मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन्। डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन्- मेरा श्रीमानलाई ४/५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लिए।
उनको फोनपछि प्रहरीले अपहरणमा परेका भनिएका डाक्टरको हुलिया राजमार्गदेखि सीमा सुरक्षामा खटिएका प्रहरीलाई जानकारी गरायो।
अपहरित डाक्टर खोज्न चारैतिर प्रहरी परिचालित भयो। रातको २ बजेसम्म प्रहरीले राजमार्गमा गुड्ने गाडीदेखि सीमानामा खोजी थालियो। तर उनी कतै भेटिएनन्।
प्रहरीले उनको हुलिया लिएर सर्लाहीमा पनि खोजी गर्यो। राति २ बजे नवलपुरमा म २ प ८२८६ नम्बरको मोटरसाइकलको पछाडि बसेका व्यक्तिसँग उनको हुलिया मिल्यो।
सुरूमा त उनले प्रहरीसँग आफ्नो परिचय लुकाउन प्रयास गरे। केही समय उनले आफू त्यो मान्छे नभएको जिकीर गरे। उनले भाग्न पनि प्रयास गरे। प्रहरीले सोधे- तपाईंकी श्रीमतीले अपहरणमा परे भन्दै फोन गर्नु भएकोछ।
उनले भने- त्यो गलत खबर हो म काममा हिँडेको हुँ। प्रहरीको लामै केरकारपछि अपहरणमा परेका भनिएका डाक्टर उनै भएको पुष्टि भयो। नवलपुर प्रहरीले उनलाई लहान प्रहरीको जिम्मा लगायो।
अहिले डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।
‘उहाँकी श्रीमतीले श्रीमान अपहरणमा परे भन्दै प्रहरीमा खबर गर्नुभयो,’ एसपी श्रेष्ठले भने, ‘ प्रहरीसँग डाक्टरले आफूखुसी हिँडेको र कसैले अपहरणमा नगरेको बताउनुभएको छ। हामी अनुसन्धान गर्दैछौं।
अपहरणमा परेका भनिएका डाक्टर प्रेमिका भेट्न हेटौंडा जान लागेको प्रहरी अनुधानबाट खुलेको छ। प्रहरीका अनुसार उनी केही महिनाअघिसम्म हेटौंडास्थित एक सहकारी अस्पतालमा काम गर्थे। अस्पतालमै एक युवतीसँग उनको प्रेम गाँसियो।
त्यो कुरा परिवारलाई थाहा भयो र उनलाई हेटौंडाबाट लहान लगियो।
प्रेमिका भेट्न उनले अपहरणको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।