अचेल उनीहरू झ्याल खोल्दैनन्। बार्दलीका ढोका पनि ढ्यामढुम्मै हुन्छ।
कहिलेकाहीँ जब पानी पर्छ, त्यति बेला मात्र झ्यालबाट चिसो बतास कोठाभित्र छिर्न पाउँछ।
पानी परेको बेला मात्र किन? किनभने, पानी पर्दा धूलो उड्दैन।
हामी यहाँ कलंकी–नागढुंगा सडक खण्डमा बसोबास गर्ने स्थानीयको कुरा गर्दै छौं।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीले यो सडक निर्माणको ठेक्का पाएका छन्। उनले २०७२ असार मसान्तमा १ अर्ब ८४ करोड रुपैयाँमा ठेक्का पाएका थिए। एक वर्षमा पूरा गर्ने सहमति भएको थियो।
नौ किलोमिटरको यो सडक यही पुस समान्तसम्म सक्नुपर्नेमा आधा काम पनि भएको छैन।
तीन वर्षदेखि निर्माणाधीन यो सडक खण्डमा काठमाडौं महानगरका केही र चन्द्रागिरि नगरपालिकाका धेरै वडा पर्छन्। लाखौं बासिन्दा धूलोधुवाँले आक्रान्त छन्। उनीहरूको स्वास्थ्य प्रभावित छ। बन्द–बेपार ठप्प छ। जीवनयापन नै खल्बलिएको छ।
विष्णुप्रसाद लुइँटेल यही सडक खण्डमा किराना पसल चलाउँथे। धूलोधुवाँ खपिनसक्नु भएपछि पसल बन्द गर्नुपरेको उनी सुनाउँछन्।
‘ग्राहक आएनन्, आफूलाई पनि बस्न गाह्रो,’ उनले भने, ‘रोजीरोटी जसरी चलेको थियो, त्यही गुम्यो। यसको जिम्मा कसले लिन्छ?’
पसल बन्द गरेपछि परिवार चलाउनै हम्मै परेको उनले बताए।
अधिकांश साना व्यवसायीको यही हाल छ। कसैका पसल बन्द भइसके। कोही ग्राहक नआएर जेनतेन टिकिरहेका छन्। कोही महिनौंदेखि भाडा नतिरेर बन्द हुने अवस्थामा पुगिसके।
बीस वर्षदेखि रङ पसल थापेर गुजारा चलाउँदै आएकी कमला गिरी बाटो निर्माणको काम सुरु भएयता ७५ प्रतिशत व्यापार घटेको बताउँछिन्।
‘सहरमा घर बढ्न थालेदेखि यो पसल चलाएको हो। सडकछेउको पसल, राम्रै व्यापार हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले पसल भन्नु मात्र छ। सामान भएर मात्र ग्राहक आउने होइन नि। पसलसम्म आउने वातावरण पनि त हुनुपर्यो।’
उनले रङको बट्टातिर देखाइन्। सबै बट्टामा धूलोको पत्र जमेको थियो। रंगका बट्टा रंगीन थिएनन्। धूलोले फुस्रो देखिन्थ्यो।
‘यो बिहान मात्र सफा गरेको,’ धूलो टक्टक्याउँदै कमलाले भनिन्, ‘कतिपटक सफा गर्ने?’
बट्टामा जमेको धूलो त कपडाले टक्टक्याइन्, तर हावामै मिसिएको धूलो कसरी टक्टक्याउने?
