अरनिको श्रृंखला–२
चीनका राष्ट्रपति लि सियन नियन २०४० सालमा आउँदा नेपालको निम्ति असाध्यै महत्वपूर्ण उपहार ल्याइदिएका थिए। त्यो थियो, एउटा धार्मिक ग्रन्थ।
त्यो कुनै समय गुमाएको हाम्रै सम्पत्ति थियो। झण्डै हजार वर्षअघि हामीकहाँबाट तिब्बतका गुम्बा हुँदै बेइजिङ पुगेको त्यस ग्रन्थको नाम थियो, ‘सत्धर्म पुण्डरिक सूत्र’। बौद्धधर्मको महायानी सम्प्रदायका नौमध्येको एक त्यो हस्तलिखित ग्रन्थ थियो।
बेइजिङको ‘म्यूजियम अफ माइनोरिटिज’ (अल्पसंख्यक जातिको संग्रहालय)मा राखिएको उक्त ग्रन्थ चिनियाँ राष्ट्रपतिले नेपाल आउँदा उपहारका निम्ति सबैभन्दा उपयुक्त देखे। रात्रीभोज बेला ‘तपाईंहरूको यो सम्पत्ति हामीकहाँ रहेछ, यसलाई तपाईंहरूमै समर्पण गर्छौं’ भनेजस्तो गर्दै राष्ट्रपतिले राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई प्रदान गरेका थिए।
राजाले उतिखेरै सचिवलाई बोलाएर त्यसलाई जसले अध्ययन गर्न खोजे पनि सजिलै प्राप्त हुनेगरी राष्ट्रिय अभिलेखालयमा जतन साथ राख्न अह्राए।
जापानीहरूले रेयुकाइ भनेर एउटा सम्प्रदाय खडा गरेका छन् जसमा ‘ना मु म्यो हो रेंगे क्यों’ भनेर मन्त्र जप्छन्। त्यसको अर्थ नै ‘नमो सत्धर्म पुण्डरीकाय रुपी ग्रन्थलाई म नमस्कार गर्छु’ भन्ने लाग्छ। जापानमा पनि महायानी बौद्ध सम्प्रदायकै प्रभाव रहेको सर्वविदितै छ।
यसरी उताका राष्ट्रपतिको भ्रमणपछि २०४४ सालमा राजा वीरेन्द्रको औपचारिक चीन भ्रमण हुँदै थियो। उताबाट राष्ट्रपतिले यति महत्वपूर्ण ग्रन्थ उपहारका रुपमा ल्याइदिएपछि हामी कहाँबाट पनि उपहार के हुनसक्छ भन्ने खोजी भयो।
त्यस्तो अवस्थामा अरनिकोका बारेमा मैले लेखेको कृति थियो। त्यो कृतिमा नेपाल-चीन सम्बन्धका पृष्ठभूमि उल्लेख गर्दै राष्ट्रपतिले ग्रन्थ उपहार दिएका तस्बिर पनि छाप्न लगाएको थिएँ। त्यही पुस्तक राजा वीरेन्द्रले चीन लिएर गए।
त्यो किताब हालै हाम्रा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला पनि ३५ प्रति साझा प्रकाशनबाट मगाएर उपहारका लागि लगिएको जानकारी मैले यसअघिको लेखमै दिइसकेको छु।
