सम्पादकीय नोट: डा. गोविन्द केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बिहीबार प्रहरी हमलाको भिडियो रेकर्डिङ र उक्त हमला क्रममा डा. केसीसँगै रहेका विशद दाहाल र नारायण कँडेलसँगको कुराकानीमा आधारित।)
दुई/तीन दिनअघिदेखि डा. गोविन्द केसीलाई लिन हेलिकप्टर आउँछ रे भन्ने जुम्लामा हल्ला चलेको थियो। हामी उहाँको सुरक्षा निम्ति राति सुत्ने बेला अनसन बसेको कोठाबाहिर चुकुल लगाउँथ्यौं। दिउँसो त बिरामी र विद्यार्थी भइहाल्थे। त्यति डर हुन्थेन।
बिहीबार बिहान हाम्रै वार्ता टोलीका मान्छेले 'हेलिकप्टर पक्कै आउँछ, हिजो राति नै नेकपाको बैठक बसेको छ' भनेका थिए। यो कुरा हामीले सरलाई सुनाएका थिएनौं। तर सरले हामी फोनमा कुरा गरेको सुन्नुभएको रैछ।
उहाँले ‘के भयो’ भनेर सोध्नुभयो।
‘हेलिकप्टर आउँछ भन्छन् सर,’ हामीले भन्यौं।
सायद उहाँको अन्तरआत्मालाई केही महशुस भयो होला। ‘आज आउँछ,’ उहाँले भन्नुभयो।
‘अब के गर्ने त सर?’ हामीले सोध्यौं।
‘एउटा अडियो बनाऊँ।’
त्यसपछि सरले अडियोमा भन्नुभयो- 'म चन्दननाथ बाबाको काखमा छु। मलाई अपहरण नगरियोस्। माग पूरा नभएसम्म म काठमाडौं जान्न। यही तीला नदीको काखमा मर्न तयार छु। म बिरामी होइन, अनसन बसेको मान्छे हुँ।'
अस्पतालभित्र इन्टरनेटले राम्ररी काम नगरेकाले त्यहीँबाट मिडियालाई अडियो पठाउन सकिएन। हामी अडियो पठाउन डाँडामा उक्लियौं।
फर्किने बेला हेलिकप्टर आउने हल्लाखल्ला भइसकेको रहेछ। चिया पसलमा ठूलो हेलिकप्टर आउँछ रे। चारवटा बेड हुन्छन् रे। यस्तायस्तै कुरा भइरहेका थिए। खलंगा बजारका सडकभरि प्रहरी छ्याप्छाप्ती थिए। अस्पतालमा एचए र नर्सिङ विद्यार्थी भेला भएका थिए।
हामी अस्पताल पुगेपछि सबै जना साङ्लो बनाएर बस्यौं। टिचिङमा पनि बेलाबेला यस्तै गर्थ्यौं। प्रहरीले अस्पतालभित्रै आएर लाठी हान्छ भन्ने त हामीलाई दस मनमा एक मन पनि थिएन।
अस्पतालको चेनगेट पनि लगाउनुपर्छ भन्ने कुरा आयो। होस्टलबाट चाबी मगाएर तीनतिर रहेका चेनगेटमा ताला लगायौं। ताला त प्रहरीले फुटाउँछ भनेपछि गेटपछाडि स्ट्रेचर र डेस्कहरु थुपार्यौं। अिन त्यसको पछाडि हामी बस्यौं।
अस्पताल हाताबाहिर स्थानीय थिए। यी सबै घेरा तोडेर प्रहरी भित्र आउँदैनन्, आए पनि एक/डेढ घन्टामा फर्केर जान्छन् भन्ने सोच्यौं।
दस बजेतिर हेलिकप्टरको आवाज आयो। हामीले झ्यालबाट हेर्यौं। हेलिकप्टर नेपाली सेनाको गणमा बस्यो। सबै जना कराउन थाले। होहल्ला भयो। सरसम्म आवाज नपुगोस् भनेर दुवै ढोका बन्द गरिदियौं।
