कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा दुई प्रहरी नायब उपरीक्षक(डिएसपी) सहित थप पाँच प्रहरीलाई निलम्बन गरिएको छ।
गृह मन्त्रालयका अनुसार भदौ ७ गते गठित समितिले शनिबार प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ। सोही प्रतिवेदनको सिफारिसमा निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई शनिबार नै निलम्बन गरिएको छ।
डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साउन १४ गते टोली पठाएको थियो। उनको टोलीमा गएका तीनै जना निलम्बनमा परेका हुन्।
यसअघि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका छन्। घटनाका बारेमा अनुसन्धान गर्न उनको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ।
गृहले गम्भीरतापूर्वक घटनाको अनुसन्धान भइरहेकाले अपराधी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।
निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनाको दुई महिना हुन लाग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै शनिबार देशभरि प्रदर्शन भएको थियो।