‘गाडीमा एक घन्टामै मधेस पुगिन्छ।’
‘एक घन्टामै?’
‘अझ त्यो पनि लाग्दैन।’
उबेलाको पुरानो इन्जिनले तानेर बाइरोडको बाटो हुँदै निकै मुश्किलले काठमाडौं आएका हामीजस्ता यात्रीले जीवनकालमा यस्ता संवाद पनि सुन्ने छौं भनेर कसले पत्याएको थियो?
अब यो संवाद सत्यमा परिणत हुँदैछ।
त्यसैले त हुटहुटी थियो, एकपटक 'राष्ट्रिय गौरव'को यो बाटो अनुभव गर्ने।
चार वर्षभित्र बनाइसक्नेगरी सरकारले २०७४ साल वैशाख २१ गते यो बाटोको जिम्मेवारी नेपाली सेनालाई सुम्पिने निर्णय गर्यो। त्यसको तीन महिनामै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो आयोजना हस्तान्तरण गरेको थियो।
त्यसपछि धमाधम बाटो बनिरहेको छ।
बाटो बन्दै गरे पनि मोटरसाइकलमा जाने हो भने समस्या आउन सक्छ। बीचमा रोकिनु पर्ने हुनसक्छ। यस्तोमा ७६ किलोमिटर साइकलबाट त सजिलै पार लगाउन सकिन्छ। साइकल गुड्ने मात्र होइन, उस्तै परे दुई-चार किलोमिटर बोकेरै हिँड्न पनि कठिन नहुने साधन।
एक वर्षयता नियमित साइकलमा कुदिरहेको र सप्ताहान्तमा लामो यात्रामा गएको अनुभव छँदै थियो। केही महिनाअघि साइकल हाँकेरै दुई दिनमा वीरगञ्ज पुगेको थिएँ। त्यसबाहेक एउटा सप्ताहान्त लाकुरी भञ्ज्याङ नाघेर कुशादेवीहुँदै पनौती, बनेपा, साँगा अनि ललितपुर अर्थात् झण्डै ८० किलोमिटर उकाली-ओह्राली यात्रा केवल पाँच घन्टामा पूरा गरेको अनुभव पनि थियो।
यिनै अनुभवले गर्दा काठमाडौंबाट ७६ किलोमिटर भनिएको निजगढसम्मको यात्रा आँट्न मेरानिम्ति मुश्किल थिएन।
यो यात्रामा दुइटा कुरा जरुरी थिए। साइकल मर्मत व्यवस्था र साथमा एकजना मनमिल्ने साथी।
सानेपास्थित मेरा साइकल पसलेले तत्काल मर्मतका पाटो बन्दोबस्त गरिदिँदै आवश्यक केही जानकारी युट्युबबाट डाउनलोड गर्न लगाए।
अब जरुरत साथीको। सकभर पत्रकार र साइकल हाँक्ने साथी।
उबेला कान्तिपुरमा साथै काम गरेका र हाल बीबीसीमा कार्यरत मित्र सुरेन्द्र फुयाल अर्का साइकले पत्रकार हुन् भन्ने जानकारी थियो।
म्यासेज गरेँ। सुरेन्द्र जीको जवाफमा मभन्दा पनि ज्यादा उत्साह देखियो।
‘कति दिन लाग्छ?’ प्रश्न आयो।
‘बेलुकी काम सकेर हिँडिहाल्ने हो भने त्यसपछिको दुई दिन विदा लिए काठमाडौं फर्केर आउन समेत भ्याइन्छ,’ मैले जवाफ दिएँ। मेरो दिमागले ७६ किलोमिटर बाटो मात्र हिसाब गरेको थियो।
दुवैजना आ–आफ्ना काम सकेर साढे पाँच बजे बेलुकी जाउलाखेलमा भेटियौं। मुठ्ठी ठोक्यौं र पाइडल ठेल्यौं।
चक्रपथ नाघ्यौं, भैंसेपाटी कट्यौं, प्रस्थानविन्दु खोकनाबाट बुंगमतीहुँदै फर्सीडोल पनि छाड्यौं।
अब बल्ल निर्माणाधीन द्रुतमार्गको झल्को देखिन थाल्यो।
जताततै विभिन्न प्रयोजनका डोजर र एस्काभेटर चलिरहेका। पहाडलाई माथि-माथिदेखि खन्दै ल्याएर परसम्मका चाक्ला सडकहरु।
नेपालको पहिलो द्रुतमार्ग यो सडक ‘स्ट्याण्डर्ड एसियन हाइवे’ अन्तर्गत ‘प्राइमरी क्लास’को बन्दैछ।
‘युद्धगतिमा काम’ भन्ने शब्द धेरैपटक सुनेको थिएँ। नेपालमा त्यस्तरी काम कहाँ-के हुँदो होला भन्ने लाग्थ्यो। तर, यसपालि सेनाले गरिरहेको काम देख्दा ‘यो पो रहेछ युद्धगति’ भन्ने महशुस भयो। कतैकतै त डाँडाकाँडा ढपक्कै ढाकेर एस्काभेटर कीरा जस्तो खटिइरहेका देखिन्थे।
