जति पुरानो सहर, उति धेरै सम्पदा। जति सम्पदा, उति धेरै कथा।
काठमाडौं उपत्यका सम्पदाको सहर हो। कथाको सहर हो। सहर चहार्दा ती कथा सुनिहिँड्न, बुझिराख्न पाए कति रमाइलो हुन्थ्यो होला!
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रबाट कथा हाल्न सुरु गरेको छ।
तपाईं पनि अब दरबार क्षेत्र जानुभयो भने महानगरको काउन्टरबाट हेडफोन र ट्याब लिन नबिर्सनुहोला। पाटनढोका, मंगलबजार र पाटन दरबार संग्रहालयमा महानगरका काउन्टर छन्।
'अडियो-भिडियो टुरिस्ट गाइड' लेखिएको काउन्टरमा नेपालीले सय र विदेशीले हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। विद्यार्थीले भने ५० रुपैयाँमै पाउँछन्। अहिले विदेशीलाई पनि तीन सयमै यो सुविधा दिइएको छ।
कानमा हेडफोन र हातमा ट्याब बोकेर हिँडेपछि तपाईंले पाटन दरबार क्षेत्रसँग जोडिएका घटनाक्रम सुन्न पाउनुहुनेछ। मल्लकालसँग जोडिएका चाखलाग्दा घटनाले तपाईंलाई घुमी-घुमी इतिहासको जानकारी दिनेछ, कथानक शैलीमा।
प्राध्यापक धनबहादुर कुँवर शुक्रबार यही सुविधा लिँदै पाटन दरबार क्षेत्र घुम्न पाउँदा दंग थिए। आफूजस्ता इतिहास र संस्कृतिका शिक्षक तथा विद्यार्थीलाई यसले सजिलो बनाएको उनी बताउँछन्।
‘यो बडो गज्जबको छ। नौलो खालको,’ प्राध्यापक कुँवरले भने, ‘प्रविधिको मद्दतले इतिहासको जानकारी दिने तरिका रोचक लाग्यो।'
विदेशी पर्यटकलाई एेतिहासिक विषयवस्तुको सही सूचना दिन यो उपयोगी हुने उनको भनाइ छ।
‘हामी र उनीहरुबीच भाषाको समस्या हुन सक्छ। हामीले भनेको कुरा उनीहरुले अर्कै अर्थमा बुझेका हुन सक्छन् वा हाम्रो तर्फबाट जाने कतिपय सूचना सही नहुन सक्छ। अब यस्तो समस्या आउने छैन। पर्यटकले सही सूचना पाउँछन्,' उनले भने।
विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा पर्यटक आकर्षित गर्न ललितपुर महानगरले 'अडियो भिडियो टुरिस्ट गाइड एप' सुरु गरेको हो। दरबार क्षेत्रको जुन ठाउँ पुगिन्छ, त्यहाँको महत्वपूर्ण जानकारी ट्याबले दिन्छ। सम्बन्धित ठाउँ पुगेर ट्याब अन गरेपछि हेडफोनमा आवाज आउन थाल्छ।
तपाईं यो ट्याब बोकेर पाटनढोकाबाट सम्पदा यात्रा सुरु गर्न सक्नुहुन्छ। मंगलबजारबाट पनि सुरु गर्न सकिन्छ। पाटनढोकाबाट मिखाबहाल, सुलिम, छाबहाल, पिम्बहाल, नकबही, न्याखा चोक, तापाहिटी, आलकोहिटी, कुम्भेश्वर हुँदै पाटन दरबार क्षेत्र र संग्रहालय पुगेर सम्पदा यात्रा टुंगिन्छ।
पाटनढोकादेखि दरबार क्षेत्रसम्मको दुरी २.२ किलोमिटर हो। यसबीच अधिकांश मठ-मन्दिर, स्तुप, बहालजस्ता साँस्कृतिक सम्पदासँग सम्बन्धित जानकारी ट्याबले दिनेछ।
अहिलेलाई अंग्रेजी भाषामा मात्र रहेको यो एप छिट्टै नेपालीमा पनि सुरु हुँदैछ। अन्य ७ भाषामा बनाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय टेक्नोलोजी कन्सल्टेन्सी प्रालिका निर्देशक हरिप्रसाद पाण्डेले बताए।
‘सुरु भएको चार महिना मात्र भएकाले एप प्रयोग गर्नेको संख्या ठूलो छैन। कहिले दिनको ५/६ जनाले प्रयोग गर्छन् त कुनै दिन एक जना पनि हुँदैन। नेपालमा पहिलोपटक सुरु भएकाले धेरैलाई जानकारी पनि छैन। तर अहिलेसम्म राम्रो प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘महानगरले सहयोग गरेकाले अब यो एपलाई विस्तार गर्दै लैजान्छौं।'
यसमा महानगरपालिका र उक्त कन्सल्टेन्सी कम्पनीले ५०-५० लाख रुपैयाँ खर्च गरेको छ। कम्पनीले २० जना स्थानीयलाई गाइड प्रशिक्षण पनि दिएको छ। तिनले स्थानीय पथप्रदर्शकका रुपमा पर्यटकलाई थप जानकारी दिने छन्।
२०७४ असोजबाटै एपको काम सुरु भए पनि सफ्टवेयर बनाउन, ट्रान्समिटर राख्न लगायत कामले चैतबाट मात्र प्रयोगमा आएको हो।
‘हामीले बनाएको एपले दरबार क्षेत्रको पूर्ण जानकारी दिन्छ। कतिपयले लामो भयो भनेका छन्। हामी त्यसलाई ध्यानमा राखेर काम गर्दैछौं,’ पाण्डेले भने।
दरबार क्षेत्रमा काम गरिरहेका पर्यटक गाइड भने यसबाट आफ्नो रोजगार गुम्न सक्नेमा सशंकित छन्। पाण्डे भने सहमत छैनन्। पर्यटक गाइडसँग सहकार्य गर्दै एपलाई थप प्रभावकारी बनाउने योजना रहेको उनले बताए।
ललितपुर मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालले साउन ७ गते सम्पदा यात्रा उद्घाटन गरेका थिए। महानगरपालिकाले विश्व बैंकको सहयोगमा चार वर्षदेखि सञ्चालन गरिरहेको ‘प्रो–पुअर अर्बन रिजेनरेसन पाइलट प्रोजेक्ट’ मार्फत् यो काम सुरु गरेको महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
‘यो महानगरको पाइलट प्रोजेक्ट हो। यसले सहरी गरिबी कम गर्ने र उनीहरुको जीवनस्तर बदल्नेछ। दरबार क्षेत्र घुम्ने पर्यटकलाई टेवा पुर्याउने छ,’ उनले भने, 'यसलाई विस्तार गर्दै दरबार क्षेत्र घुम्न एक दिनको प्याकेज बनाउने योजना छ।'
पाटनमा सत्रौं शताब्दीदेखिका कलाकृति देख्न पाइन्छ। सन् १६९३ मा मुख्य दरबारको पश्चिमपट्टि २१ गजुर भएको प्रस्तरजडित कृष्णमन्दिर यहाँको मुख्य आकर्षण हो।
कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमूना भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। यी लगायत दरबार क्षेत्रमा हेर्न, घुम्न र बुझ्नलायक थुप्रै विषय छन्। जसलाई उक्त एपले सहयोग गर्नेछ।