‘केही भएको होइन सर, विद्यार्थी जम्मा भएका हुन्, काठमाडौंबाट वार्ता गर्न सचिव आएका छन् रे, के गर्ने सर?’ हामीले भन्यौं।
‘हैन, मलाई कसैलाई भेट्नु छैन। उनीहरूले मलाई ब्ल्याकमेल गर्छन्, नभेट्ने। फेरि डा. केसीले यस्तो भन्याथ्यो भनेर प्रचार गरिदिन्छन्। चिकित्सा शिक्षा विधेयक पास गर, म आफैं आउँछ,’ उहाँले भन्नुभयो।
केही बेरमा कर्णालीका मुख्यमन्त्री र गृहमन्त्री आउनुभयो। गृहमन्त्री नरेश भण्डारी जुम्लाकै स्थानीय भएकाले सरासर अस्पतालभित्र छिर्नुभयो। बाहिर बसेका मान्छेले पनि त्यहीँका नेता भएकाले छिर्न दिए।
भित्र अस्पतालका डाक्टर र हामीले 'सरले नजाने भन्नुभएको छ, गेट पनि लक गरिएको छ। किन जबर्जस्ती गर्नुहुन्छ' भन्यौं।

‘वार्ता टोलीलाई पनि भेट्न नदिने हुन्छ,’ उहाँ जंगिनुभयो।
‘पूरै लक खोल्नुपर्छ। सरले पनि मान्नुभएको छैन। किन जबर्जस्ती गर्नुहुन्छ,’ हामीले सकभर भित्र जान नदिने हिसाबले कुरा गर्यौं।
उहाँ मुस्कुराउँदै निस्केर गाडीसम्म जानुभयो। उहाँले कुरा मिलाउनुहुन्छ होला भन्ने हामीलाई लाग्यो। बाहिर जम्मा भएकाहरुले पनि 'हाम्रा नेताले कुरा मिलाए, सरलाई लैजादैनन्' भन्दै गृहमन्त्री हाइ हाइ भनेर नारा लगाए।
उहाँसँगै पहिलो घेरामा रहेका प्रहरी पनि गइसकेका थिए। हामीलाई लाग्यो- सरकार पछि हट्यो।
हामी सरको कोठामा पुगेर भन्यौं- 'सर, उनीहरू फर्किए।'
त्यही बेला एक्कासि ठूलो आवाज आउन थाल्यो। स्थानीयलाई लाठी हानेर प्रहरी भित्र छिरेका रहेछन्। सुरूमा १०/१५ जनाजति मात्र छिरेका थिए।
अस्पतालभित्र पसेपछि सुरूमा इमर्जेन्सी वार्ड आउँछ। त्यहाँ ६ जना सिस्टर हुनुहुँदो रहेछ। अपरेसन कक्षका सिस्टर पनि त्यहीँ आउनुभएको रहेछ। सुरूमा प्रहरीले उहाँहरूमाथि लाठी हान्यो। महिला प्रहरी थिएनन्। प्रहरीको लाठी लागेकी एक जना सिस्टरलाई छ टाँका लगाउनु पर्यो।
.jpg)
उनीहरूलाई तितरबितर पारेर प्रहरी भित्रको करिडोरमा छिर्यो। चेनगेटमा विद्यार्थी बसेका थिए। हामी सरको कोठाबाट बाहिर निस्कन लागेका थियौं। उत्तेजित प्रहरीले सरलाई नै लाठी हान्लान् भन्ने सोचेर हामी दुई जना उहाँकै छेउमा बस्यौं।
तलबाट भयानक आवाज आउन थाल्यो। प्रहरीले चेनगेट तोडेछ। विद्यार्थीले माथिबाट कुर्सीले हानेछन्। त्यसबाट बच्न प्रहरीहरू शिशा फुटाएर बाहिर निस्केछन्।
एकछिनमा अश्रुग्यासको गन्ध आयो। जताततै ग्यासै ग्यास भयो। त्यसले अस्पतालभित्र आगलागीको साइरन बज्न थाल्यो। एकातिर सिसा फुटेको र साइरनको आवाज, रोइकराइ गरिरहेका मान्छे, अर्कातिर ग्यासै ग्यास।

