नेपाली गीत सुनिराखेकाले पनि विक्रम गुरुङलाई हत्तपत्त धेरैले चिन्दैनन्। ६१ वर्षे विक्रमले लेखेका र संगीत दिएका जम्मा तीनवटा गीत रेकर्ड भएका छन् र, तीनवटै अरुण थापाले गाएका हुन्।
रेकर्ड भएको पहिलो र दोश्रो गीत नेपाली संगीतकै मानक व्यक्तित्व अरुणकै पहिलो र दोश्रो गीत थियो।
‘कतै टाढा तिमीबाट पुगेँ भने’ र ‘आँखाको निँद खोसी लाने’।
अनि तेश्रो गीत थियो, केहीपछि अरुणले नै गाएका, ‘भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा, मिठो लाग्दैन विपनी’।
‘मेरो चौथो गीत रेकर्ड नभए पनि सांगीतिक ब्याण्ड नेपथ्यले एक वर्षयता घन्काउँदै आएको छ,’ विक्रम भन्छन्, ‘चालीस दशक प्रारम्भतिरै कीर्तिपुरमा एमए गर्दा तयार पारेको ‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन’ बोलको गीत अहिलेका युवा पुस्ताले मनपराएको सुन्दा खुसी लाग्छ।’
वाह!
जम्मा चार वटा गीत। अनि चारवटै यस्ता!
हङकङमा जीवन बिताउँदै आएका विक्रमले अरु गीत लेखेनन्? संगीत दिएनन्?
‘थुप्रै लेखेको थिएँ,’ विक्रम भन्छन्, ‘तर, जुन अरुणका निम्ति भनेर लेखेँ उसले नै दुनियाँ छाडेर गइदियो।’
ती गीत कहाँ छन्?
‘मसँगै छन्,’ विक्रमले हङकङबाटै सेतोपाटीसँग भने, ‘यही आइतबार जीवनमा पहिलोपटक हङकङमा एकल कन्सर्ट गर्दैछु। त्यहीँ सार्वजनिक हुनेछन्।’
कहिलेकाहीँ नेपाल आएका बेला भेटिने विक्रमलाई गत वर्ष हङकङमा उनको परिवेशमै भेट्ने र साथै घुम्ने मौका मिलेको थियो। जति मित्रवत थिए, उत्तिनै ‘मुड’ मा बस्ने र संकोच मान्ने। सकभर ‘मिडिया अटेन्सन’ नरुचाउने।
आधुनिक नेपाली संगीतको मजबुन बुझ्ने धेरैका ‘विक्रम दाइ’ यो साता उनको कन्सर्टकै सेरोफेरोमा बसेर खुल्न तयार भए।
विक्रमको सांगीतिक जीवनको पर्दा खुलेको थियो, २०३४ सालमा।
त्यो वर्ष भर्खरै पोखराका तन्नेरीहरूले ‘पोखरेली युवा सांस्कृतिक परिवार’ खोलेका थिए। गायक सरोजगोपाल अध्यक्ष, लेखक सरुभक्त सचिव रहेको कार्यसमितिमा उपसचिव थिए विक्रम।
त्यसको एक वर्षअघि जस्तो नेपाल बैंकमा क्षेत्रीय प्रमुख भएर एक जना मान्छे पोखरा आएका थिए। ती प्रमुखका छोराले असाध्यै मिठो गीत गाउने चर्चा सहरमा फैलिसकेको थियो।
‘त्यो बेला पोखरा कत्रो थियो र?’ विक्रम सम्झन्छन्, ‘सबैले सबैलाई चिन्थ्यौं।’
यस्तोमा विक्रमकै एक जना नाता पर्ने दाइसँग संगत रहेका ती ‘मिठो गाउने तन्नेरी’ अर्थात् अरुण थापाको दोस्ती बढ्दै गयो।
