काठमाडौंको रानीपोखरी देख्दादेख्दै सुक्यो। जानाजानी सुकाइयो। पुनर्निर्माण नाममा पोखरी स्विमिङ पुलजस्तै बनाउन खोजियो।
विवाद अझै सकिएको छैन। भत्केको साढे दुई वर्ष भइसक्यो, रानीपोखरी बन्ने छाँट छैन।
कहिले बन्ला?
निर्माण जिम्मा पाएका काठमाडौं महानगरपालिका र पुरातत्व विभाग दुवैसँग यसको जवाफ छैन।
यही रानीपोखरीबाट प्रभावित भएर भक्तपुरले तीन सय वर्षअघि ‘भाजु पोखरी’ बनाएको थियो। यो पोखरी तीन दशकअघि सुक्यो। भक्तपुर नगरपालिकाले यसलाई ब्यूँताउँदैछ। क्रंक्रिट हालेर होइन, परम्परागत शैलीमै।
सिद्धपोखरीबाट करिब १५ मिटर दक्षिणतर्फ छ भाजु पोखरी। यो करिब तीन सय वर्षअघि भागीराम प्रधानाङ्ग अर्थात् ‘भाजुकस’ ले निर्माण गरेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
उनका अनुसार भाजुकस राजा जितामित्र मल्लका प्रमुख व्यक्तिमध्ये एक थिए। उनैले आफ्नो कीर्ति राख्न पोखरी बनाएका हुन्।
सुरुआतमा पोखरीको नाम ‘भाजुया पुखु’ थियो। अपभ्रंस हुँदै भाज्या पुखु र भाजु पोखरी भएको हो।
‘त्यो बेला काठमाडौं उपत्यकामा सम्पदा बनाउने प्रतिस्पर्धा हुन्थ्यो। राजा प्रताप मल्लले बनाएको रानीपोखरीबाट प्रभावित भई भाजुकसले त्यस्तै शैलीमा भाज्यापुखु बनाउन लगाएको देखिन्छ,’ धौभडेलले भने, ‘मध्यभागसम्म जान मिल्ने शैलीका पोखरी उपत्यकाका तीनै सहरमा छन्। काठमाडौंको रानीपोखरी, ललितपुरको पिम्बहाल र भक्तपुरको भाज्यापुखु।’
भाजु पोखरी ३० रोपनीमा फैलिएको छ। यो सिद्धपोखरीजस्तो ‘सिरान पोखरी’ होइन। सहरको बाहिरी भागमा हुने पोखरीलाई सिरान पोखरी भनिन्छ। यसले जमिनको पानी रिचार्ज गर्छ। ढुंगेधारा र इनार रसाउँछन्।
सिरान पोखरीभन्दा तल बस्तीभित्र स–साना पोखरी हामी देख्छौं। यी पोखरी सामुदायिक काममा बढी प्रयोग हुन्छन्। बर्खाको पानीमा निर्भर हुने यस्ता पोखरीले बस्तीमा पानी जम्न दिँदैनन्। भिरालो भागमा भएको भाजु पोखरी त्यस्तै थियो।
पानी नअडिने र बर्खामा निर्भर हुँदा पोखरी करिब तीस वर्षअघि सुक्यो। त्यो बेला सिद्धपोखरीको हालत उस्तै थियो। दुवै पोखरीलाई घाँसले ढाक्दै गयो। फोहोर फाल्ने ‘डम्पिङसाइट’ बन्दै गए।
२०४८ सालतिर सिद्धपोखरी जिर्णोद्धारको पहल भयो। वर्षदिन लगाएर स्थानीयले आफ्नै बलबुतामा पोखरी ब्यूँताए। त्यही बेला भाजु पोखरी पनि ब्यूँताउन खोजिएको थियो। सफल हुन सकेन।
‘त्यो बेला बनाउन खोज्दा पोखरी बीचमा पुलजस्तो देखियो। पुरातत्व विभागले अनुसन्धान गर्नुपर्छ, त्यसै बनाउन मिल्दैन भन्यो। अनि काम पूरा भएन,’ सिद्धपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका कृष्णबहादुर डुकुजुले भने।
सिद्धपोखरी जिर्णोद्धार गरेको यही समितिको सहयोगमा भाजु पोखरी ब्यूँतिदैछ।
डुकुजुका अनुसार त्यो बेला विश्व बैंकले सभ्यता अध्ययन क्रममा सिद्धपोखरी अध्ययन गरेको थियो। त्यसमा ३ लाख रुपैयाँ छुट्इयाएको थियो। अध्ययन अनुसन्धानबाट २० हजार बच्यो। उपभोक्ता समितिले यही पैसा लिएर पोखरी वरिपरि इँट्टा छाप्यो। पाटी जिर्णोद्धार गर्यो। घाँसे मैदान सफा गर्न थप ३० हजार नगरपालिकाले दियो।
‘दुबोको चपरीजस्तो थियो। काट्दै, डोरी लगाउँदै, फाल्यौं। डेढ महिनामा सबै सफा भयो,’ डुकुजुले भने, ‘त्यसपछि खासाङखुसुङ खोलाबाट ५९ दिन लगाएर पोखरीमा पानी भर्यौं। पोखरी बनेपछि थरीथरीका माछा राख्यौं।’
अहिले बेलाबेला पोखरी मर्मतसम्भार हुन्छ। उनीहरुको राम्रो कामले भाजु पोखरी जिर्णोद्धार पनि समितिले नै पाएको डुकुजु बताउँछन्।
