पुरानो बसपार्कको सार्वजनिक जग्गा निजी व्यवसायीलाई पोस्न लागेको भन्दै विवादित काठमाडौं भ्यु टावर निर्माण आइतबारबाट फेरि सुरु हुने भएको छ।
२०७२ सालमै तीन वर्षमा उक्त भवन बनाइसक्ने सम्झौता भएको थियो। यो समयावधि भदौ ६ मा सकिएको छ। निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले विभिन्न समस्या देखाउँदै जगसमेत खन्न भ्याएको छैन।
आइतबारबाट फेरि उसैले निर्माण सुरु गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ।
‘कम्पनीसँग हिजो मात्र कुरा भएको थियो। उहाँहरूले अर्को पार्टनरसँग मिलेर भए पनि आफैं बनाउँछु भन्नुभएको छ,' महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'अर्को साताबाट काम थाल्नुहुन्छ।’
त्यसपछि यसको निर्माण पाँच वर्षमा सकिने उनले जानकारी दिए।
म्याद सकिँदा पनि काम नसक्ने कम्पनीलाई केही कारबाही हुन्न भन्ने हाम्रो प्रश्नमा प्रवक्ता कार्कीले भने, ‘हामीलाई घाटा हुने होइन। घाटा भए पनि नाफा भए पनि उनीहरूलाई नै हो। हामीलाई चाहिएको भ्यू टावर हो। उसले बनाउँछु भनेकै छ। बुझाउनुपर्ने राजश्व पनि बुझाएकै छ। ढिला गर्नु त नेपालको परम्परै हो।’
प्रवक्ता कार्कीको यो भनाइ तर्कसंगत छैन।
महानगरले सार्वजनिक छलफल र जनताको आवश्यकताविनै सुरू गरेको यो भ्यू टावरबाट नाफा हुने व्यापारीलाई मात्र हो। यति महत्वपूर्ण स्थानमा बन्ने व्यापारिक कम्प्लेक्स ३० वर्ष निजी क्षेत्रले उपभोग गर्न पाउनेछ। यसबाट सर्वसाधारण जनतालाई कुनै लाभ छैन।
बरु योजना जति ढिला हुँदै गयो, त्यसको घाटा सर्वसाधारणलाई नै छ।
कसरी?
काठमाडौं महानगरले भ्यू टावर बनाउने नाममा त्यहाँको बसपार्क टुँडिखेलको खुलामञ्चमा सारेको छ। यही भवनमा दुईतले भूमिगत बसपार्क बनाउने भनेको छ.भ्यू टावर बनेपछि बल्ल बसपार्क सञ्चालनमा आउनेछ। अर्थात्, जबसम्म यो भवन निर्माण पूरा हुँदैन, टुँडिखेलमाथि महानगरको अतिक्रमण जारी रहन्छ।
तोकिएको म्यादमा काम सकिएको भए अहिलेसम्म भ्यू टावर बनिसक्थ्यो। बसपार्क पनि टुँडिखेलबाट उता सरिसक्थ्यो। अझै कति समय यो भवन बन्नेवाला छैन। त्यतिञ्जेल मध्य-काठमाडौंको यति ठूलो सार्वजनिक स्थान सर्वसाधारण जनताले उपभोग गर्न पाउने छैनन्।
ठेकेदारको लापरबाहीले जनता सार्वजनिक सम्पति उपभोगबाट वञ्चित हुन्छन् भने त्यो घाटा नै हो। महानगरले यसको भर्पाइ कसरी गर्छ त्यसको हिसाब छैन।
कम्पनीले ठेक्का सम्झौताअनुरुप वार्षिक ९८ लाख ३४ हजार रुपैयाँ महानगरमा बुझाउँदै आएको छ। यो तीन वर्षसम्म भवन बनाउँदाको जग्गा भाडा हो। बनेपछि वार्षिक २ करोड ७० लाख महानगरलाई दिने सम्झौतामा उल्लेख छ।
‘महानगरसँग अर्बौंको सम्पत्ति हुने, राजस्व बढ्ने र पर्यटकलाई पनि काठमाडौं अवलोकन गर्न ठाउँ हुने देखेर हामीले भ्यू टावरको अवधारणा अघि बढाएका हौं,’ प्रवक्ता कार्कीले भने, ‘काठमाडौं नियाल्ने एक मात्र धरहरा भत्किएपछि यसको महत्व बढेको छ। हामी जसरी पनि बनाउँछौं।’
यहाँ पनि उनको तर्क मिल्दैन।