यस्तै अवस्थामा खुलेको पोखरेली युवा सांस्कृतिक परिवारले एउटा भव्य कार्यक्रम आयोजना गर्ने भयो।
सबै जना धमाधम तयारीमा जुटे।
‘मैले ‘कतै टाढा’ र 'आँखाको निँद खोसी लाने’ त्यति बेलै तयार पारेको थिएँ,’ विक्रम सम्झन्छन्, ‘त्यसैगरी विनोद गौचनले अरुणकै अर्को चर्चित गीत ‘जति माया लाए पनि’ त्यही कार्यक्रमको निम्ति तयार पारेको थियो।’
दूर्भाग्य कस्तो भने त्यो कार्यक्रममा यी तीनवटै गीतले ठाउँ पाएनछन्।
‘नाटक, प्रहसन, गीत र नृत्यको ताँती लागेको कार्यक्रममा यी गीत छनौटमा परेनन्,’ विक्रमले भने, ‘मेरो ‘विरह चलेजस्तो लाग्छ’ र विनोदको ‘यो ज्यानलाई पर्नु पीर परेको छ’ मात्र प्रस्तुत भएको थियो।’
पोखराको मञ्चमा ठाउँ नपाए पनि त्यस कार्यक्रमलगत्तै रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा अरुण र विक्रमको गीत रेकर्ड भयो। रेडियोमा रेकर्ड हुने उनीहरूको पहिलो गीत ‘कतै टाढा’ थियो।
यसरी २०३४ सालमा अरुण थापाको गायन यात्रा सुरु भएको विक्रम सुनाउँछन्।
त्यो गीत मनपराइयो र पाँच–छ महिनामै अरुणले रेडियोबाट फेरि अर्को 'डेट' पाएछन्।
‘त्यति बेला अरुणले मेरो अर्को गीत ‘आँखाको निँद खोसी लाने’ गाएको थियो,’ विक्रम भन्छन्, ‘सरोजगोपालको ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी’ बोलको राष्ट्रिय गानमा उसले सामूहिक स्वर दिएजस्तो त लाग्छ। तर, अरुणको दोश्रो एकल गायन पनि मेरै थियो।’
विक्रमले आफ्ना यी सिर्जनाबारे जानकारी दिइरहँदा मलाई अर्का महत्वपूर्ण संगीत हस्ती राम थापाको याद आयो।
१७ वर्षअघि बिबिसीले सर्वोत्कृष्ट गीतका रुपमा ‘ऋतुहरुमा तिमी, हरियाली बसन्त हौ’ चयन गरेको थियो। त्यति बेला म 'कान्तिपुर' दैनिकमा कला संवाददाता थिएँ। बिबिसीकै कारण उति बेला फेरि असाध्यै चर्चित गीतबारे बुझ्न त्यसका संगीतकार राम थापालाई भेटेको थिएँ।
थापासँग कुराकानी टुंगिने बेला मैले अन्तिम प्रश्न सोधेको थिएँ– ‘तपाईंले संगीत दिएको गीतबाटै दिवंगत अरुण थापाको फेरि यस्तरी चर्चा भयो। अरुणको तपाईंलाई सबभन्दा मनपरेको गीत पनि त यही होला?’
‘होइन,’ बबरमहलस्थित एउटा घरको कौसीमा थापाले मलाई चकित पार्दै भनेका थिए, ‘अरुणको मलाई मनपर्ने गीत अरूले नै बनाएको छ। त्यो हो- आँखाको निँद खोसी लाने।’
वास्तवमै गज्जबको शब्द र संगीतले सजिएको गीत छ यो–
‘आँखाको निँद खोसी लाने
हृदयको तरंग छेडी जाने
तिमीलाई के सजाय दिउँ?
कि, सधैंलाई बाँधी दिउँ?’