भाजु पोखरी जिर्णोद्धार गत तिहारपछि सुरु भएको हो। त्यसअघि पोखरी भुइँचालो पीडितको आश्रयस्थल थियो। नगरपालिकाले अन्य सम्पदासँगै पोखरी ब्यूँताउने निर्णय गर्यो। काम थाल्यो। करिब ९ महिनापछि यसले पोखरीकाे स्वरुप पाएको छ।
जिर्णोद्धारमा परम्परागत शैली अपनाइएको छ। पिँध र डिलमा कालो माटो भरिएको छ। कालो माटो भर्दा पानी आवागमन हुन पाउँछ। पोखरीको पानी चुहिन दिँदैन। आवश्यकताअनुसार पानी रसाएर जाने बाटो पनि दिन्छ।
पानी नअडिने यो पोखरीमा कालो माटो हालेसँगै बर्खाको पानी भरिभराउ देखिन्छ।
भाजुपोखरी भक्तपुर नगरपालिका वडा नम्बर १ मा पर्छ। यो वडाको विशेषता नै पोखरी भएको मेयर सुनील प्रजापति बताउँछन्।
उनका अनुसार यहाँ तःपुखु (सिद्धपोखरी), नःपुखु, भाज्या पुखु र रानीपोखरी गरी चार पोखरी छन्। यीमध्ये नःपुखु सुकेको छैन। रानीपोखरी भने सेनाले कब्जा लिएको ५४५ रोपनी जग्गाभित्र छ। यो रानीपोखरी ४ सय वर्षअघि जगज्योतिर्य मल्लले बनाएका हुन्।
यी पोखरी संरक्षणबारे पनि छलफल भइरहेको मेयर प्रजापतिले जानकारी दिए।
दुई साताअघि नगरपालिकाले भाजु पोखरीबीचको मन्दिरबारे अध्ययन गर्ने कार्यदल गठन गरेको थियो। इतिहासका प्राध्यापक पुरुषोत्तम लोचन श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले एक महिनामा प्रतिवेदन बुझाउनुपर्छ।
संयोजक श्रेष्ठका अनुसार पोखरी बीचमा थुम्कोजस्तो छ। त्यही थुम्कोमा मन्दिर भएको पुष्टि भएको छ। त्यहाँ टेराकोटा मूर्ति, कलश, तोरणहरू फेला परेका थिए। यो पनि काठमाडौंको रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरबाटै अभिप्रेरित भएको श्रेष्ठ बताउँछन्।
स्थानीय बुढापाकासँग सोधपुछ र अवशेषका अध्ययनबाट मन्दिरको नक्सा बनाइएको उनले जानकारी दिए।
‘मन्दिर ग्रन्थकुट अर्थात शिखर शैलीको भएको पुष्टि भएको छ,’ श्रेष्ठले भने, ‘नक्सा बनाएका छौं। केही दिनमा सार्वजनिक गरेर बनाउने तयारी हुन्छ।’
यहाँ फेला परेको मूर्ति भने लक्ष्मी नारायणको भएको श्रेष्ठले बताए।
भाजु पोखरी तीन तहमा बनेको छ। लम्बाइ १३५ मिटर र चौडाइ ११५ मिटर। बीचको तहमा पोखरी घुम्ने ठाउँ छ। दक्षिण दिशामा इँट्टाको जग भेटिएको थियो जसमा पक्की पुल भएको प्रष्टिन्छ। विज्ञहरुका अनुसार नजिकैको भक्तपुर क्याम्पसको ढोका भएर पोखरी मार्ग गएको देखिन्छ। त्यही दिशामा मन्दिर पुग्ने नयाँ पुल बन्नेछ।
पोखरी सफा गर्ने पहिलो चरणको काम सकिएको छ। अब पोखरीको मन्दिर, पेटी र पाटी बनाउने योजना रहेको मेयर प्रजापतिले बताए।
‘वरिपरि ढुंगा वा इँट्टा छाप्ने, रुख विरुवा रोप्ने योजना छ। यसरी पोखरीलाई आकर्षण बनाएर आन्तरिक र बाह्य पर्यटन विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘पुनर्निर्माण गर्दा पुराना कुरा नमासिऊन् भनेर होसियार छौं। कस्तो संरचना बनाउँदा उपयुक्त होला भनेर अध्ययन चलिरहेको छ।’
उनका अनुसार भाजु पोखरी निर्माणमा स्थानीयले श्रमदान गरेका छन्। कामदार पनि धेरैजसो महिला छन्। भक्तपुरका कुनै पनि संरचना निर्माण मेयर प्रजापतिले ठेक्कामा दिएका छैनन्। विदेशी सहयोग पनि छैन। सिद्धपोखरी पनि स्थानीयकै पहलमा जिर्णोद्धार भएको थियो।
भक्तपुर नगपालिकाले धमाधम आफ्ना पोखरी ब्यूँताउँदै गर्दा काठमाडौंले भने एउटा रानीपोखरी पनि बनाउन सकेको छैन।
ललितपुरका पनि धेरै पोखरीको नामनिशान छैन। १४ रोपनीको सप्तपाताल मासिएको छ। बोझे पोखरी सुकाएर पानी ट्ंयाकी बनाइएको छ। कुमारीपाटी जाने बाटोमा रहेको पूर्णचण्डी पोखरी सुकेर चौरमा परिणत भएको वर्षदिन भयो।