२०१६ सालमा पहिलोपटक पर्यटकका रुपमा चीन पुग्दा श्वैत चैत्य देखेपछि अरनिकोबारे थप बुझ्ने मनसुबा राखेर फर्केको थिएँ। मलाई विस्तारमा अध्ययन गर्ने आधार भने पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्यूट अर्थात् क्याम्पोसुएनले दिएको थियो। त्यो संस्थाले मलाई पटक-पटक भाषा प्रशिक्षकका रुपमा चीन बोलायो र त्यतिखेरै विद्यार्थीलाई पढाएर बचेको समयमा मैले सात सय वर्षअघि चीन आएका अरनिकोलाई खोज्ने मौका पाएँ।
बेइजिङको एउटा सबर्ब (उपनगर)मा मलाई राखिएको थियो। त्यो ऐतिहासिक महत्वको ठाउँ थियो। कुनै जमानामा रुसको असाध्यै प्रभाव भएका बेला रुसीहरूलाई राख्न बनाइएको सिंहदरबारजस्तै ठूलो भवन थियो त्यो। झण्डै दुई–तीन हजार पाहुना अट्ने। त्यो भवनलाई चारैतिरबाट ससाना घरले घेरेको थियो। भवनमा बस्ने रुसी पाहुनाको सेवामा खट्ने चिनियाँ कामदार ती चारैतिरका ससाना घरमा बस्थे। पछि चीनसँग कुरा नमिलेपछि सारा रुसी फर्केर गए। उनीहरु फिर्ता भएपछि चीनमा आउने विदेशी पाहुनालाई राख्ने बन्दोबस्त त्यहीँ मिलाइएको रहेछ।
त्यही गेस्टहाउसजस्तो विशाल भवनमा मलाई राखिएको थियो। म बस्दा त्यहाँ एकजना पनि रुसी नागरिक देखिनँ। अरु देशका टन्नै थिए।
उतिबेलै ‘सेन्ट्रल हिटिङ सिस्टम’ जडित त्यो भवनका प्रत्येक कोठा जाडो महिनाको कठ्याङग्रिएको बेइजिङमा पनि न्याना हुन्थे। हरेक कोठामा फलामे पाइप लगिएको थियो जसमा चौबिसै घन्टा तातो पानी बग्थ्यो। यसैले कोठा न्यानो बनाएको थियो। कसरी तातो पानी आइरहने रहेछ भनेर हेर्न गएँ। त्यहाँ असाध्यै धेरै कोइला थुपारेर राखिएको देखेँ। कारखानामा जस्तै त्यही कोइलाले हरघडी पानी तताएर त्यो पाइपबाट बगाउँदा रहेछन्।
त्यहाँ पढाउने जिम्मेवारी लिएर गएपछि उनीहरूले बनाएको रुटिनअनुसारै हामी चल्थ्यौं। बिहानै कक्षा जानुपर्थ्यो। त्यसपछि दिउँसो खाना खान आउँथ्यौं। एकछिन आराम गरेपछि फेरि पढाउन जानुपर्थ्यो।
पढाउने ठाउँ त्यही ब्रोडकास्टिङ इन्स्टिच्यूटमा थियो। झण्डै तीस मिनेटको मोटरबाटो। त्यहाँ संसारभरिका भाषा पढाउने गुरु हुन्थे।
बिहान उठ्ने बित्तिकै चिया पिएर हामी धमाधम तल ओर्लन्थ्यौं। लहरै ३०–४० वटा मोटर राखेका हुन्थे। त्यहाँ तीन जना गुरु जम्मा हुनेबित्तिकै एउटा मोटरले पढाउने ठाउँसम्म लगिहाल्थ्यो।