सरले केही बोल्न सक्नुभएन। अह्ररिएर बस्नुभयो। मनिटरमा उहाँको मुटुको चाल दुई सय पुगेको देखियो।
हामी आत्तियौं। उहाँका भाइबुहारीलाई 'हेर्दै गर्नू है' भनेर बाहिर निस्कियौं।
बाहिर त भागदौड मच्चिएको छ। प्रहरीको लाठी लागेर थुप्रै विद्यार्थी घाइते भइसकेका। घाइते विद्यार्थीलाई बोकेर छततिर ओसार्दै गरेको हामीले देख्यौं। सबैभन्दा तलको इमर्जेन्सी वार्डमा लैजान सम्भव नभएकाले घाइतेलाई छततिर ल्याइरहेका थिए।
हामीले चाबी लगाएको एउटा वार्डको शिशा फुटाएर घाइतेलाई त्यहाँ राख्न भन्यौं। कति जना लाठी लागेर बेहोस भए। कति अश्रु ग्यासको गन्धले बेहोस भए। कति जना अरूलाई देखेर आत्तिएरै बेहोस भए।
केहीले अस्पतालभित्र स्थानीय पनि छिरे भन्छन् तर उनीहरू प्रहरी घेरा तोडेर भित्र छिर्न सम्भव थिएन।
झन्डै ४५ मिनेट झडप भइरह्यो। करिब ४० जना घाइते भए।
सरले 'जसरी हुन्छ, यो रोक, म जान्छु' भन्न थाल्नुभयो। बच्चाजसरी रून थाल्नुभयो।
हामीले काठमाडौंमा वार्ता टोलीलाई फोन गर्यौं। कांग्रेस नेता गगन थापा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग हाम्रो कुरा भयो। उहाँहरूले हुन्छ भन्नुभयो तर केही गर्न सक्नुभएन।
केही बेरमा आवाज रोकियो। अस्पतालबाहिर गैह्रागाउँदेखि भण्डारीगाउँसम्मका मान्छे आएर जम्मा भएका रहेछन्। उनीहरूको एउटै कुरा थियो- हामी यत्रो भिडिसक्यौं। डा. केसीलाई हामी कुनै हालतमा जान दिन्नौं। यहीँ बसेर माग पूरा हुनुपर्छ। उनीहरु यही भन्दै नाराबाजी गर्न थाले।
‘के गर्ने सर, सबै जना जम्मा भएका छन्, यत्रो सद्भाव पनि छ,’ हामीले सरसँग सोध्यौं।
एकछिनमा सरले भन्नुभयो- 'अपहरणकारीको हेलिकप्टरमा जान्न। एक त सरकारको खर्च, अर्को म सरकारसँग झुकेजस्तो हुन्छ। विद्यार्थी र यहाँका कर्मचारीको ज्यान बचाउन म भोलि जान्छु। तर यिनीहरूसँग झुकेर, डराएर, यिनीहरूको खर्चमा जान्न। सुर्खेतबाट जहाजमा जान्छु।'
सिडिओले कुनै हालतमा मानेनन्। जसरी पनि आजै लाने हो भन्न थाल्नुभयो।
तल डिएसपी तपनकुमार दाहालले नै माइकिङ गरेछन्- 'हाम्रो एक जना साथी मर्नुभयो। तपाईंहरू यस्तो अवस्थामा के गर्ने हो आफैं विचार गर्नुस्।'
यस्तो माइकिङपछि प्रहरी झन उत्तेजित भयो। प्रहरी आफैं पनि घाइते भएका थिए। एसपीकै हातमा चोट लागेको थियो।
डिएसपी दाहाल यति उत्तेजित हुनुहुन्थ्यो, उहाँ बुट लगाएरै अनसनस्थलमा आउनुभयो। उहाँलाई हामीले 'अनसनस्थलमा बुट खोलेर पस्नुस् सर' भन्दा पनि मान्नुभएन।