त्यो समय सम्झँदा विक्रम अहिले पनि 'नोस्टाल्जिक' हुन्छन्।
‘पोखरामा हामी नभेटिएको दिन हुँदैन थियो,’ भन्छन्, ‘पोखरेली युवा सांस्कृतिक परिवारबाहेक डाँफे कला मन्दिरतिर पनि गइरहन्थ्यौं।’
त्यो ताका अरुणले पोखरेली जमघटमा सबभन्दा बढी काठमाडौंमा स्थापित भइसकेका दीप श्रेष्ठ, भक्तराज आचार्य र नारायण गोपालका गीत गाउने गरेका थिए।
‘स्वरका हिसाबले त अरुणलाई म त्यति राम्रो भन्दिनँ,’ विक्रम थप्छन्, ‘तर, अरुणले गाउँदा हामीले रेडियोमा सुन्ने ओरिजिनल गायकले भन्दा बढी ‘फिल’ गराउँथ्यो।’
उनका अनुसार मिठोभन्दा पनि अरुणले गाउने गीत सलबलाउँथे जुन अरूको स्वरमा कमै महशुस हुन्थ्यो।
‘गीत सुन्ने भन्नेबित्तिकै अरुणको वरिपरि जम्मा भइहाल्थ्यौं,’ विक्रम भन्छन्, ‘त्यसपछि धित नमरुन्जेल सिलसिला चलिरहन्थ्यो।’
त्यो बेला पोखरामा चलेका गायक भनेको उही सरोजगोपाल मात्रै थिए। विक्रम र अरुण भने भर्खर पाइला चाल्न खोजेका।
‘अरुणले काठमाडौंको रेष्टुरेन्टमा दीप श्रेष्ठसँगै गाएको सन्दर्भ सुनाउँदा हामीलाई रमाइलो लाग्थ्यो,’ विक्रम भन्छन्, ‘हामीमा भएको अठोट अघि बढाउने उही पोखरेली युवा सांस्कृतिक परिवार थियो।’
जन्म र कर्म अन्तै भए पनि गायक अरुण थापालाई पोखराले नै जन्माएको विक्रम दाबी गर्छन्।
‘युवा सांस्कृतिक परिवार नै हाम्रो खुड्किलो थियो,’ उनले थपे, ‘जहाँ अरुणले पहिलो गीत गाए, सरुभक्तले पहिलो नाटक देखाए र विनोद गौचनले त्यहीँ पहिलो मञ्च पाए।’
पुग-नपुग चार वर्ष पोखरामा बिताएका भए पनि अरुणलाई पोखराकै भन्दा फरक नपर्ने विक्रम सुनाउँछन्।
पोखराकै तन्नेरी सर्जक सरस्वती प्रतिक्षा पनि भन्छिन्– ‘पोखराको कुरा गर्दा अरुण छुट्दैन। अरुणको कुरा गर्दा पोखरा छुट्दैन।’
यसरी पोखरामा घुलमिल भइरहेका अरुण एकदिन अकस्मात् हराए। जागिरे पिताकै पछि लागेर उनी २०३६ सालताका काठमाडौं फर्किए।
‘त्यसपछि हाम्रो सम्पर्कविच्छेद भयो,’ विक्रम सुनाउँछन्, ‘म पनि अन्नपूर्ण ब्यान्डतर्फ लागेँ।’
त्यो बेला अन्नपूर्ण ब्यान्ड पोखराको अर्को महत्वपूर्ण सांगीतिक टोली थियो। उसले कार्यक्रम देखाएरै अन्नपूर्ण स्पोर्ट्स क्लब सञ्चालन खर्च जुटाउँथ्यो।
यस्तोमा २०३७ सालताका विक्रमले जन्माएको अर्को गीत थियो– ‘भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा।’
‘पोखराकै स्टेजमा यो गीत पोखराकै भाइहरूले गाइरहन्थे,’ उनले थपे, ‘निकै पछि म काठमाडौं आएँ। अनि रेडियोमा यसको रेकर्ड भयो। अरुणकै स्वरमा।’