चीन बसे पनि मलाई चिनियाँ भाषा आएन। तै पनि चिनियाँ विद्यार्थीलाई मैले नेपाली भाषा पढाउनु पर्थ्यो। मैले चिनियाँहरूलाई नेपाली पढाउने ‘डाइरेक्ट मेथड’ थियो। जस्तो रंगबारे पढाउने कक्षामा विभिन्न रंग राखिएको हुन्थ्यो र औंलाले देखाउँदै ‘रातो, हरियो, पहेँलो’ भनेर बोल्थेँ। उनीहरू उच्चारण गर्थे र आफ्नो भाषामा टिप्थे।
कहिले विद्यार्थी लिएर विशाल डिपार्टमेन्टल स्टोर लैजान्थेँ र त्यहाँ भएका प्रत्येक कुरा उठाउँदै तिनको नेपाली नाम भन्थेँ। त्यसैगरी कहिलेकाँही मेरी श्रीमतीले पकाउँदै गरेको भान्छामा ल्याउँथे र त्यहाँ भइरहेका हरेक गतिविधि, खाना पकाउने चिजहरु, तरकारी सबैको नाम नेपालीमा बताउँथे। नुन उठाएर देखाउँदै ‘नुन’ भनेपछि उनीहरू त्यही कापीमा टिप्थे।
शिक्षक रुपमा म पहिलोपटक २०२३ सालमा चीन जाँदा श्रीमती र दुई बच्चा लिएर गएको थिएँ। त्यतिबेला दुई वर्ष बसेर फर्कें। त्यसपछि अर्कोपटक जाँदा सरकारले मबाहेक अरुको विमान खर्च नदिने भयो। म एक्लै गएँ। एक वर्ष बसेँ। तेश्रो पटक जाँदा चाहिँ अघिल्लोपटक नगएका चार छोराछोरी लिएर गएँ।
त्यसपछि आएँ र लामो समय एकेडेमीमा सेवा गरेँ। एकेडेमी छाडेपछि २०३७ सालमा फेरि चिनियाँहरुले बोलाए। त्यतिबेला चाहिँ केटाकेटी हुर्किसकेका थिए त्यसैले म र श्रीमती मात्र गएका थियौं। त्यो अन्तिम पटक भने दुई वर्ष मात्र बसेँ।
यसरी पर्यटकका रुपमा २०१६ सालमा एकपटक र शिक्षकका रुपमा चारपटक चीनमा लामो बसाइ गर्दा मैले अरनिकोबारे बुझ्ने प्रयास गरेँ। खोज्दै जाँदा एक दिन अरनिकोलाई समाधिस्थ गरिएपछि लेखिएको ‘फ्युनरल इन्स्क्रिप्सन’ (अन्त्येष्टि शिलालेख) छ भन्ने पत्तो पाएँ। त्यो शिलालेखको प्रतिलिपी खोजी गरेँ। मेरा चिनियाँ विद्यार्थीसँग सहयोग मागेँ।
उनीहरूलाई मैले के गर्न खोजिरहेको छु भन्ने अत्तोपत्तो थिएन। मेरो भने ध्याउन्नै त्यही थियो। अरनिकोबारे कतै केही फेलापर्नेबित्तिकै त्यसैमा लाग्थेँ।विद्यार्थीहरू ‘यो के गर्न लागेको हो?’ भनेर छक्क पर्थे। तर, पनि भरमग्दुर सहयोग गर्ने कोशिस गर्थे।
एकजना विद्यार्थी अलि टाठो थियो। उसैले पेकिङको कुन चाहिँ विश्वविद्यालयको लाइब्रेरीबाट कहाँ-कहाँ कसो गरेर त्यो शिलालेखको कपी ल्याइदियो।
शिलालेख त आइपुग्यो। तर, त्यसमा लेखिएको कुरा कसरी पढ्ने?
हामीलाई त चिनियाँ अक्षर सबै उस्तै लाग्छन्। सबै चिनियाँले त्यो अक्षर बुझ्छन् भन्ठान्छौं। तर, त्यस्तो त कहाँ हुन्छ र?
अंशुबर्माको शिलालेख फेला परे, तपाईं हामीले त्यसमा के लेखिएको छ भनेर पढ्न सक्छौं? विदेशीले हेर्दा त त्यो शिलालेखको लिपि र हाम्रो देवनागरी उस्तै ठानिरहेका हुन्छन्।
झन् लुम्बिनीको अशोक स्तम्भमा लेखिएको अभिलेख त पाली भाषा हो। लिपी पनि हाम्रो देवनागरीजस्तै ब्राम्ही हो। भएर के गर्ने? बुझ्दैनौं नि! हो, चीनमा त्यस्तै समस्या आइलाग्यो।
त्यो अरनिकोको अन्त्येष्टि शिलालेख अब कसले पढेर मलाई बुझाइदिने? मेरा विद्यार्थीको त बसको कुरा थिएन।
अर्कोतिर मैले त्यो अरनिकोको खोजी कुनै सरकारी स्तरबाट गरिरहेको थिइनँ। भाषा शिक्षक रुपमा एउटा प्रयोजन बोकेर चीन पुगेका बेला मैले निजी तवरमै अध्ययन गर्न खोजेको थिएँ। यस्तो बेला मैले सरकारी सहयोग पाउने पनि ठाउँ थिएन।
‘शिलालेखको प्रतिलिपी ल्याएर मात्र पुग्दैन, यसको अर्थसम्म पनि मलाई पुर्याइदेऊ’ भनेर तिनै विद्यार्थीहरुलाई सहयोग मागेँ। उनीहरू बडो अनुशासित थिए। ‘गुरुले अह्राएपछि जस्तो काम पनि गर्नुपर्छ’ भन्ने किसिमका।
उनीहरुले नै पुराना मानिससँग भेटघाट गरेछन्। बल्लतल्ल त्यो शिलालेखको उतार गरिदिने एकजना वृद्ध ‘स्कलर’ फेला परे। मसँग अलिअलि पैसा थियो। त्यो पैसा दिएपछि उनले नै त्यो शिलालेखलाई आधुनिक चिनियाँ भाषामा लेखिदिए। त्यसपछि अर्थ्याइदिने त मेरा विद्यार्थी छँदै थिए।
यसैबीच एकजना जापानी एम इसिदाले निकैअघि अरनिकोबारे शोध गरेर लेख तयार पारेका रहेछन्। त्यो पनि चीनमै थाहा पाइयो।
त्यतिबेला जापानमा बद्रीप्रसाद श्रेष्ठ राजदूत थिए। मैले त्यो लेखबारे जानकारी गराउँदै खोजी गरिदिन अनुरोध गरेँ। उनले ‘धेरै कोशिस गर्दा पनि भेटिएन’ भनेर लेखिपठाएका थिए।
फेरि अर्को चिठ्ठी आयो।
‘मैले फेला पारेँ,’ लेखिएको थियो, ‘तपाईंलाई छिट्टै त्यसको कपी पठाउने व्यवस्था गर्दैछु।’
मलाई आनन्द लाग्यो। उतिबेलै एउटा जापानीले चीन बसेर अरनिकोबारे अनुसन्धान गरेर लेखेको लेख थियो त्यो। अब त्यो जापानीमा लेखिएको लेख त आयो। समस्या उही। कसरी बुझ्ने?
मेरा विद्यार्थीलाई जापानी आउँदैन थियो। उनीहरूले नै जापानी र चिनियाँ भाषा जानेका मानिस खोजेर ल्याए। त्यसको चिनियाँ भाषामा अनुवाद मेङ ग्वाङ जीले गरिदिएका थिए।
यसरी जापानी अध्ययनलाई पनि चिनियाँ भाषामा ढालेर विद्यार्थीमार्फतै मैले बुझ्ने मौका पाएँ।
त्यतिबेलै चाइना डेलीले एकपटक अरनिकोबारे एउटा सामग्री प्रकाशित गर्यो। त्यो सामग्री पछ्याउँदै मैले चाइना डेलीका सम्पादकलाई पत्र लेखेँ।मैले पत्रमा अरनिकोको चिहान र शिलालेख हराएको अवस्थामा त्यसलाई फेरि खोजी गरिनुपर्ने औंल्याएको थिएँ। त्यो पत्रको कुनै असर भने परेजस्तो लागेन।
मैले नेपाल र चीनको मित्रतालाई अझ अघि बढाउन त्यो काम महत्वपूर्ण हुनसक्ने औंल्याएको थिएँ।
अरनिकोमाथि लेखिएका चार-पाँचवटा चिनियाँ किताबहरू पनि फेला पारेको थिएँ। विद्यार्थीमध्येका एकजना अलि पाकोलाई अनुवाद गर्न लगाएको थिएँ। खोजीक्रममा कतिपय कुरा विवादास्पद पनि भेटिए। दागोवा (श्वेत चैत्य)कै बारेमा पनि कतिपय व्याख्यामा परस्पर बाझिने कुरा थिए। कतिपय विवादका विषयमा त मैले नै उभिएर जानेको कुरा राख्दै खण्डन गरेको छु।
एउटा रमाइलो उखान पनि चीनमा प्रचलित थियो– ‘श्वैत चैत्यको छाया हुँदैन’।
चिनियाँले उखान बनाए पनि त्यसको सिमेट्री यति मिलेको छ कि छाया फेलै नपर्ने रहेछ। अनुपम सिर्जना हो त्यो।
अरनिकोबारे मैले गैरआख्यान मात्र नभएर महाकाव्य पनि लेखेँ। उही समयमा चीन पुगेका मार्कोपोलोलाई मैले त्यस आख्यानमा उभ्याइदिएको छु।
गैर आख्यानमा त प्रमाण भएको र ठोकेरै भन्न सकिने कुरा मात्र लेखिन्छ। तर, त्यहाँ त कतिपय परिस्थिति हेरेर मेरा बुझाइ पनि पाठकसम्म सम्प्रेषण होस् भन्ठानेँ। त्यसैले अरनिकोलाई बुझाउन एउटा आख्यान पनि चाहिन्छ भन्ने लाग्यो।
अरनिकोबारे मैले पाएको जानकारी, बुझेको चिनियाँ समाज र उसको इतिहासका आधारमा तयार पारेको आख्यान थियो त्यो जसको धरातल यथार्थहरूमै अडिएको छ।
त्यो आख्यानमा मैले अरनिकोको बिहे प्रसंग पनि राखेको थिएँ। त्योबेला नेपाली समाजबाट गएको युवकले चिनियाँ समाजमा कसरी बिहे गरेको थियो होला भनेर दुवैतिरको मिश्रित एउटा घटनाक्रम तयार पारेको थिएँ।
खासमा यत्तिको प्रतिभाशाली कलाकार फेरि फर्केर उसको देश नजाओस् भनेर अरनिकोलाई उतै रोक्न बिहेको चाँजोपाँजो मिलाइएको थियो। उता पनि घरबार बसिसकेपछि नेपाल बिर्सन सघाउ पुग्ने र फेरि छाडेर पनि नहिँड्लान् भन्ने हिसाबले नै दरबारबाटै त्यस्तो योजनावद्ध अवस्था सिर्जना गरिएको हो।
सम्राट कुब्लाइ खाँका कान्छी श्रीमतीले ‘यसलाई मेरै एउटी भतिजी दिन पाए हुन्थ्यो’ भनेरै राजामा बिन्ती चढाएरै बिहे भएको प्रसंग मैले किताबमा उल्लेख गरेको छु।
यसरी एउटा आख्यान र अर्को गैरआख्यान कृति तयार पारेपछि मोटामोटी अरनिकोको त्यतिबेलाको मैले बुझेको रुप तयार भएको थियो। आजभोलि ‘फिक्सनल बायोग्राफी’ भन्छन्। मैले त्यतिबेला त्यही गरेको हुँ।
नेपालमै परिवार भएको एउटा ठिटोको उता एकदमै फरक जन्म र हुर्काइ भएको बेग्लै समाजकी केटीसँग बिहे हुन्छ। चिनियाँ पद्दतिमा त्यहाँ नेपाली मिसिएको छ। जन्ती पक्कै गयो होला। त्यसैमा टेकेर त्यतिबेलाका परिस्थिति लेख्दा बेग्लै रोचकता थपिन्थ्यो।
जस्तो बिहे त भयो तर उनीहरूले कसरी व्यवहार अघि बढाए? बेग्लै पाराका मानिसबीच कसरी अन्तरसम्बन्ध विकास भयो? यो सबको बयान छ त्यहाँ। एउटा लमी पनि उभ्याएको छु। बेला बेलामा अरनिकोलाई नेपाल पनि सम्झन लगाएको छु। यसरी उनको बिहेकै एउटा अध्याय नै छ।
‘अरनिको कृत्य स्वैत चैत्य’ नामको यो महाकाव्य तलेजु प्रकाशनले छापेको थियो।
पहिलोपटक २०४० सालमा ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नाममा नेवारी भाषामा निस्किएको थियो। नेपाल भाषा परिषदले त्यसको प्रकाशन गरेको थियो। त्यसलाई एकपटक मेरो छोराले अंग्रेजीमा अनुवाद गरेर क्यानाडाबाट प्रकाशित गरिसकेको छ। पछिल्लोपटक फेरि अंग्रेजीमा बेग्लै अनुवाद गरेर निकाल्ने तयारी छ।
अरनिको सन् १२६० मा तिब्बत र त्यसको दुई वर्षपछि चीनकै राजधानी तातू (अहिलेको बेइजिङ) पुगेको प्रसंग अघिल्लो लेखमै भनिसकेको छु।
पहिलो भेटमै सन् १२६५ मा सम्राट कुब्लाइ खाँले अरनिकोलाई एउटा बिग्रिरहेको पुरानो तामाको मूर्ति बनाउन लगाएर उनको शिल्प परीक्षण गरेका थिए। अरनिकोले त्यो मूर्ति पहिलेभन्दा दस गुणा राम्रो बनाइदिएपछि सम्राट अत्यन्त सन्तुष्ट भए। त्यसपछि नै सम्राटले उनलाई फूच्छमनमा एउटा विशाल श्वैत चैत्य र ‘ता शन् सौ वान् आन् श’ नामको बौद्धविहार बनाउने जिम्मा दिए।
अरनिकोले सन् १२७१ मा श्वैत चैत्य निर्माण सुरु गरेका थिए जुन सकिन आठ वर्ष लागेको थियो। ५१ मिटर अग्लो यो श्वैत चैत्यको वास्तुकला र शैलीले चीनको बौद्ध धर्म र साँस्कृतिक क्षेत्रमा एउटा नौलो आयाम थपिदिएको थियो।
यो चैत्य नेपाली मण्डप शैलीमा उठेको छ। मध्यभागमा कस्सिएर फेरि माथि फुकेर गएको गोलाकार वृत्तशैली। फेरि त्यसमा चारकुने सतह बनी त्यसमा त्रयोदश भुवनको उच्चिएर गएको छत्रसहितको पूर्ण गोल वृत्तहरू र कलश आकारका सुनका गजुर। कता कता स्वयम्भू चैत्यजस्तै।
त्यसपछि त्यही परिसरमा अर्को साढे आठ वर्ष लगाएर अरनिकोले महाविहार पनि तयार पारिदिए।
अरनिकोका यी कलाकृति आज पनि चीनमा सात सय वर्षअघिको युआन वंशको ज्यूँदो इतिहास रुपमा उभिएकै छ।
श्वैत चैत्य विहारमा नेपाली शैलीको एक बुट्टे काठको प्रवेशद्वार छ। त्यसैगरी एकढुंगे सिँढी यसमा जोडिएको छ जुन नेपाली मन्दिरको परम्परा हो। त्यसपछि नेपाली कलामूर्तिले भरिएको विहारको ढोका खोल्नेबित्तिकै दीपंकर, शाक्यमुनि र मैत्रेयका नेपाली शैलीका बुद्ध मूर्ति देखापर्छन्। यसै विहारमा महिषसम्बर, महाकाल, हरित तारा, श्वेत तारा, अवलोकितेश्वर, चन्द्रमहारोषण आदिका पौभाचित्र देखिन्छन्। बज्रघंटा, तिकिझ्याल, छकुने आर्सी जस्ता नेपाली कलावस्तु ठाउँ ठाउँमा सजाइएका छन्। हाम्रो रञ्जना लिपीमा लेखिएका मन्त्र पनि देखिन्छन्।
श्वेत चैत्यको अनुपम कलाको अनुकरण बेइजिङका पुराना संरचनामा जताततै भेटिन्छन्। इम्पेरियल प्यालेसदेखि ग्रीष्म राजप्रासादसम्मै। राजधानी बेइजिङमा मात्र सीमित नरहेर छिमेकी सहर नानकिंगसम्म।
बेइजिङकै प्राचीन दरबार इम्पेरियल प्यालेस चहार्दा पनि सम्राट-साम्राज्ञी सुत्ने कोठा छेउमा पूजा कोठामा नेपाली शैलीका बुद्ध मूर्तिहरु, शक्तिसहितका आगम देवदेवी, सम्बरका मूर्ति, दीक्षाका पूजा सामग्री, पौभा चित्र, नेपाली शैलीका बादलका गुल्था निकालेर सजाइएका चित्र देखिन्छन्।
सन् १९६१ मा चीन सरकारले श्वैत चैत्यलाई राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्ति रुपमा सूचीकृत गर्यो। यसरी यो नेपाल-चीनबीच परम्परादेखि चलिआएको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको महत्वपूर्ण प्रतीक कायम भएको छ।
अरनिको सीप र बहुमुखी प्रतिभाबाट प्रभावित भएर सम्राट कुब्लाइ खाँले उनलाई वास्तुकला विभाग प्रमुखमा पनि नियुक्त गरे। त्यसैगरी मन्त्री सरहको उपाधि ‘क्वाङलू ता फू ताश थू’ प्रदान गरे। यो सबले उनलाई चीनमा बस्न करै लाग्यो।
नेपालमै बिहे गरेका भए पनि चीनमा भएका फरक-फरक बिहेबाट थप ६ जना आफूतूल्य शिल्पी छोरा पाए। उनका छोरा र शिष्यले मृत्युपर्यन्त अरनिकोका शैलीलाई निरन्तरता दिएका थिए। अरनिकोले आफ्नो कार्यअवधिमा तीन चैत्य, नौवटा ठूला बौद्धविहार, दुइटा देवपुजनस्थल र स्मृति मन्दिर अनि एउटा सत्तल निर्माणको नेतृत्व गरेका थिए।
पहिलो भेटमै सम्राटलाई प्रभावित पारेपछि अरनिकोले राजकीय दुर्गका गुम्बाहरुमा धेरै बुद्धमूर्ति बनाएका थिए। सप्तरत्न जडित एक अति कलापूर्ण लौहचक्र पनि तयार पारे। रेशमी कपडामा सम्राट कुब्लाइ खाँ र उनका रानीका चित्र तयार पारे। यो बहुमुखी प्रतिभा देखेपछि नै सम्राटले उनलाई राजकीय कलागुरुको पदले विभूषित गरेका थिए।
यी सबका अतिरिक्त राजदरबारको भित्री र बाहिरी भागमा रहेका सांस्कृतिक कृति, पूजा गर्ने मण्डप भवनका देवस्थल, कार्यालयमा राखिने विभिन्न सामान, धातूका ढलान मूर्ति, माटो र रंगसम्बन्धी अनेकानेक काम छन्।
इटालियाली इतिहासकार लुसिनो पेटेचका अनुसार चीनका बौद्ध मूर्ति कलाकारमध्ये अरनिकोले चलाएको नेपाली शैलीको प्रभावयुक्त परम्पराले धेरै समयसम्म दिगो प्रभाव पार्दै आएको थियो र आज पनि त्यो परम्परालाई मान्यता दिइएकै छ।
बेइजिङ वरपर ठ्याक्कै नेपालकै झल्को मिल्ने कलाकृति भेटिन्छन्। त्यसैमध्येको एउटा ग्रेटवाल हेर्न जाने बाटोमा पातालिङ डाँडोको फेदी नजिकै निर्मित विशाल द्वार पनि छ जसको माथि बनाइएका चित्राकृति ठ्याक्कै नेपालको तोरण निर्माणसँग मिल्दोजुल्दो छ। हाम्रै शैलीको पखेटा भएको गरुडको मूर्ति अंकित त्यो कलालाई चिनियाँहरुले ‘अति अनौठो खालका जीव मूर्ति’ भनेका छन्। यी सब आधारमा अरनिकोको प्रभाव यसमा देखिन्छ। तर, यसको निर्माण साल भने सन् १३४५ भनिएको छ जुन अरनिकोको मृत्युभन्दा पछि हो। यस हिसाबले उतिबेला अरनिकोले नै डिजाइन गरेको वा उनको शिक्षादीक्षा पाएका छोरा अथवा शिष्यले नै तयार पारेको हुनसक्ने अनुमान लगाउन सकिन्छ।
अरनिकोले बनाएका थुप्रै कलाकृति यो लामो कालखण्डका राजनैतिक उथलपुथल र प्राकृतिक परिवर्तनले नष्ट-भ्रष्ट भए, लोप भए।
यी सबैका बावजूद आजसम्म रहिरहेका श्वैत चैत्य जस्ता कृतिले अरनिकोको अमर गाथा गाइरहेकै छन्।
अरनिकोको ६२ वर्षको उमेरमा सन् १३०६ मा उतै देहान्त भएको थियो। उनको समाधिस्थल बेइजिङकै वांगफिङ जिल्लास्थित ‘स्याङ शान स्याङ काङ च थुआन’ बताइन्छ। त्यहाँ उनको मृत्युको पाँच वर्षपछि उनको जीवनी र कृतिको विस्तृत वर्णन गरिएको प्रशस्तिसहित कलात्मक कृतिस्तम्भ खडा गरिएको थियो।
चीनमा युआन वंशका सम्राट कुब्लाइ खाँ र चंग सुंगको कार्यकालमा अरनिकोले सेवा गरेका थिए। त्यसै वंशका पछिल्ला दुई सम्राट उ सुंग र रेन चुंगले समेत उनको सेवाको ठूलो कदरगरी मृत्युपर्यन्त मानार्थ पदवी प्रदान गरेको देखिन्छ।
उनीबारे लेखिएको प्रशस्तिमा ‘संसारकै अद्वितीय’ अनि ‘उनको समय सुनौलो थियो र त्यसले आकाशदेखि भुइँसम्म समेटेको थियो’ भनिएको छ।त्योताका चीनमा सम्राट तथा मन्त्रीहरूलाई मरणोपरान्त प्रदान गरिने ‘मिङ हुइ’ (कुशाग्र बुद्धिको प्रतीक) उपाधि समेत अरनिकोले पाएका थिए।नेपालबाट अरनिकोले लिएर गएका सीप र कलालाई त्यसपछि पनि उनका थुप्रै शिष्यले चीनमा निरन्तरता दिइरहे।
१९८१, अक्टोबर ३ मा चाइना डेलीले अरनिकोबारे लेख्दै ‘चीनको साम्राज्यकालीन इतिहासमा थोरै मात्र विदेशीका जीवनी समेटिएको छ जसमध्ये नेपालका अरनिको पनि एक हुन्’ भनिएको छ। पत्रिकाले ‘वास्तुशिल्पी, पेन्टर, मूर्तिकार र मेकानिकल इन्जिनियरसमेत रहेका अरनिकोले बनाएको श्वैत चैत्य सात सय वर्षको घामपानी झेलेर पनि बेइजिङको क्षितिजमा उस्तैगरी उभिइरहेको सहरकै पुरानो संरचना’ भनेर उल्लेख गरेको छ।
१७ वर्षकै उमेरमा नेपाल छाडेका अरनिकोबारे हामीकहाँ भने कतै कुनै जानकारी छैन। अरनिको नाम पनि उता पुकारिने ‘आनिक’का आधारमा अनुमान गरिएको हो। जसरी नेपालका सबैजसो पुराना धरोहर र कलाकृतिमा केवल राजाहरुको मात्र नाम छ, कुनै कलाकारको परिचय छैन, त्यसरी नै अरनिको पनि अज्ञात छन्।
चीनबाट पाएको जानकारीकै आधारमा निकैपछि उनलाई यहाँ राष्ट्रिय विभूति घोषणा गरियो।