नरसिंह व्यञ्जनकार ७८ वर्षका भए।
यो उमेरसम्म मान्छेको जिन्दगीमा आनका तान परिवर्तन आइसक्छ। कति त आफ्नो व्यस्त दिनचर्याबाट सुस्ताइसकेका हुन्छन्। नियमित कामबाट अवकाश लिइसक्छन्। कति पदोन्नति हुँदै माथिल्लो तहमा पुग्छन् र अर्कै प्रकृतिको काम गर्न थाल्छन्।
नरसिंहको विशेषता के भने, उनले जिन्दगीको आधाभन्दा बढी समयदेखि एकनासको दिनचर्या बिताइरहेका छन्।
ललितपुरको कुपण्डोलदेखि यता नारायणी होटलसम्म र उता चाकुपाट हुँदै कृष्णगल्लीसम्मको क्षेत्रमा ओहोरदोहोर गर्दै उनको जिन्दगीको ४६ वर्ष बितिसक्यो। लगभग यो आधा शताब्दीमा यो क्षेत्रको स्वरूप कति फेरियो होला। उनी भने अहिले पनि उही काममा तल्लीन छन्। उही दिनचर्यामा व्यस्त छन्।
नरसिंह ललितपुर, वडा नम्बर १० का अध्यक्ष हुन्। उनले यो वडाको नेतृत्व सम्हालेको दसौंपल्ट हो। र, दसैपल्ट उनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका हुन्।
पछिल्लो स्थानीय तह निर्वाचनमा उनी आफ्नो उमेरका कारण पन्छिन खोजेका थिए। वडाबासीले जबर्जस्ती उठाएर जिताइदिएको उनी बताउँछन्।
यो वडामा दस हजारभन्दा बढी जनसंख्या छ। उनी हरेक दिन बिहान ७ बजे वडा कार्यालय पुगिसक्छन्। दिनभरि के गर्ने, कहाँ जाने र क-कसलाई भेट्ने टुंगो लगाउँछन्। त्यसपछि खाना खान केही बेर घर जान्छन्। खाइवरी फेरि कार्यालय फर्कन्छन्।
हामी बुधबार बिहान ९ बजे उनको घर पुगेका थियौं। उनी बिहानै वडा कार्यालयमा दिनभरिको कार्यसूची बनाएर, घर आएर, खाना खाएर फेरि जाने तर्खरमा थिए।
हामीले सोध्यौं, 'आजलाई के-के कार्यक्रम बनाउनुभयो?'
‘टोलको एक फन्को नमारी चित्त बुझ्दैन। त्यो त नियमितै भइहाल्यो,' उनले विस्तार लगाए, 'बिहान तीन-चार जना साथीहरु वडामा आउनुभएको थियो। गफगाफ गरेँ। उहाँहरूको एक-दुइटा काम रहेछ। अह्राइपराई गरेँ। अब काठमाडौंबाट आउने एउटा टोलीलाई भेट्नुछ। बागमतीमा बुद्धको मन्दिर बनाएको छ। त्यसको उद्घाटन कसले गर्ने भन्नेबारे छलफल छ।’
यसबाहेक आफ्नो स्वास्थ्य जाँच गराउन पनि जानुपर्ने उनले बताए।
'यो उमेरमा पनि कति खट्न सक्नुहुन्छ है!'
‘इच्छाशक्ति सबैभन्दा ठूलो रहेछ,’ उनका छोरा कुमार व्यञ्जनकारले भने, ‘जनताको काममा दौडिन पाए अरू केही चाहिन्न। कहिलेकाहीँ ९ बजे मात्र अफिस जानू भन्दा मान्नुहुन्न। ६ बजे नै घरबाट निस्किसक्नु हुन्छ। रातदिन केही भन्नुहुन्न।’
हामी परिवारसँग कुराकानी गरिरहँदा उनी कार्यालय जान हतार मान्दै थिए।
'सधैं यस्तै हतार हो?'