फराकिला फाँटका छेउछाउ नयाँ बन्न थालेका घर हेर्दै हामी बागमती किनारै-किनार बढ्दै गयौं। पर ढिस्कोजस्तोमा डुकुछाप गाउँ देखिन्थ्यो। उपत्यका छेउको दनुवार बस्ती।
त्यहाँ नपुग्दै नैखनीको झोलुंगे पुल तर्यौं। र, ललितपुरबाट फेरि काठमाडौं जिल्ला पस्यौं।
यो बाटो नै बागमतीको घरि वारि घरि पारि भएर हिँड्दो रहेछ। जसअनुसार ललितपुरमा ७.९, काठमाडौंमा ४, मकवानपुरमा ५६.७ र बारामा ७.६ किलोमिटर गरेर यसको कूल दुरी ७६.२ किलोमिटर हुँदोरहेछ। त्यसमा पनि तीनवटा सुरुङको प्रस्ताव भर्खरै सेनाले गरेको छ। जुन अघि बढे ३.४५ किलोमिटर सडकको दूरी अझ घट्नेछ।
ललितपुरसँग काठमाडौं जोड्ने त्यो झोलुंगे पुलकै मुनि गाउँले भेटिए।
डुकुछापका ५० वर्षीय अच्युत दनुवारले पाँच सात वर्षयता द्रुतमार्गको चहलपहल सुनेका हुन्।
‘एक वर्षयता पहराहरू भत्काउँदै धुन्धान काम अघि बढेको छ,’ अच्युतले भने, ‘बाटोले हाम्रो गाउँ छोएर नगएकोमा अलि दुःख लागेको छ।’
बाटोले उनको गाउँ नै किन छुनुपर्यो?
यो परियोजना चलेसँगै उनको गाउँमा जग्गाको मूल्य अकासिएको र काठमाडौंतिरबाटै आएका विशेषगरी नेवार व्यापारीले धेरैजसो जग्गा किनिसकेको जानकारी उनले दिए।
डुकुछाप विशेषगरेर तरकारी खेतीमा आश्रित रहेछ। उत्पादनजति सबै काठमाडौं जाने। पाखाभरि गोलभेँडा रोपिएका सयौं टनेल देखिन्थे। तीमध्ये सातवटा टनेल आफ्नै रहेको अच्युतले बताए।
‘यसैगरी काठमाडौंबाट आउनेले जग्गा किन्ने काम जारी रहे यी खेत बाँकी रहन्नन्,’ उनी भन्दै थिए, ‘यी पाखामा तरकारी फलेको देखिने पनि अबका केही वर्ष मात्र होलान्।’
झोलुंगे पुल नाघ्नेबित्तिकै अलि परसम्म साइकल बोकेरै उक्लनुपर्यो। त्यसपछि भर्खरै खनिएको असाध्यै फराकिलो र समथर बाटो आइपुग्यो। हामी साइकल हुइँक्याउन थाल्यौं।
तल बागमती उस्तै वेगमा बग्दै थियो। काठमाडौंभरिको फोहोर बोकेर तछाँडमछाड गर्दै गंगामा मिसिन गइरहेको बागमती र हाम्रो चाल उसैगरी, उही दिशामा बढिरहेको थियो।
एकै छिनमा मखुबेसी आइपुग्यो। त्यहाँ सेनाले बनाएको ठूलो क्याम्प रहेछ। रातो जस्ताले छाएका थुप्रै घरसहितका यस्ता क्याम्प सेनाले आठ ठाउँमा बनाइसकेको रहेछ। दुई ठाउँमा निर्माणाधीन रहेछन्। यिनै क्याम्प बसेर सेनाका अधिकृत र जवानगरी १२ सय जना यतिबेला परियोजनामा खटिएका छन्।
औसत सात किलोमिटरको दूरीमा बनाइएका क्याम्पलाई सडक तयार भएपछि सुरक्षा र मर्मतसम्भारका हिसाबले निरन्तरता दिइने सेनाका विकास निर्माण महानिर्देशक योगेन्द्र खाँडले केही दिनअघि पत्रकार सम्मेलनमा बताएका थिए। त्यतिबेला उपरथी खाँडले सरकारले जिम्मेवारी दिए मुताबिक चार वर्षभित्रै सडक तयार पारिदिने दाबी गरेका थिए।
हामी अझ अगाडि बढ्यौं। कटुवालदह आइपुग्यो।
अब अगाडिको बाटोमा एस्काभेटर खटिएका देखिन थाले।
त्यहीँनिर हामीलाई सेनाले रोके।
‘यहाँभन्दा अगाडि जान मिल्दैन,’ उनीहरूले भने, ‘तपाईंहरूलाई खतरा हुन्छ।’
ती सेनाले अगाडि जताततै पहाड भत्काउने काम भइरहेको र माथिदेखि ठूला ढुंगा लगातार खसिरहेकाले जोखिम हुने बताए।
अब उपाय के त?