हामीले पत्रकार सम्मेलन गर्छौं भन्यौं।
उहाँले पत्रकार सम्मेलन गर्न दिनुभएन। आक्रोशित हुँदै भन्नुभयो, 'दस मिनेटमा रेडी हुनू, नभए फायर ओपन हुन्छ।'
हामी त के गर्ने के गर्ने भयौं। केही बेरअघिको आवाज र प्रहरीको माइकिङले पहिल्यै गोली चलेजस्तो लागेको थियो। त्यसमाथि डिएसपी दाहालको चेतावनीले अस्पतालभित्रै गोली चलाउनेहरुले जे पनि गर्न सक्छन् भन्ने लाग्यो।
.jpg)
सरले त्यसपछि आत्मसमर्पण गरेजस्तो गरी 'जसरी लैजान्छौ, लैजाऊ, म जान्छु' भन्नुभयो।
पाँच मिनेटमा तल पुगेर सरले स्थानीयलाई भन्नुभयो- 'तपाईंहरूले मलाई बचाउनु होला, म यहाँबाट नजाउँला तर त्यसका लागि कस्तो मूल्य चुकाउने? मलाई यहाँ रोक्न एक/दुई जनाको ज्यानको मूल्य तिर्नुपर्ने कुरा बुझ्नुभएको छ।'
उहाँहरूले सरको कुरा बुझेजस्तो गर्नुभयो। धेरै जना रूनुभयो। केही आमाहरुले सयपत्रीको माला उनेर ल्याउनुभएको थियो। अस्पताल वरिपरि हामीले सयपत्री देखेका थिएनौं। आमाहरुले सरको विदाइ गर्न त्यति कम समयमै माथिबाट सयपत्री ल्याएर माला पनि उनिसक्नुभएछ।
.jpg)
ती आमाहरु सुरुदेखि आउनुहुन्थ्यो। अन्यत्र यस्ता काममा पुरुष अघि लागेको देखिन्छ। जुम्लामा भने पुरुषभन्दा महिला सक्रिय देख्यौं।
उहाँहरुले जाने बेला क्याम्पसम्मै पछ्याउनुभयो। ती आमाहरु अस्पतालमा उपचार गर्न जम्मा हुनुभएको थिएन। सरलाई भेट्न र हेर्न भनेरै माथि गाउँगाउँदेखि आउनुभएको थियो। हामीले सोध्दा आमाहरुले भन्नुभएको थियो, 'हामी जचाउन आया हैनौं। पहिला हाम्रा गाउँमा हामीन जचाउन आया डाक्टरन भेट्न आया हम्।'
काठमाडौंमा हामी डा. केसीका माग पूरा गर भन्छौं तर जुम्लाका स्थानीय र आमाहरुले 'डाक्टर केसीका माग हाम्रै माग हुन्' भन्दै हाम्रा माग पूरा गर भनेर नारा लगाउनुभयो।
हिँड्ने बेला पनि केहीले जान दिन्नौं भनेर घचेटाघचेट भयो। त्यतिबेला केहीले ढुंगा पनि जम्मा पारेका रहेछन्। तिनै ढुंगा प्रहरीको गाडीमा प्रहार भयो। प्रहरीको गाडीमा लागेको ढुंगा उछिट्टिएर डाक्टर केसीलाई राखेको एम्बुलेन्ससम्म आइपुगेको थियो।
.jpg)
भीड तितरबितर पार्न त्यहाँ पनि दुई राउन्ड हवाई फायर भयो।
त्यो भीडले गाडी रोक्न बाटोमा पनि ठूल्ठूला ढुंगा पल्टाइदिएका थिए। घुमाएर अर्को बाटो लैजान खोज्दा त्यहाँ पनि उनीहरूले ढुंगा र मुढा राखिसकेका थिए। उनीहरूलाई डाक्टर केसीलाई काठमाडौं पठाउन मनै थिएन।
ब्यारेकमा ल्याएर केसीलाई हेलिकप्टरमा राखियो। सरले सोध्नुभयो- 'हामीलाई कहाँ लैजान लागेको? तपाईंहरूसँग पक्राउ पुर्जी छ?'