हावा यति प्रदूषित छ, एकछिन हिँड्दा पनि सास फेर्न उकुसमुकुस हुन्छ। यहीँ बसोबास गर्नेले यस्तो धूलाम्मे हावामा सास फेर्नु भनेको रोगलाई खुला निम्तो दिनु।
त्यसमाथि यो राजधानी आउजाउ गर्ने गाडीको प्रमुख बाटो। चौबीसै घन्टा व्यस्त। गाडीको ओहोरदोहोर नथामिएपछि धूलोले विश्राम पाउने कुरै भएन। कतै जानुपर्यो भने धूले सडकको बीचमा उभिएर गाडी कुर्न झन् सास्ती हुने स्थानीय बताउँछन्।
धूलोधुवाँबाट त्राण पाउन स्थानीयले सडक ठेकेदारलाई कुरा राखे। स्थानीय निकाय पनि गुहारे।
‘हामीले कुरा उठाएपछि एक–दुई दिन एक–दुई ट्यांकर पानी हाल्न आउँछन्, त्यसपछि फेरि उही ताल,’ स्थानीय कमल रिजालले भने।
सबभन्दा ठूलो समस्या, स्थानीयको स्वास्थ्यमा परेको छ। रुघाखोकी, भाइरल र श्वासप्रश्वाससम्बन्धी रोग यहाँको निम्ति सामान्य भइसके। अझ केटाकेटीमा रुघाखोकी निको हुन समय लाग्ने र सास फेर्न गाह्रो हुने समस्या छ।
स्वास्थ्य क्षेत्रमै काम गर्ने कपिल थापा प्रदूषित वातावरणले स्थानीयको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन समस्या थुप्रै देखिएको बताउँछन्।
‘जानाजान जनतालाई बिरामी पार्नु भनेको अपराध हो। पाप हो,’ उनले भने।
तीन वर्षदेखि ‘केही महिनाको कुरा हो, विस्तारै ठिक हुन्छ’ भन्ने आश्वासन सुन्दै आएका स्थानीयको धैर्यको बाँध फुट्यो, शुक्रबार।
उनीहरूले साढे दुई घन्टा सडक ठप्प पारे। महिनौंदेखि गुम्सिएको पीडा कसरी अभिव्यक्त गर्ने भनी अघिल्लो साँझ मात्र सरसल्लाह गर्दा सडक अवरोध गर्ने सहमति भएको थियो।
यसले धादिङको नौबिसेदेखि काठमाडौंको नयाँबानेश्वरसम्म सवारी जाम भयो। हजारौं यात्रुले साढे दुई घन्टा सास्ती झेले।
आफ्नो विरोध कार्यक्रमबाट सर्वसाधारणलाई दुःख भएकोमा उनीहरू खुसी छैनन्। भन्छन्, ‘अरूलाई दुःख दिनु सही होइन। हामी माफी माग्न चाहन्छौं। आँखा–कान टालेर बसेको सरकारलाई आफ्नो कुरा सुनाउन, आफ्नो समस्या देखाउन हामीसँग अर्को विकल्प भएन।’
अवरोधकै बीचमा १५ नम्बर वडा कार्यालयमा भेला भएका स्थानीयले ‘सडक निर्माणको काम किन समयमा सकिएन’ भनी प्रश्न गरेका थिए। सडक निर्माणमा भएको विलम्बले स्थानीयलाई परेको सास्तीको क्षतिपूर्ति कसले दिन्छ भनी सवाल उठाएका थिए।
‘स्थानीयका कारण समस्या भए भन्नुपर्यो। हामी अहिल्यै के गर्नुपर्ने हो गर्न तयार छौं। हामीले गर्दा हुने भए दिनरात नभनी खट्न तयार छौं,’ वडा कार्यालयको भेलामा स्थानीय केशव पराजुलीले भने, ‘होइन भने काम किन भएन? केले रोक्यो? यतिका वर्षदेखि यति महत्वपूर्ण सडक नबनाउने ठेकेदारलाई किन कारबाही भएन? हामीलाई जवाफ चाहियो।’
‘तीन वर्षदेखि धूलो खाएर बसिरहेका छौं। रोग पालिरहेका छौं। अझै कति वर्ष हामीले यही दुःख झेल्नुपर्ने हो? सडक बनाऊ भन्न पनि जनता सडकमै नआई नहुने? सरकार के पारा हो यो?’ उनले भने।