‘हामीले ट्रयाक खुला गरेलगत्तै आउनुभएको भए समस्या हुन्थेन,’ उनीहरूले भने, ‘कि त केही महिना अगाडि आउनुपर्थ्यो। नभए अब कम्तीमा पहाड भत्काउने काम सकिएपछि,अर्थात् छ-सात महिनापछि मात्रै हिँड्दा उपयुक्त हुन्छ।’
सेनाका अनुसार यो आर्थिक वर्षभित्रै ५४ किलोमिटर खण्डमा ‘सबग्रेड फर्मेशन लेभल’ सम्म खन्ने र पुर्ने काम सम्पन्न भइसक्ने छ। त्यसपछि भीरमा पर्खाल लगाउने, नाला-कलभर्ट बनाउने र तीन स्थानमा सुरुङ बनाउने तयारी चल्नेछ।
अब अहिले त यहाँभन्दा अगाडि बढ्नै नसकिने गरी पहाड फोड्ने काम चलिरहेको थियो। यो असुरक्षा देख्दादेख्दै अवज्ञा गर्ने कुरा पनि आएन। अर्कोतिर, हामी त निजगढ पुग्ने अठोट बोकेर लम्किसकेका थियौं।
त्यस्तो अवस्थामा माथि डाँडा उक्लेर घुसेल गाउँ हुँदै पारि जान सकिने सेनाले बताए।
हामी त्यही गर्ने भयौं।
घुसेल अर्थात् ललितपुर जिल्लाको एउटा भीरमा बसेको गाउँ। त्यहाँ पुग्न फेरि बागमती तर्नुपर्थ्यो। छेवैको झोलुंगे पुलबाट हामी पारि लाग्यौं।
पारि सल्लाको रमाइलो जंगल। त्यहीँ एउटा टहरामा चियापसल पनि। रात परिसकेकाले अब हामीलाई बास बस्ने ठाउँ जोहो पनि गर्नु थियो।
पसले सुन्दर लामा मेरुदण्डमा चोटले गर्दा ह्विलचियरमा आश्रित रहेछन्। एक्लै बसेर यो अनकन्टारमा पसल चलाइरहेका सुन्दरले आफूसँगै बस्ने हो भने बास दिन तयार रहेको सुनाए। हामीसँग अरु विकल्प पनि थिएन।
त्यस रात ह्विलचियरमै ओहोरदोहोर गर्दै सुन्दरले मिठो खाना पकाएर खुवाए। उनी सुत्ने कोठामै हामीलाई पनि ओछ्यान बन्दोबस्त गरिदिए। जसोतसो मिलेर सुत्नु थियो। यस्तो अवस्थामा भएको एउटा तकिया मैले कब्जा गरिसकेको थिएँ। सुन्दरलाई घरबाट उनकी आमाले ल्याइदिएको गुन्द्रुकको पोका थियो। सुरेन्द्र जीको तकिया त्यही गुन्द्रुकको पोका बन्न पुग्यो।
‘स्वाद लिँदै सुत्न पाइने भयो,’ सुरेन्द्रजीले हँसाए।
यो अज्ञात बासमा रातको निद्रा बोलाउँदै गर्दा हामीले ३७ वर्षे आश्रयदाता सुन्दरको कथा सुन्न चाह्यौं।
‘काठमाडौंको नन्दी रात्री स्कुलबाट २०५७ सालमा एसएलसी सकेर केही समय उतै काम गरेँ। पछि घर फर्केँ,’ उनले आफू २० वर्ष हुँदा घटेको भयावह घटना सुनाए, ‘बिजुलीको तारमा रुख ढलेकोले ट्रान्सफर्मर फ्युज गएको थियो। रुख हटाएपछि त्यही फ्युज बनाउन भनेर चढ्दा एकैपटक परै हुत्याइदियो।’
त्यसपछि करेन्ट लागेर घाइते भएका उनी नौ महिनासम्म वीर अस्पताल बसे। निको त भए। तर, कम्मरभन्दा मुनिको भाग कहिल्यै नचल्ने भयो। ढाडमा पनि रड राखिएको छ।
दुर्घटना हुनु केही अघि मात्र उनको बिहे भएको रहेछ। करेन्ट लागेको दिनदेखि सुन्दरले श्रीमतीको अनुहार देख्नै पाएनछन्।
