काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ।
मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ।
तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।
सिआरसिसीलाई सम्भाव्यता अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो। उसले तीन महिनामै सम्भाव्यता सकेको हो।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं र ललितपुर महानगरका प्रमुखहरू विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन उपस्थित थिए।
उनीहरूले सम्भाव्यता अध्ययनको प्रतिवेदन पढेर छिटै डिपिआरको पक्रिया थालनी गर्ने बताए।
सिआरसिसीले प्रतिवेदनमा आफू नै डिपिआरका लागि इच्छुक भएको उल्लेख गरेको छ। उसले ६ महिनामा डिपिआर सकिने पनि प्रतिवेदनमा उल्लेख गरेको छ।