पत्नी नानीछोरीले जवाफ दिइन्, ‘कुरै नगर्नुस्। घरमा कहिल्यै बस्नुहुन्न। पहिल्यैदेखि यस्तै हो। घरमा के छ? के छैन? बालबच्चाको के छ? आमाबुवालाई कस्तो छ? कहिल्यै हेर्नुभएन।'
७३ वर्षकी नानीछोरीको जवाफमा गुनासो पनि मिसिएको थियो, माया पनि।
‘अस्ति चार दिन बिरामी पर्नुभयो। ठीक हुनेबित्तिकै कुदिहाल्नुभयो,' उनले थपिन्, 'न खानको मतलब, न आरामको। खाना र खाजा बेला घर आउनुस् भनेको, कहिल्यै मान्नुभएन।'
'सुगर छ। बाहिर जे पायो त्यही खान हुन्न। मान्ने भए पो,’ उनले दिक्क मान्दै भनिन्।
पहिले पहिले उनी खुब कराउँथिन्। कराउँदा-कराउँदा थाकिसकिन्। जे भने पनि उनी ‘हुन्छ’ भन्छन्, फुत्त निस्किदिन्छन्। जति रिसाए पनि कुनै उपाय नलागेपछि अचेल चुप्पै बस्छिन्। भन्छिन्, ‘रिस उठेर के गर्ने? खुस उठेर के गर्ने? आफ्नो रिस आफैंलाई।'
दुई छोरा र चार छोरीका पिता व्यञ्जनकार घरको काममा जति बेपरवाह भए पनि वडाबासीले दिएको इज्जतले सबै बिर्साइदिने नानीछोरी बताउँछिन्।
'उहाँको यही त्याग र समर्पणले होला, दसचोटि भयो चुनाव लडेको, कहिल्यै हार्नुभएन,' उनले भनिन्।
नरसिंहको विजय यात्रा सुरू भएको २०२९ सालबाट हो। त्यस वर्ष कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई उनले हराइदिएका थिए। त्यो पनि स्वतन्त्र उम्मेदवारकै रूपमा।
त्यसयता यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका छैनन्। न वडाबासी नै यो जिम्मेवारी अरूलाई सुम्पन चाहन्छन्।
लगभग आधाजसो चुनाव त उनले निर्विरोधै जिते। कसैले उनको विपक्षमा उभिने हिम्मतै गरेनन्। कसैले चुनौती दिन खोज्दा पनि नराम्ररी पछारिए।
राजनीतिमा आउनुअघि उनी नारायणहिटीमा निर्माणको काम गर्थे। त्यति बेला यो वडाका अध्यक्ष थिए, देवेन्द्रलाल अमात्य।
स्थानीय निर्वाचनको मुखैमा एकदिन अमात्यले कुपण्डोलका केही तन्नेरीलाई प्रहरी लगाएर थुनाइदिने कुरा गरेछन्। यही झोँकमा व्यञ्जनकारले उनीविरूद्ध वडाध्यक्षमा खडा हुने घोषणा गरिदिएछन्।
२०२९ सालको त्यो चुनावमा अमात्यलाई लगभग दुई गुणा बढी मत ल्याएर उनले पराजित गरिदिए। त्यसपछि कुनै स्थानीय चुनाव छाडेनन्, हार्दा पनि हारेनन्।
पञ्चायतका यी वडाध्यक्षको लोकप्रियता कतिसम्म थियो भने, बहुदललगत्तै २०४९ को चुनावमा नेपाली कांग्रेसले टिकट दियो। उनी निर्विरोध वडाध्यक्ष भए। लगत्तै २०५४ को चुनावमा कांग्रेसले टिकट दिएन। वडाबासीले उनलाई स्वतन्त्र उम्मेदवार बनाए। त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।
कांग्रेसकाहरू उनलाई गणेशमान सिंहका निकट मान्थे। कम्युनिस्टहरू मनमोहन अधिकारीसँग निकट छन् भन्थे। खासमा उनको निकटता जनतासँग थियो।
उनको अर्को विशेषता, अरू उम्मेदवार चुनाव प्रचारमा पैसा बगाइरहँदा उनी माइकिङ, पोस्टर केहीमा खर्च गर्दैनन्। आफ्नो चुनावचिह्न भएको एउटा सानो कागज बोक्छन्। सबै वडाबासीको घरघरै गएर भोट हाल्न आग्रह गर्छन्।