‘घरमा झगडा गरेर लभ म्यारिज गरेको थिएँ,’ सुन्दरले भने, ‘त्यस्ती पत्नीले नौ महिना उपचार गराउँदा एकपटक हेर्नसमेत आइनन्।’
त्यसपछि परिवारले ह्विलचियरमै हिँड्डुल गर्ने सुन्दरका निम्ति अर्की पत्नी खोजिदिएछन्। तर, ती पत्नीले पनि उनलाई छाडेर अर्कैसँग हिँडिदिइन्। आफूहरुको एउटी छोरी पनि तिनै दोश्री पत्नीका साथमा रहेको उनले सुनाए।
सुन्दरका भोगाइ सुन्दै गर्दा त्यो मध्यरात छानामाथिबाट ठूल्ठूला जहाज भयावह आवाज निकाल्दै काठमाडौं आउने र जाने गरिरहेका थिए।
‘काठमाडौं आउने प्लेनको एउटा रुट परको भट्टेडाँडाबाट र अर्को रुट बागमतीको खोँच पछ्याउँदै हामी बसेकै ठाउँको ठीक माथि हो,’ सुन्दरले भने, ‘यहाँ चौबिसै घन्टा प्लेनको आवाज आइरहन्छ।’
यसरी शारीरिक क्षमता र घरपरिवार उजाडिएपछि सुन्दरले यो सुनसान सल्लाको जंगल छानेका रहेछन्।
‘कटुवालदहको वडाअध्यक्ष हुँदा मेरो बुवाले यो झोलुंगे पुलको ठेक्का लिनुभएको थियो,’ सुन्दरले सुनाए, ‘त्यतिबेला यहीँ बसेर गिट्टी कुटेँ र चियापसल चलाएर कामदारहरूलाई खुवाएँ।’
झोलुंगे पुल तयार भइसकेपछि यो बाटो लगातार हिँड्डुल गर्ने मानिसका निम्ति भनेर त्यही चियापसललाई सुन्दरले एक्लै निरन्तरता दिँदै आएका रहेछन्।
‘अब सेनाले पारि बाटो बनाउन थालेपछि उताका मानिस पनि चिया नास्ता गर्न यतै आउँछन्,’ उनले थपे, ‘त्यसैले पसल राम्रै चलिरहेको छ।’
मच्छिन्द्रनाथको रथ तान्नुअघि आर्सेनी कुमारी र गुरुजुहरूको बथानै आएर यहीँबाट जल लैजाने चलन रहेछ। त्यसैले यहाँ वर्षको तीनपटक मेलै लाग्दो रहेछ। मेलामा आउनेहरू अरुबेला पनि घुम्न पुगिरहने हुनाले सुन्दरलाई ग्राहकको कमी रहेनछ।
सुन्दरका कथा सुन्दासुन्दै कतिबेला निद्रा पर्यो, थाहै पाइएन।
बिहान छ नबज्दै पारितिर सडक बनाउन तम्सिएका एस्काभेटर र ढुंगा फोड्ने मेसिनले चर्को आवाज निकाल्न थालिसकेको थियो।
‘यहाँको निर्माणमा एउटै ठेकेदारका चालीस-बयालीसवटा सम्म एस्काभेटर परिचालित छन्,’ सुन्दरले भने, ‘बिहान सबेरैदेखि रात नपरुन्जेलसम्म सेनाले सबलाई खटाएर काम लिने गरेको छ।’
सुन्दरका अनुसार यो बाटो बन्न थालेपछि यतातिर जग्गाको भाउ अचानक बढेको छ।
‘पहिले यहाँ रोपनीको पचास हजार रुपैयाँ दिन्छु भन्दा पनि कसैले किन्दैन थिए,’ सुन्दरले भने, ‘अहिले आनाकै लाख रुपैयाँभन्दा बढी मुआब्जा त सडकले नै दिइरहेको छ।’
गाउँतिर त्योभन्दा पनि बढी मूल्यमा किनबेच भइरहेको उनले जानकारी दिए।
आजभोलि जग्गा किन्नकै निम्ति धेरै मानिस आउन थालेको र पारिको फाँटमा त अब बेच्न जग्गा नै बाँकी नरहेको पनि उनले सुनाए।
हामी विदा हुनु अगावै सुन्दरले सवेरै उठेर चिया नास्ता बनाइदिए।
त्यतै भेटिए, छेउकै पाखा चोकका ५७ वर्षे गोकुल खत्री।