२०४० सालताका केटाकेटीदेखिका ‘लंगौटिया’ सरुभक्त र विक्रम साथसाथै पोखराबाट स्नातकोत्तर गर्न कीर्तिपुर आए। एकै ठाउँमा कोठा लिएर बसे। त्यो बेला पढाइबाट फुर्सद हुनेबित्तिकै उनीहरू गितार बोकेर जम्न सुरु हुन्थे। घरि कोठामा घरि विश्वविद्यालयका बगैंचामा।
अहिले नेपथ्यले गाइरहेको ‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन’ गीत त्यति बेलै सरुभक्तको शब्दमा आफूले तयार पारेको विक्रम सुनाउँछन्।
विक्रमका अनुसार त्यो समयका एक जना राम्रा संगीतकार थिए, पुरुषोत्तम सुब्बा। उनको संगीतमा प्रेमध्वजले गाइसकेका थिए। धेरै घुलमिल हुन नरुचाउने स्वभावका भएकाले पुरुषोत्तम उति धेरै बाहिर निस्किन्थेनन्।
‘कीर्तिपुरबाट म बेलाबेला पुरुषोत्तम दाइको सानेपास्थित घर गइरहन्थेँ,’ विक्रम भन्छन्, ‘विशेषगरी शनिबार हामी साथीहरूको जमघटै त्यहीँ हुन्थ्यो।’
झम्सिखेल घर भएका अरुण पनि बेलाबेला त्यहीँ मिसिन्थे।
‘अरुण काठमाडौं अर्थात् ठूलो ठाउँ र धेरै साथीका माझमा रमाउन थालिसकेको थियो,’ विक्रम सम्झन्छन्, ‘तर, जहिले भेट्दा पनि हाम्रो पोखरेली आत्मीयता दुवैले थुन्न सक्दैन थियौं।’
त्यो बेला अरुण थापाले अर्को गीतका निम्ति 'डेट' पाएका भए पनि गीत तयार थिएन।
‘अरुण छ–आठको बिटमा गाउने गीत खोजिरहेको थियो,’ विक्रम भन्छन्, ‘तर, पाएको रहेनछ।’
यस्तोमा विक्रमले एक दिन पुरुषोत्तम सुब्बाकै घरमा ‘भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा’ गाएर सुनाइ दिएछन्। अरुण असाध्यै प्रभावित भए।
‘रेडियोमा डेट तयार भएकाले उसले यो गीत रेकर्ड गराइहाल्ने इच्छा सुनायो,’ विक्रम भन्छन्, ‘मैले पनि सहमति जनाएँ।’
२०४१ सालतिर रेकर्ड भएको यो नै विक्रमको अन्तिम गीत बन्यो। अरुणसँग पनि र रेडियोसँग पनि।
‘त्यसपछि अरुणका व्यक्तिगत वियोगहरूले उसलाई अर्कै बाटोमा लैजान थाल्यो,’ विक्रम भन्छन्, ‘मेरो साथी देख्दादेख्दै पर-पर भयो। केही वर्षमा त सबैलाई छाडेरै गयो।’
आफूले अरुणका निम्ति भनेर तयार पारेका गीत त्यसपछि अरू कसैलाई नदिएको विक्रम सुनाउँछन्।
अरुणले लागूऔषध लतमा लागेर बाटो बिराएकैताका विक्रमले पनि नेपाल छाड्ने निधो गरे। सांगास्थित दीपेन्द्र प्रहरी स्कुलका शिक्षक विक्रम त्यसपछि शिक्षण पेसालाई निरन्तरता दिँदै हङकङ पुगे।
यहाँनिर आउँछ हामीले चिनिरहेका एक लेखक कुमार नगरकोटीको सन्दर्भ।
‘दीपेन्द्र प्रहरी स्कुलमा म छ कि सात कक्षामा पढ्थेँ,’ नगरकोटी सम्झन्छन्, ‘त्यति बेला हामीलाई अंग्रेजी पढाउने र बेलाबेला गितार बजाएर गीत सुनाउने मेरो जीवनकै मनपरेका एक जना शिक्षक थिए जो एकाएक हराए।’
