दुई वर्षअघि अछाम गाज्रा–७ की १५ वर्षीय रोशनी तिरुवाको छाउपडी गोठमै मृत्यु भयो।
रजस्वला भएर गोठमा सुतेकी उनी बिहान उठ्दै उठिनन्।। जाडोयाम थियो। गोठमा आगो बालेर उनी सुतेकी थिइन्। हावा ओहोरदोहर गर्ने कुनै झ्याल नभएको उक्त गोठभित्र धूँवाले निस्सासिएर रोशनीको मृत्यु भएको प्रहरीले जनाएको थियो।
२०७३ साल मंसिर ३ गते अछामकै तिमिल्सेन गाविसकी डम्बरा उपाध्याय बिहान छाउगोठमा मृत फेला परिन्। गएको पुसमा पनि अछामको तुर्माखाँद गाउँपालिका, भैरवस्थानकी २२ वर्षीया गौरी बूढाको पनि छाउगोठमै मृत्यु भयो।
यी तीनै मृत्युका खबर मिडियामा समाचार बने। तर उनीहरूको मृत्युमा कोही दोषी भएन।
एक हप्ता अघिसम्म काठमाडौंकै हनुमानढोकास्थित सेनाको रणभैरव गणले महिनावारी भएको ७ दिनसम्म गणको मूलगेटबाट प्रवेश नगर्न सूचना टाँसेको थियो। विरोधपछि हटायो।
ब्रह्माणक्षेत्री तथा अन्य केही समुदायका धेरै महिलाले अहिले पनि महिनावारी बार्न बाध्य छन्। महिनावारी भएकाबेला उनीहरूलाई छुवाछुत गरिन्छ। अब भने रजस्वला भएकी महिलालाई छाउपडीमा राख्नु र छुवाछुत गर्नुलाई फौजदारी अपराध मानिने छ। सजाय पनि हुने छ।
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी संहिताले रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नहुने भनेको छ। यो संहिताले छाउगोठमा राख्नेलाई मात्र हैन रजस्वला हुँदा छुवाछुत गर्नुलाई पनि फौजदारी अपराध मानेको छ। अपमानजनक वा अमानवीय व्यवहार भनेको छ।
संहिताको दफा १६८को उपदफा ३ मा उल्लेख छ ( महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन। उपदफा ४ र ५ ले यस्तो कार्यलाई सजायको व्यवस्था गरेको छ।
अब रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई ३ महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुवै पनि हुनसक्ने छ।
उपदफा ५ अनुसार, महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने, छुवाछुत गर्ने/ गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुने छ।