उनको चौध आना जग्गा द्रुतमार्गमा परेको रहेछ।
‘आनाको एक लाख पन्ध्र हजार रुपैयाँका दरले दिन्छौं भनेका थिए,’ उनले भने, ‘काठमाडौं पुगेर पैसा बुझ्ने बेलामा त पन्ध्र हजार रुपैयाँ त्यहीँका हाकिमलाई ‘चिया खुवाउन’ बुझाउनुपर्ने रहेछ।’
त्यसरी द्रुतमार्गको मुआब्जा दिने कर्मचारीले आफूमात्र नभई सबैजसो गाउँलेसँग अनुचित रकम असुलेको आरोप उनले लगाए। सेनाले बाटोका निम्ति रुख काट्ने बेलामा सामुदायिक वनका गाउँलेसँग सहमतिमै काटेकाले वन क्षेत्रमा खासै धेरै नोक्सान नभएको जानकारी पनि उनीहरूले दिए।
सेनाका अनुसार आयोजना सुरु भएको पहिलो वर्षमा हालसम्म २० हजार रुख काटिएको छ। काठ सरकारलाई जिम्मा लगाइसकिएको छ। काटिएका रुखका बदलामा १ः२५ का अनुपातले नयाँ वृक्षरोपण गरिने दाबी पनि सेनाले गरेको छ।
गोकुलका अनुसार केही साताअघि मात्र एकपटक छेउको पहरा भत्काउँदा त्यसले खुल्पुको पुछारमा बागमती थुनिदियो। केही दिनसम्मै गाउँलेलाई आतंकित पारिदियो। त्यसबाहेक भने कुनै समस्या नरहेको उनले जानकारी दिए।
ठीक दस वर्षअघि एसियाली विकास बैंकले तराइसँग काठमाडौंलाई सबभन्दा सजिलो र चाँडो जोड्नेगरी सम्भावित वैकल्पिक मार्ग खोजी गर्दा यो रुटको छनौट गरिएको थियो। त्यसपछि लगत्तै विस्तृत सम्भाव्यता अध्ययन गरियो। त्यही रिपोर्टलाई आधार मानेर सेनाले चार वर्षको अवधिमा ‘पाइलट ट्रयाक’ तयार पारेको थियो। त्यसै मुताबिक अब बाटो बनाउने क्रममा हालसम्म १० हजार पाँच सय रोपनी अर्थात् ९० प्रतिशत जग्गा अधिग्रहणसमेत भइसकेको सेना बताउँछ।
हामी कटुवालदहबाट लगातार उकालो लाग्न थाल्यौं। थोरै ठाउँमा मात्र साइकल हाँक्न मिल्ने स्थिति थियो। धेरैजसो त गुडाएरै उक्लियौं।
देवीचौर, बाबिया गाउँ।
त्यसपछि आइपुग्यो तेर्सो बाटो। त्यो बाटो साइकलमा हुँइकिदै गर्दा तल बागमती, त्यसको किनारमा धमाधम बन्दै गरेको द्रुतमार्ग र समानान्तर उचाइमा भने दक्षिणकालीबाट उक्लिएपछि सिस्नेरीको भञ्ज्याङतर्फ लाग्दै गरेको बाटो देखिन्थ्यो। त्यो बाटो भएर म पचासौंपटक टाटा सुमोमा वीरगञ्ज गएको छु। हरेकपटक सुमोबाट यताको डाँडा देखिन्थ्यो। यसपाला ठीक विपरित दिशाका दृश्य हेर्दै हाम्रा साइकल रफ्तारमा कुदिरहेका थिए।
बाटोमा आकासे सर्ट र निलो सुरुवाल लगाएका विद्यार्थीको ताँती देखिन थाल्यो। अलि पर पुगेपछि एकहुल छात्रा त्यही पोशाकमा स्कुलतिर जाँदै गरेका देखिए।
मलाई त्यो दृश्य असाध्यै रमाइलो लाग्यो। फोटो खिच्न खोजेँ।
सबै छात्रा एकसाथ अर्कोतिर फर्किए।
‘खिच्न देऊ न ए नक्कलीहरु,’ बाटो छेउमा बसेका एकजना अधबैंसे तामाङ दाइले उनीहरूतिर हेर्दै जिस्क्याए, ‘सरले तिमीलाई लैजाने हो र? तिम्रो फोटो पो खिचेर लैजान खोजेको!’