कालान्तरमा ती शिक्षकको हालखबर नगरकोटीले चर्चाकै हिसाबबाट फेरि सुन्ने मौका दुई-तीन वर्षअघि पाए। नगरकोटीको पुस्तक ‘फोसिल’ कालिकास्थानस्थित ‘पब्लिकेशन्स नेपालय’ ले छाप्दै थियो। नेपालयले नै नेपथ्य ब्यान्ड पनि व्यवस्थापन गर्छ।
त्यतिबेलै एउटा गीत ‘कुरुप अनुहार हो’ नेपथ्यले तयार पार्दै थियो।
‘पछि सुन्दै बुझ्दै जाँदा त त्यो गीत मेरो बाल्यकालमा अचानक हराएका तिनै गुरुको पो रहेछ,’ नगरकोटी भन्छन्, ‘यसरी मलाई सर्वाधिक प्रभाव पार्ने शिक्षकको उत्खनन भएको थियो।’
सन् १९८९ मा आफू कुनै विशेष तयारीविनै हङकङ आएको विक्रम सुनाउँछन्।
‘अहिले पोखरामै स्कुल चलाएर बसेको मेरो मिल्ने साथी रत्नमान गुरुङले हङकङको स्कुलका लागि एउटा पोजिसन खाली छ भनेर सुनाएको थियो,’ विक्रम सम्झन्छन्, ‘सुरुमा त मैले वास्ता गरेको थिइनँ।’
साथी रत्नमानले असाध्यै दबाब दिएपछि अन्तिम दिन मात्रै विक्रम निवेदन दिन राजी भए।
‘त्यसरी मन नलागी-नलागी दिएको निवेदन नै स्वीकृत भएछ,’ उनले थपे, ‘मलाई लैनचौरस्थित बेलायती दूतावासमा अन्तवार्ता निम्ति बोलाइहाले।’
त्यो बेला स्वास्थ्य परीक्षण गराउन धरानस्थित घोपा क्याम्प (हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) पुग्नु पर्थ्यो। विक्रम त्यसमा पनि पास भए।
‘१९८९ जनवरी १५ मा म काठमाडौंबाट हङकङ उडेको थिएँ,’ विक्रम भन्छन्, ‘त्यसयता सदाको निम्ति हङकङकै भएँ।’
विक्रम सुरुमा ‘सेकङ गोर्खा चिल्ड्रेन स्कुल’ को शिक्षक भएर पुगेका थिए। त्यसको तीन वर्षमै फेरि ब्रुनाइको ‘सेरिया गोर्खा चिल्ड्रेन स्कुल’ मा काम गर्ने मौका पाए।
‘नेपाल होस् वा हङकङ– म पहाड हेरेर रमाउने मानिस,’ विक्रम भन्छन्, ‘ब्रुनाइमा पहाड नदेखिएपछि निस्सासिएजस्तै भएँ। विरक्तिएँ। फेरि हङकङ नै आएँ।’
त्यसपछि केही समय हङकङकै ‘तामे गोर्खा चिल्ड्रेन स्कुल’मा पढाए। त्यहाँ दुई वर्ष काम गर्दागर्दै उनलाई पुरानै ‘सेकङ गोर्खा’ ले बोलायो। उनी उतै गए।
पछिल्लो समय विक्रमले हङकङस्थित ब्रिटिस काउन्सिल र एउटा जापानी स्कुलमा अंग्रेजी गुरु भएर बिताए।
‘एक महिनाअघि अवकाश लिएर बल्ल फुर्सदमा बस्न थालेको थिएँ,’ विक्रम भन्छन्, ‘त्यही मेसोमा यो कन्सर्ट गर्न लागेको हुँ।’
हङकङस्थित ‘भेट्रान ग्रुप’ ले आयोजना गर्न लागेको विक्रम गुरुङको कन्सर्टको नाम छ– ‘मेरो संगीत यात्रा’।
खासगरी पोखरा र अन्तका पनि नेपाली मिलेर खडा गरिएको संस्था हो ‘भेट्रान ग्रुप’। हङकङमा सामाजिक भलाइनिम्ति सक्रिय त्यस समूहले नेपालमा भुइँचालो गएका बेला पनि थुप्रै सहयोग जुटाएको विक्रम सुनाउँछन्।
