तपाईँले सवारी चलाउँदा कुनै गल्ती गर्नुभयो? अथवा तपाईले सवारी चलाइरहेको बेला सडकमा कोही ट्राफिक नभएपछि नियमको ख्यालै गर्नुभएन? यदि त्यस्तो हो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ।
सबै ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति नभए पनि उपत्यकाका विभिन्न सडकमा राखिएका सिसी टिभीले तपाईँको गल्ती पछ्याईरहेका हुन्छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार गएको साउन यता सिसिटीभीको फुटेजकै आधारमा २ हजार ७ सय १६ जना सवारी चालक कारवाहीमा परेका छन्।
कारबाहीमा पर्ने सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी चालक छन्। यसबाहे अन्य विभिन्न सवारी साधन चालक कारवाहीमा परेका हुन्।
महाशाखाका अनुसार गएको साउन यता २७१६ जना सवारी चालकलाई सिसीटिभीको फुटेज हेरेरै कारवाही गरिएको हो।
काठमाडौंको महाराजगंज, गौशाला, कोटेश्वर, बानेश्वर, केशरमल, सिंहदबार क्षेत्र, माईतीघर, थापाथली, कुपण्डोल जावलाखेल, बल्खु, कंलकीलगाएतका क्षेत्रका सडकमा राखिएका सीसीटिभीको फुटेज हेरेर उनीहरूलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रमुख एसएसपी वसन्त पन्तले सेतोपाटीलाई जानकारी दिए।
पन्तका अनुसार ट्राफिक नएको मौका छोपोर सडक नियम मिच्दै गरेका चालकलाई कारवाही गरिएको हो।
‘सडकमा ट्राफिक नदेखेपछि चालकहरु हाबी हुन्छन्, त्यो बेला उनीहरुलाई सडक नियमको कुनै हेक्का हुँदैन,’ ट्राफिक प्रमुख एसएसपी पन्तले सेतोपाटीसँग कुरा गर्दै भने, ‘ट्राफिक देख्दा नियम मान्ने नदेख्दा सडकनै आफ्नो जस्तै गर्ने चालकको निगरानी थालिएको छ।’
उनका अनुसार ट्राफिक नभएको मौका छोपेर नियम मिच्दै हिड्ने चालकको गल्ती सीसीटिभीमा सेभ हुन्छ। उक्त फुटेजलाई हेरेर यातायात ब्यवस्था विभागमा सो चालकको विवरण मागिन्छ। विवरण आएपछि चालकलाई ट्राफिक कार्यलयमा बोलाई भिडियो देखाएर कारवाहीको दायरामा ल्याइन्छ।
दैनिकजसो १० देखि १५ जना कारवाहीको दायरामा आउने गरेको मशाहाखाले जनाएको छ।
‘सीसीटिभीको फुटेज हेरेरै कारवाही गर्न त निकै गाह्रो छ, तर हामीले छाड्दैनौ’, एसएसपी पन्तले भने, ‘गल्ती गरेका चालक यहाँ आउँदा फुटेज देखाउँछौ उनीहरू आफैं खत्रक्क हुन्छन्।’
त्यसरी कारवाही परेर जानेहरू गल्ती गर्न एक पटक सोच्ने उनले भने।
ट्राफिक नभएको बेला पनि सीसीटिभीको माध्यमबाट ट्राफिक निगरानी र कारवाही प्रभावकारी भएको भन्दै महाशाखाले सीसीटिभी जडानलाई अझै बढाउने तयारीमा रहेको एसएसपी पन्तले बताए।
अहिले उपत्यकामा करिव ३ सयको हाराहारीमा सिसीटिभी सञ्चालनमा छन्।
ती सीसीटिभीहरू महानगरीय आयुक्तको कार्यालय र ट्राफिक महाशाखाको निगरानीमा हुन्छन्।