मैले ती दाइलाई ‘भैगो’ भनेँ र उता फर्केकै बेलाको फोटो मात्र खिचेर मोबाइल खल्तीमा हालेँ अनि सोधेँ, ‘स्कुलको नाम के हो?’
‘श्रीदेवी हाइअर सेकेन्डरी स्कुल,’ उनीहरुमध्ये दुई तीनजनाले एकसाथ उतै फर्केर जवाफ दिए। त्यसपछि जोड जोडले हाँस्न थाले। उनीहरूको हाँसोकै बीच मेरो साइकल अघि बढ्यो।
त्यसको केही छिनमै हामी घुसेल पुग्यौं। डाँडामा बसेको मनोरम गाउँ।
घरहरू सुरु हुनेबित्तिकै दुवैतिर राखिएका दूधका कन्टेनरले यहाँ पर्याप्त दूध उत्पादन हुँदो रहेछ भन्ने झल्को दियो।
‘दूध पिउन पनि पाइन्छ?’ हामीले सोध्यौं।
अलि पर स्कुलको छेउमा पसलै रहेको बताइयो। मिठो दूध र त्यसबाट बनेको चिया हामीले स्वाद मानेर खायौं।
त्यहीँ भेटिए घुसेलका ३४ वर्षीय किसान रामचन्द्र घिमिरे। त्यति सानो बस्तीमा पनि दैनिक दुई हजारदेखि बाइस सय लिटर दूध उत्पादन हुने गरेको उनले सुनाए।
‘सबै दूध काठमाडौं जान्छ,’ उनले भने, ‘चापागाउँदेखिका ठेकेदार हरेक बिहान गाडी लिएर दूध लिन आइपुग्छन्।’
यो गाउँसम्म ०५७ सालदेखि मात्रै बाटो आइपुगेको रहेछ। त्योभन्दा पहिले गाउँलेहरू नै दूध बोकेर टीकाभैरव पुग्थे।
‘यो गाउँको मुख्य आम्दानीको श्रोतै दूध हो,’ रामचन्द्रले भने, ‘थोरै तरकारी पनि हुन्छ।’
रामचन्द्रका अनुसार मोटरबाट यो गाउँदेखि काठमाडौं उपत्यकाको काँठमा रहेको चापागाउँ एक घन्टामै पुगिन्छ।
चियापसलको छेउमा अघिसम्म खेलिरहेका ‘श्री घुसेल माध्यमिक विद्यालय’का केटाकेटी धमाधम कक्षामा पस्न थाले।
‘बाटो आएकै ताका ५७–५८ सालदेखि यहाँ दस कक्षा पढाइ हुन थालेको हो,’ रामचन्द्रले भने, ‘वर्षको मोटामोटी २० जनासम्मले एसएलसी दिन्छन्।’
त्यसपछिका अधिकांश जनजाति तन्नेरीमा विदेश जाने प्रवृत्ति बढी रहेको उनले बताए। फाट्टफुट्ट उच्च शिक्षाका लागि काठमाडौं पुग्छन्। भर्खर गाउँकै एकजना विनोद तिमिल्सिनाले फिलिपिन्स गएर डाक्टरी सकेको पनि रामचन्द्रले सुनाए।
हाम्रा कुराकानी चल्दाचल्दै कक्षाकोठाबाट बेस्सरी चिच्याउँदै गोपाल योञ्जनले बनाइदिएकै धुनमा कलिला स्वर गुञ्जिए–
‘नेपालको नाम चम्काउन, जीवन अर्पण गर्नेछौं
देसका लागि बाँच्ने छौं, देशका लागि मर्ने छौं’
त्यो आवाज पर-पर डाँडापाखा गुञ्जिनेगरी मिठो थियो।
लगत्तै शिक्षकले हाजिरी लिन थाले–
‘रोल नम्बर एघार’
विद्यार्थीले जवाफ दिए, ‘छ सर’
शिक्षक– छ सर होइन यस सर भन्नुपर्छ।
विद्यार्थी एकछिन अलमलियो र जवाफ दियो– तल गएको छ सर।
अर्थात् रोल नम्बर एघार कतै तल ओर्लिएको बेला परेछ।
शिक्षक हाँसे। मलाई पनि हाँसो उठ्यो। विद्यार्थीहरू वाल्ल परे।
