श्रीमतीलाई धम्काउन आफू अपहरणमा परेको नाटक गर्ने तनहुँका २५ वर्षिय शिवराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।
गोगंबु क्षेत्रमा बिजुलीको काम गर्ने घिमिरेले श्रीमती र घरपरिवारलाई तर्साउन बिहीबार बिहान आफू अपहरणमा परेको भन्दै आफन्तलाई खबर गरेका थिए।
आफूलाई ५ जनाको संख्यामा आएका अपहरणकारीले सेतो गाडीमा राखेर अज्ञात स्थानमा लगेको भन्दै प्रहरीलाई जानकारी दिन आफन्तलाई खबर गरेका थिए।
त्यसपछि उनका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौं लगायत प्रहरी युनटिमा खबर गरेका थिए।
घिमिरे अपहरणमा परेको खबर पाएपछि काठमाडौं प्रहरीको विषेश टोली अनुसन्धानमा खटियो।
अपहरणमा परेको नाटक गर्ने घिमिरे बिहान काँडाघाँरी हुँदै सार्वजानिक बस चढेर पनौती पुगेका थिए।
दिनभरी पनौती बसेर साँझ घिमिरे स्वयम्भूमा आएर आफू अपहरणकारीबाट भागेको भन्दै फेरि आफैं खबर गरे।
घिमिरेलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घरमा श्रीमतीसँग झगडा हुने र श्रीमतीलाई तर्साउन अपहरणमा परेको नाटक गरेको खुलासा गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए।
‘बिहानै अपहरणमा परेको भन्दै परिवारबाट खबर आयो, हामीले तत्कालै अनुसन्धान थाल्यौं। हामीलाई बिहानै यो नक्कली अपहरण हो भन्ने शंका लागे पनि अनुसन्धान गर्दै जाँदा त्यस्तै देखियो,’ उनले भने।
कठमाडौं प्रहरीले बिहीबार मात्र सुन लुटिएको भन्दै नाटकीय शैलीमा समितिको एक किलो सुन पचाउन खोज्ने दाङका एक जनालाई पक्राउ गरेको थियो।
काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनारले सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।
१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए।
घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धान गर्दै जाँदा सुन लुटिएको नभएर नाटकीय शैलीमा सुन लुकाएको फेला परेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए। उक्त सुन पचाउन उनले नाटक रचेको प्रहरीले जनाएको छ।
प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।