केही दिनअघि मात्र समुद्री आँधीले हङकङका सडकमा ढलेका रुख पन्छाउने र सफा गर्ने काममा पनि त्यो समूह लागेको थियो। त्यसैगरी संगीतमा लागेकालाई सघाउने उनीहरूले नेपथ्यको ‘छेक्यो छेक्यो’ गीतका रचयिता शुक गुरुङलाई मिर्गौला रोग उपचारमा पनि बारम्बार सघाउँदै आइरहेको छ।
‘तिनै भाइहरूले दुई वर्षअघि मलाई हङकङमा मेरो एउटा कन्सर्ट गर्ने चाहना सुनाएका थिए,’ विक्रम भन्छन्, ‘त्यति बेला म पढाउनमै व्यस्त भएकाले तत्काल निर्णय दिन सकिनँ।’
तर, पछि विक्रमले ‘हुन्छ’ भनिदिए।
हङकङका नेपालीहरू अहिले त्यही कार्यक्रमको प्रतिक्षामा छन्।
सेप्टेम्बर २३ अर्थात् आइतबार योमातेको हेनरी जे लियोङ कम्युनिटी हलमा विक्रम गुञ्जिने छन्।
छ सयभन्दा बढी दर्शक क्षमता भएको त्यस हलमा गएको साता नै विक्रमको कन्सर्ट तय थियो। समुद्री आँधीका कारण अन्तिम समयमा रद्द भयो।
‘त्यो बेला नेपालबाट मेरो केटाकेटीदेखिकै साथी सरुभक्त र किरण (अरुण थापाका भाइ) आउन प्लेन चढ्न मात्र बाँकी थियो,’ विक्रम भन्छन्, ‘समुद्री आँधीले रोकिदियो। अब सरुभक्त पारिवारिक कारणले नभ्याउने भएका छन्।’
यसो भनिरहँदा विक्रम खिन्न थिए।
कार्यक्रममा वाद्यवादनतर्फ विक्रमका ‘अन्नपूर्ण ब्यान्ड’ कालीन साथी अमर पोखरेली र बाँसुरीवादक बलराम समाल नेपालबाटै हङकङ पुगिसकेका छन्। बाँकी वाद्यवादक भने हङकङकै ‘इस्ट लाइफ’ ब्यान्डका सहकर्मी छन्। नेपथ्यका संस्थापक भीम पुनसहितको टिमले चलाएको ब्यान्ड हो यो।
विक्रमको कन्सर्टमा भीम पनि रहने छन्। त्यसैगरी हङकङकै चार जना व्यावसायिक भायोलिनवादकलाई यो कार्यक्रमनिम्ति लिइएको विक्रमले सुनाए। स्टेजमा यी सम्पूर्ण टिमलाई हाल हङकङमै बस्ने कुनै समयका चर्चित नेपाली गायक दिनेश सुब्बाले 'कन्डक्ट' गर्नेछन्।
करिब १५ वटा गीतको तयारी गरिरहेका विक्रमले अरुण थापाद्वारा गाइएका गीत भने हङकङकै नेपाली गायकलाई गाउन लगाउने छन्।
‘बाँकी आफैं गाउँछु,’ उनले भने, ‘त्यसमा अरुणको निम्ति भनेरै तयार पारेका दुइटा गीत पनि हुनेछन्।’
हङकङमा ब्रिटिस सेना भंग भएपछि विक्रम बीचमा त्यो गीत लिएरै अरुणलाई गाउन लगाउन नेपाल आएका थिए। तर, अरुणले संसारै छाडिदिए।
अब त्यही सम्झना बोकेर त्यो गीत आइतबार पहिलोपटक हङकङमा गुञ्जिनेछ।
हङकङमा आधिकारिक तथा अन्य तवरबाट बसोबास गर्ने नेपालीको संख्या तीस हजारभन्दा बढी रहेको बताइन्छ।
हङकङको कार्यक्रम सकिएपछि आफू नेपाल आएर अवकाश समय सदुपयोग गर्दै गीत रेकर्ड गर्ने र कार्यक्रम पनि प्रस्तुत गर्ने योजनामा रहेको विक्रमले सुनाए। उनका अनुसार त्यो कार्यक्रमलाई लिएर प्रारम्भिक चरणको कुराकानी पनि सुरु भइसकेको छ।