डाँडाको त्यो स्कुल, छेउको चियापसल, परपरसम्म देखिने आकाश र पहाड। अनि निस्फिक्री बगिरहेको हावा। त्यो परिवेश एकछिन बसौंबसौं लाग्ने थियो। तर, हामीलाई निकै पर पुग्नु थियो।
हामीलाई अगाडिको बाटो देखाइदिन रामचन्द्र घिमिरे नै अघि सरे।
उनका औंलाले पहाडमा खोस्रिएका भित्ता पछ्याउँदै तलका गाउँ सँघुरा, माकलडाँडा देखाउँदै लग्यो। अनि अन्तिममा बागमती किनारको तल द्रुतमार्ग क्षेत्र।
बिदा हुने बेलामा ‘अब त यस्तो बाटो गाउँ छेउमै आएपछि फाइदा हुने भयो नि?’ भनेर सोध्यौं।
उनले द्रुतमार्ग तयार भए पनि आफूहरूजस्ता छेउछाउका गाउँलेका निम्ति खास उपयोगी नहुने बताए।
‘ठूलो पैसा तिरेर निजगढदेखि काठमाडौंसम्मै सुविधाका साथ तुरुन्तै पुग्नेका निम्ति बनाइएको बाटो हो,’ उनले थपे, ‘हामी गाउँलेलाई सित्तैमा यात्रा गर्न के देलान्?’
द्रुतमार्ग तयार भइसकेपछि आयोजनाले नै आफूहरूको गाउँसम्म पक्की बाटो बनाइदिने आश्वासन दिएको उनले सुनाए।
हामी रामचन्द्रले देखाएको बाटैबाटो साइकलबाट ओर्लन थाल्यौं। तल-तल पुगेपछि असाध्यै भिरालो बाटो थियो। तै भाग्यले कुनै दुर्घटना बिना नै झर्यौं। बागमती किनार पुगेपछि अर्को अचम्मको दृश्य देखियो। त्यहाँ त नदीको दुवै किनारमा बाटो बनिरहेको थियो।
ठाडा पहाड फोडेर चौडा बाटो बनाउँदा पहिरो जोखिम रहिरहने भएकाले यस भेगमा दुवैतिर दुई-दुई लेनको एकतर्फी बाटो बनाउन थालिएको रहेछ। अति भिरालो जमिनमा उच्च प्रविधिको सडक, अग्ला पुल, सुरुङमार्ग र ‘इन्टरचेन्ज’ सहितका आधुनिक र विविधतायुक्त इञ्जिनियरिङ ओगटेको यो विशेष प्रकृतिको आयोजना हुने जानकारी सेनाले दिएकै थिए।
तर, त्यो त पछि न बन्ने हो। अहिले त हाम्रो बिजोग फेरि सुरु भइसकेको थियो।
बाटो पूरै ओगटेर कुनै एस्काभेटरले असाध्यै गहिरा खाडल बनाउने त कुनैले छेउको पहरा फुटाउने काम गरिरहेका थिए। घरजत्रा ठूला ढुंगा जताततै थिए। त्यसैगरी ट्रक र टिपर धमाधम ढुंगा र माटो ओसारिरहेका देखिन्थे।
बाटै नभएको कतिपय ठाउँमा आफू त चिप्लेटी खेलेर पनि ओर्लन सकिने, साइकललाई कसरी ओराल्ने? फेरि हामी गुज्रने बेलामा सबै काम गरिरहेका मेसिन बन्द गराउनुपर्ने अवस्था अर्कोतिर।
यी सब छिचोल्दै हामी अगाडि बढ्यौं। बाटोमा सुन्दर झरना थिए। यसरी जाँदाजाँदै एउटा विन्दुमा मोडियौं। त्यहीँ देखियो ‘बागमती हाइड्रोपावर प्रोजेक्ट’।काठमाडौंले हेला गरेर फोहोर बगाइदिएको बागमती कतिसम्म गुणी रहेछ! तल मधेसमा सिँचाइनिम्ति प्रयोग भएको त देखेकै थिएँ, यहाँ माथि पनि यसैबाट बिजुलीधरि उत्पादन हुन लागेको रहेछ।
