‘समृद्धि नेपाल वित्तिय संस्था लिमिटेड’का सञ्चालक विभिन्न ब्यक्ति तथा महिला समूहको करौडौं रकम असुलेर फरार भएका छन्।
सेवाग्राहीलाई विभिन्न आश्वसन देखाएर सयौं ब्यक्ति तथा विभिन्न समूहको पैसा उठाएर फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका हुन्।
पीडितकै उजुरीका आधारमा प्रहरीले संस्थाकी सञ्चालिका कोपिला अधिकारीलाई पक्राउ गरेको छ। बाँकी सञ्चालक फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
संस्थाका अध्यक्ष प्रभाकर, संस्थाका सञ्चालक समितिका सदस्य दिपक निरौला, कोपिला अधिकारी, जमुना शाही, मिलन ढकाललगायतका ब्यक्ति मिलेर विभिन्न ब्यक्ति तथा समूहलाई ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।
उनका अनुसार रूपन्देहीमा प्रधान कार्यालय राखेर काठमाडौंका विभिन्न स्थानमा ७ ठाउँमा शाखा कार्यालय खोलेर ठगी गर्दै आएको खुलेको हो।
काठमाडौंको पेस्पीकोला, जडिवुटी, न्यूरोड, इमाडोल, कीर्तिपुर, भक्तपुरसहितका स्थानमा कार्यालय खोलेर करौडौं रकम उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरुले विभिन्न समूहका सदस्यलाई समूह मिलाएर सस्तोमा ऋण प्रदान गर्ने भन्दै प्रतिब्यक्ति सुरूमा ५० हजार रूपैया जम्मा गर्न लगाएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
संस्थाबाट ठगीएका काठमाडौं रामकोटका सुमन गिरीले भने, ‘कार्यालय खोलेर वित्तिय संस्था खोलेको देख्यौं, सस्तो ब्याजमा लगानी गर्ने भन्दै प्रचार गरेको देखेर समूहको पैसा जम्मा गरियो रकम जम्मा भएपछि ऋण दिने कुरा कहाँ हो कहाँ सञ्चालक नै फरार भए।’
पीडितहरुले आफूहरूलाई सदस्य बनाएवाफत ५० हजार रकम लिएको र त्यसको एक रसिद मात्र दिएको बताएका छन्।
त्यसमा पनि बेरोजगारलाई जम्मा गरेर समूह बनाइ सदस्य बन्न लगाएको र रकम उठाएपछि ऋण नदिइ फरार भएको पिडितहरुको गुनासो छ।
५० हजार जम्मा गरेपछि ५ जना भन्दा बढी समूह बनाएर आएमा प्रतिब्यक्ति २ लाख सस्तो ब्याजमा बिना धितो ऋण दिने भन्दै सदस्यता शुल्क उठाउने र पछि आनाकानी गर्दै ऋण नदिने गरेपछि उक्त विवाद प्रहरीमा पुगेको हो।
ठगिनेको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ। अहिलेसम्म १५ जनाले जाहेरी दिएको र २ सय भन्दा बढीलाई ठगी गरेको मौखिक उजुरी आएको प्रहरीले जनाएको छ।