जनजीवनमै असर पर्दा पनि सडक ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारबाही नभएकोमा यहाँका स्थानीयले आक्रोश व्यक्त गरे। पुष्पकमल दाहालको ‘घरबेटी’ भएकैले उन्मुक्ति दिइएको त होइन भन्ने उनीहरूको प्रश्न छ।
सडक निर्माणको ढिलासुस्तीले आजित स्थानीयको आक्रोश यसरी सडकमै पोखिएको यो पहिलोपटक होइन।
यसअघि सुनाकोठी जाने बाटोमा पार्ने खुमलटारका स्थानीयले लामो समय सडक नबनेपछि अवरोध गरेका थिए। विरोधको केही समयपछि त्यहाँ सडक कालोपत्रे सुरु भएको थियो।
बौद्ध, जोरपाटीका स्थानीयले पनि पटक–पटक विरोध गर्दै आएका छन्। त्यहाँ अझै सडक बनेको छैन। सरकारले बिमस्टेक शिखर सम्मेलन क्रममा सदस्यराष्ट्रका सरकार–प्रमुखहरूलाई ‘रिट्रिट’ निम्ति गोकर्ण रिसोर्ट लग्ने कार्यक्रम बनाएको थियो। सरकारी स्तरमा यति ठूलो कार्यक्रम राखिँदा पनि सडक विभागले काम गर्न सकेन। आखिरमा गोकर्णको ‘रिट्रिट’ सोल्टी होटल सर्यो।
यसपालि कलंकी–नागढुंगा सडक खण्डमा पर्ने चन्द्रागिरि नगरपालिका–१५ का स्थानीय पनि असह्य भएर सडकमा ओर्लिएका छन्।
काठमाडौं आउजाउ गर्ने मूलसडक झन्डै साढे दुई घन्टा ठप्प भएपछि बल्ल सरकारलाई तातो लाग्ने छाँट देखिएको उनीहरू बताउँछन्।
शुक्रबार कार्यक्रमलगत्तै स्थानीय, ठेकेदार कम्पनी, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, नेपाल टेलिकम, विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायबीच झन्डै तीन घन्टा वार्ता भएको थियो।
वार्तामा १५ नम्बर वडाभित्र पर्ने क्षेत्रको सडक मंसिर मसान्तसम्म कालोपत्रे गर्ने सहमति भएको छ। त्यो अवधिसम्म धूलो नउड्ने गरी दिनहुँ पानी हाल्ने ठेकेदार कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्तापछि चन्द्रागिरि नगरपालिका–१५ का वडाध्यक्ष उत्तमबहादुर राउतले सडक निर्माण छिट्टै हुने आशा व्यक्त गरे।
‘अब पनि हेलचेक्र्याइँ भयो भने म आफैं आन्दोलनको नेतृत्व लिन्छु,’ इञ्जिनियरसमेत रहेका उनले भने, ‘यहाँ सडक निर्माणदेखि नै जालझेल भएको छ। जथाभाबी सडकको नक्सा बनाउने, नक्सा लुकाउने र मनलाग्दी काम गर्दा यो अवस्था आएको हो।’
यहाँका स्थानीयलाई भने अझै भर छैन।
सरोकारवाला निकायले पटक–पटक झुक्याउँदै आएकाले यसपालि कडा कदम चाल्न पछि नपर्ने उनीहरू बताउँछन्।
यसअिघ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ आफैं आएर भदौ १२ गतेसम्म सडक मर्मतमा सुधार नआए सरकारले कारबाही अघि बढाउने आश्वासन दिएका थिए। त्यो आश्वासन पूरा भएको छैन।
‘पानी छर्ने काम तत्काल सुरु नभए काठमाडौंबाट दसैं मनाउन घर जाने लर्को लागेका बेला हामी सडकमै दसैं मनाउन थाल्छौं,’ एक स्थानीयले भने।
वडा नम्बर १५ मा भएको यो सहमतिपछि बाँकी क्षेत्रका स्थानीय पनि तात्तिएका छन्।
नतात्तिऊन् किन?
आखिर सडक अवरोध नगरेसम्म सरकारले जनताको कुरै नसुनेपछि।