अगाडि ठाडो भीर भएकाले फेरि बागमती तर्नुपर्ने भयो। ओर्लने ठाउँ नै थिएन। फेरि चिप्लेटी खेल्दै र घस्रिँदै ओर्लियौं। झोलुंगे पुलसम्म पुग्यौं। पारि गयौं। अब चाहिँ हामी मकवानपुर जिल्लामा थियौं।
यो गाउँलाई इपा भनिँदो रहेछ। यहाँबाट फेरि अगाडि जाने द्रुतमार्गको बाटोमा सेनाले काम गरिरहेको थियो। त्यो बाटो अगाडि बढ्नै नमिल्ने जानकारी जलविद्युत आयोजनाका कामदारले दिए।
यस्तो अवस्थामा हामीसँग दुइटा विकल्प थिए।
एउटा बागमती जलविद्युतको केही किलोमिटर लामो अँध्यारो टनेल भएर जानुपर्ने। जसमा केही अवरोध पनि छिचोल्नु पर्थ्यो।
अर्को, दुई-चार किलोमिटर बाटो छिचोल्न बिहानभरि लगाएर घुसेलको उकालो चढेजस्तो फेरि देउरालीको अर्को उकालो चढ्नुपर्ने।
सुरेन्द्र जीलाई पहिलो विकल्प मान्य भएन।
‘ठीक छ उकालो नै चढौं,’ सुरेन्द्रजीले त्यसपछि प्रश्न पनि गरे,‘तर, यसैगरी हामी बाटो बेगर अन्तैको उकालो चढ्दै गयौं भने निजगढ कहिले पुगौंला?’
छेउमा उभिएका कामदार अनि गाउँलेले भने–‘कम्तीमा आज र भोलिमा सम्भव छैन।’
सुरेन्द्रजीले मलाई हेरे, ‘भोलि बेलुकी त मेरो दुई दिनको बिदा सकिन्छ। पर्सि बिहानै जुनसुकै हालतमा अफिस पुग्नै पर्छ।’
म निरुत्तर भएँ।
अब के उपाय बाँकी रह्यो?
‘यहाँबाट तेर्सैतेर्सो बाटो पश्चिमतिर लाग्नुभयो भने करिब पाँच–सात किलोमिटर यात्रामै सिस्नेरी पुगिन्छ,’ उनीहरूले भने, ‘त्यहाँबाट कुलेखानी भएर चन्द्रागिरि हुँदै काठमाडौं पुगे पनि भयो। अथवा मोटर चढेर दक्षिणकाली हुँदै पनि जान सकिन्छ।’
हामी त्यस रात कुलेखानी पुग्ने योजनासाथ सिस्नेरीतर्फ लाग्यौं।
बाटोमा एउटा प्राकृतिक ‘स्वीमिङपुल’ थियो। त्यहाँ नुहाउन काठमाडौंदेखि थुप्रै युवायुवती आएका थिए।
सुरेन्द्रजीले ‘नुहाउने हो कि?’ भनेर सोधे।
मलाई यात्रा अधुरो छाडेकोमा खल्लो लागिरहेको थियो। नुहाउनु त परको कुरा।
सिस्नेरीबाट अर्को करिब २० किलोमिटर पर मार्खु पुगेर त्यसरात सरोबरको छेउमा रमाइलो गर्ने मन पनि भएन।
हामीले सिस्नेरी पुगेपछि एउटा बसमाथि साइकल लोड गर्यौं। निकट भविष्यमै यो यात्रा पूरा गरेरै छाड्ने अठोटका साथ काठमाडौं फर्कियौं।
अधुरो भए पनि केवल एक साँझ र एक दिनको यो यात्रामा हामीले भावी द्रुतमार्गलाई परैसम्म महशुस गर्न पाएकामा खुसी थियौं।
'राष्ट्रिय गौरव'को यस द्रुतमार्गलाई चार वर्षमा पूरा गर्ने जिम्मेवारी पाएको सेनाले लक्ष्य अनुसारै पहिलो वर्ष शतप्रतिशत उपलब्धि हात पारिसकेको बताएको छ।
सबै तस्बिरहरू : गिरिश गिरी/सुरेन्द्र फुयाल