यो अपराजित यात्राको पछाडि कहीँ न कहीँ परिवारका सदस्यले भनेजस्तै टोलबासीका निम्ति उनको लगन र समर्पण नै जिम्मेवार छन्।
घरमा परिवारका सबै सदस्यको गुनासो सुनेपछि नरसिंहले जवाफ दिए, ‘घरकाले गुनासो गरेर केही हुन्न, जनताको गुनासो नहोस्।'
अगाडि थपे, 'घरमा राम्रो गर्ने कमैले मात्र बाहिर राम्रो गर्न सक्छ। बाहिर राम्रो गर्ने कमैले मात्र घरमा राम्रो गर्न सक्छ। घरमा भन्दा बाहिर राम्रो हुनुपर्छ जस्तो लाग्छ मलाई त।’
उनको यो तर्क छुट्टै बहसको विषय हुन सक्ला। तर, यसैको जगमा उभिएर उनी दसौंपटक वडाध्यक्ष चलाउन सफल छन्।
'म वडाभित्र भइरहेका सबै गतिविधि नियाल्छु। राम्रोलाई प्रोत्साहन गर्छु। नराम्रोलाई हतोत्साहित। जनताको सेवा गर्न आइसकेपछि दायाँबायाँ गर्नु हुँदैन,' उनले भने।
स्थानीय फ्रेन्ड्स क्लबका संस्थापक अध्यक्षसमेत रहेका उनी युवा पुस्तामा पनि लोकप्रिय छन्। क्लबको भवन बनाउनेदेखि अध्यक्षका रूपमा फुटबलको उत्थान गर्नेसम्म उनको योगदान छ। स्थानीयबासी उनको यो योगदानको कदर गर्छन्।
हामीले उनलाई सोधेका थियौं, 'दस-दसपल्ट वडाध्यक्ष जित्नुको कारण के होला?'
‘पानीमा लेख्ने अक्षर र ढुंगामा लेख्ने अक्षरमा फरक हुन्छ कि हुँदैन?’ उनले प्रश्न गरे। फेरि भने, ‘मैरै काम त्यस्तै हो। सबैमा पारदर्शिता हुन्छ। महिला, पुरुष जोसुकै आऊन्, राम्रो काम गर्नेका लागि सधैं साथ हुन्छु। वडाबासीको काम परे जतिखेर जहाँ भए पनि पुग्छु। त्यसैले कोही पनि जनता मसँग असन्तुष्ट छैनन्। कसैले औंला उठाएका छैनन्।'
काठमाडौंसँग जोडिएको यो ललितपुरको सीमावर्ति वडालाई 'भव्य र सभ्य' बनाउनु आफ्नो नयाँ जिम्मेवारी भएको उनले बताए।
भनेजस्तो काम गर्न नपाएको उनी स्वीकार गर्छन्। ‘एक वर्ष त्यत्तिकै बित्यो। सुरुआती दिनमा गर्ने भनेर सोचेका काम पूरा हुन सकेनन्,' उनले भने।
'तपाईंजस्तो अनुभवीलाई पनि के को अप्ठ्यारो पर्यो?' हामीले सोध्यौं।
‘खै र स्थानीय तहलाई अधिकार दिएको?' उनले स्थानीय तहका समस्या औंल्याए, 'गाउँ गाउँमा सिंहदरबार भनेको छ, अधिकारजति सबै केन्द्रले पोको पारेर राख्या छ।’
यति हुँदाहुँदै विगतको अनुभवकै आधारमा यो एक वर्षमा सकेजति काम गरेको उनी सुनाउँछन्।
आफ्नो वडालाई फोहोरमैलामुक्त बनाउन यही असोज ६ देखि घरघरमा बाल्टिन बाँड्दै छन्। बागमती नदी सफाइका लागि सरकारसँग सहयोग लिँदैछन्। युएन पार्क व्यवस्थित बनाउने अभियानमा पनि छन्। दुई वर्षभित्र सबैले अनुभव गर्ने गरी वडा सपार्ने उनले प्रतिबद्धता व्यक्त गरे।
'म कुनै योजनाको ठेली बोकर स्थानीय सरकार हाँक्छु भनेर आएको होइन। न त्यस्तो कुनै आश्वासनै बाँडेको छु,' उनले भने, 'वडाध्यक्ष भएपछि वडाबासीको भलाइको काम गर्नुपर्छ, मलाई त्यत्ति थाहा छ।'
अर्को स्थानीय चुनाव उठेनन् भने कम्तीमा चार वर्ष उनको जिन्दगी त्यस्तै हुनेछ, जस्तो ४६ वर्षदेखि चल्दै आएको छ।
त्यतिबेलासम्म नरसिंह व्यञ्जनकार ८२ वर्षका हुनेछन्।