भुइँचालोमा भत्किएको धरहरा बन्ने अब पक्कापक्की भइसकेको छ। पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउन टेन्डर खोलिसक्यो। त्यसपछि यो भ्यू टावरको उपयोगिता सपिङ कम्लेक्सबाहेक केही हुन्न। यो भनेको शुद्ध रूपमा सार्वजनिक सम्पत्ति व्यापारीलाई पोस्नु मात्र हो।
२०६८ असार २६ को नगर परिषद बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसा क्षेत्रफलको पुरानो बसपार्कमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित गरेको थियो। त्यसै वर्ष चैतमा ठेक्का आह्वान भयो। आठ कम्पनीले टेन्डर हाले। सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर, स्वच्छन्द र बिकोइ बिल्डर्स प्रालिले ठेक्का पाएको थियो।
महानगरपालिकाले २०७१ फागुन २२ गते कम्पनीसँग सार्वजनिक–निजी साझेदारी मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता गर्यो।
टावर निर्माण सुरुदेखि नै विवादित छ।
ठेकेदारसँग २९ तलाको सम्झौता भए पनि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो भवन बनाउन नमिल्ने बतायो। २०७२ भदौमा महानगरले पनि १२ तले भवनको नक्सा पास गर्यो। त्यसै वर्ष कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले टावर शिलान्यास गरे।
शिलान्यास त भयो, तर ठेकेदार कम्पनीले विभिन्न समस्या देखाउँदै जग हाल्ने कामधरि पूरा गर्न सकेन।
म्याद गुज्रिँदासम्म निर्माणस्थल छड, रोडाको थुप्रो र झारले घेरिएको छ। निर्माणस्थल वरपर टिनले ढाकिएको छ। टावरको काम अघि नबढेकाले टिनले बनाएको गेटमा ताला झुन्डिएको छ।
अर्कातिर, १२ तलाको मात्र नक्सा पास भए पनि ठेकेदारलाई २९ तलाकै भवन बनाउन भनिएको छ। त्यसैअनुरुप जग खनिएको महानगरको सार्वजनिक–निजी साझेदारी शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए।
‘पहिला नै २९ तलाको बनाउने निर्णय भएको थियो। भूकम्पका कारण सरकारले मापदण्ड परिवर्तन गर्यो,’ काफ्लेले भने, ‘उद्देश्य नै दृश्यावलोकनसहित पर्यटकलाई काठमाडौंबारे जानकारी गराउने भएकाले १२ तला बनाएर के गर्नु? २४ र २५ तलासम्म बिजनेस र त्योभन्दा माथि दृश्यावलोकनका लागि बनाउने हो। सबैतिरबाट ओके भनेर आइसक्यो। मन्त्रिपरिषदबाट मात्र पास हुन बाँकी छ।’
भवन निर्माण छिटो सक्न कम्पनीले आइडिया फोर नेपाल र मिग नेपाल प्रालिलाई पनि सहभागी गराउने भएको छ।
दुई नयाँ कम्पनीसँग लगानी सम्झौता भएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका सञ्चालक मनोज भेटवालले बताए। ‘यो आयोजना छिट्टै सिध्याउन हामीले अर्को पार्टनर ल्याएका हौं,’ उनले भने, ‘निर्माण सामग्री अभाव भएर मात्र हो। होइन भने हामीले यो सताबाटै काम अघि बढाउने थियौं।’
यो टावर २९ तलाको बनाउने लक्ष्य राखिएको छ। अहिलेलाई १२ तला निर्माण गरेर थप्दै जाने उनले बताए।
आयोजनामा दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारी अटाउने छ। भुइँतलामा मोटरसाइकल पार्किङ बनाउने योजना छ। पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेक्स र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ।
त्यस्तै, बैक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय पनि हुनेछन्। टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण गरिने बताइएको छ।