखा संयोजक हरि विमलीले जानकारी दिए। अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन सिटौला, नगरका स्वास्थ्य शाखाका संयोजकद्वय विमली र रोसन अधिकारी, स्वास्थ्य केन्द्रका कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयमसेविका सहभागी छन्।
एडिस जातको पोथी लामखुट्टेले पानी जमेका स्थानमा फूल पार्नेगर्छ। जमेको पानीको पहिचान गर्दै डेंगुको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख विमलिले जानकारी दिए।
टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीहरूमा डेंगुको लार्भा भेटिने गरेको जिल्ला जनस्वास्थ्य कार्यलय झापाका भेक्टर कन्ट्रोल अधिकृत चौलागाईले जानकारी दिए ।
शाखाले नगरका वडा नम्बर १, ८, ९, १० र ११ नम्बर वडाका मुख्य चोक वजारमा माईकिङ्ग गरि लामखुट्टे बस्ने सम्भावित स्थानको सरसफाई गर्न स्थानीयलाई अनुरोध गरेको छ।
अभियान चोक बजारमा पुगेपछि स्थानीय बजारवासीले लाम्खुट्टे बस्ने सम्भावित क्षेत्रको सरसफाई गरेका थिए।
शिवसताक्षी नगरका धरमपुर, डुडामारी, झिलझिले, दुधे, माईधार, बजारका स्थानीयलाई डेंगु लामखुट्टेको टोकाईबाट सर्ने संक्रमण सरूवा रोग भएकोले यसबाट बच्न सबैलाई आग्रह गरिएको शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ ।