पछिल्लो समय देशभित्र हुने अपराध मध्ये एक हो साइवर क्राइम। प्रविधिको विकाससँगै अपराधमा पनि यसको प्रयोग हुन थालेको छ। त्यसमा पनि फेसबुक ह्याक त झनै बढेको छ।
नेपाल प्रहरीले साइवर अपराध बढेसँगै डिआइजीको नेतृत्वमा साइबर क्राइम व्यूरो समेत खोल्ने तयारी गरिरहेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखामा अहिले दिनमा ८ देखि १० वटा उजुरी साइबर क्राइम सम्वन्धी नै आउने गरेका छन्। महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार अहिले सबैभन्दा बढी उजुरी साइवर क्राइमका छन्। जसमा पनि फेसबुक मार्फत गरिने अपराध धेरै छन्।
डोटी जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेका सांसद प्रेमबहादुर आले पनि फेसबुक ह्याकरको सिकार बनेका छन्। केही समयअघि उनको फेसबुक ह्याक भएको खुलेको छ।
सांसद आलेको फेसबुकबाट साथीलाई रिचार्ज नम्बर पठाइदिनु भन्दै म्यासेज गरेको थियो। जवकी सांसद आलेलाई आफ्नो फेसबुकबाट के भइरहेको छ भन्ने पत्तो समेत थिएन। सांसदले नै रिचार्ज मागेपछि धेरैले फेसबुकमा रिचार्ज कार्डको नम्बर हालिदिए। यो क्रम बढ्दै गएपछि सांसद आलेले पत्तो पाए। त्यसपछि उनी महाशाखा पुगेका थिए।
महाशाखाका एसएसपी धिरजप्रताप सिंह ह्याकरले फेसबुक ह्याक गरेर ७ हजारसम्म रिचार्ज मार्फत पठाएको देखिएको बताउँछन्। सांसद मात्र होइन अरू पनि थुपरै यसरी ह्याकरको फन्दामा पर्ने गरेका छन्।
फेसबुक म्यासेन्जरमा लिंक पठाएर सबैभन्दा बढी ह्याक गरेको भेटिएको छ। भिडियो र तस्बिरको लिंक पठाई त्यसमा क्लिक गरे ह्याकरले फेसबुक ह्याक गर्छन्।
फेसबुक ह्याकबाट बच्न फेसबुक म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्न प्रहरीले सुझाव दिएको छ।
‘ब्लु रङको लिंक आए झनै नखोल्नुहोस्। यस्तो रङको लिंक ह्याकरले प्रयोग गर्ने गर्छन्,’ एसएसपी सिंहले भने, ‘समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गर्नुहोस्। त्यस्तै कुनै पनि साइवर अन्य ठाँउमा फेसबुक इमेल खोलेर नछोड्नु होस्।’