‘तपाईंलाई काठमाडौं लैजाँदै छौं,’ उनीहरुले भने।
कुन अस्पताल लैजानुहुन्छ? भनेर सोध्दा उत्तर दिएनन्।
नेपाली सेनाका दुई जना डाक्टरले भने राम्रो व्यवहार गर्नुभयो।
पच्चीस मिनेटपछि हेलिकप्टर सुर्खेत पुग्यो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि त्यही हेलिकप्टरमा आउनुभएको रहेछ। उहाँहरू त्यहीँ झर्नुभयो। इन्धन हालेपछि हेलिकप्टर काठमाडौंका लागि उड्यो। टुँडिखेलमा अवतरण हुनुअघिसम्म हामीलाई कहाँ जाने हो पत्तो थिएन।
सरलाई हेलिकप्टरमा ल्याएपछि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शान्त भइसकेको थिएन। सबै डाक्टर अपरेसन कक्षमा हुनुहुन्थ्यो। गोली लागेको भनिएका प्रहरी आफैं सुरूमा इमर्जेन्सीमा जानुभएको रैछ। आफैं कुटाइ खाएर बसेका सिस्टरले हामी हेर्दैनौं भन्नुभएछ सुरूमा। एकछिन उहाँ भुइँमा लडेपछि उहाँलाई उठाउनु भएछ। छाम्दा रक्तचाप नै रहेनछ। उहाँको छातीबाट रगत ह्वाल्ह्वाल्ती बगेको रैछ।

उहाँको एक्सरेमा लिइयो। एक्सरे गर्दा फोक्सोभरि रगतै रगत देखियो। चेस्टट्युब हालेर रगत थाप्दा धाराबाट पानी आएजस्तो रगत आयो।
त्यसपछि अपरेसन कक्षमा लगियो। उहाँको छाती चिरियो। मुटुको दाहिनेतिरको भित्तामा पाँच मिलिमिटर प्वाल परेको देखियो।
त्यहाँ जनरल सर्जन मात्र थिए, यस्तो केसमा कार्डियोभास्कुलर सर्जनले मात्र अपरेसन गर्न सक्छन्। जनरल सर्जन, जसले आफैं लाठी खाएर टाउकोमा छ टाँका लगाउनु परेको थियो, उहाँले मुटुको छेउमा टाँचा लगाइदिनुभयो।
अपरेसन गर्नुअघिको एक्सरेमा दायाँछेउ धातुजस्तो चिज देखिएको थियो। झडप हुँदाको आवाज, प्रहरी आफैंले गरेको माइकिङ र धातुजस्तो चिज देखिएपछि सबै डाक्टर निष्कर्षमा पुग्नुभयो- यो गोली नै हो। पूरै चिरेर निकाल्नुपर्छ अब।

त्यसपछि उहाँलाई नेपालगन्ज ल्याउनुपर्ने कुरा भयो। राति भइसकेकाले हेलिकप्टरले सिंग्नल नै पाएन। पाइलटले म उडाउँछु भनेपछि सिडिओले अनुमति दिनुभयो।
नेपालगन्ज ओर्लेपछि पाइलट भन्नुहुन्थ्यो- कालिकोटको आकाशमाथि मैले केही पनि देखेको थिइनँ। यतै यतै होला भनेर अनुमानको भरमा चलाएर ल्याएँ। उहाँले ठूलो जोखिम मोलेर ल्याउनुभएको रहेछ।
नेपालगन्जमा पनि घाइतेलाई आइसियुमा राखियो। त्यहाँ गरेको एक्सरेमा छातीको दायाँतिर देखिएको धातुजस्तो चिज देखिएन। काठमाडौंमा गरिएको एक्सरेमा पनि त्यो देखिएन।
अहिले सर्जनहरू बुलेटलेस अरू केही कुरा पसेको हुनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ।
हामीले घाइते प्रहरीसँग कुरा गर्यौं। उहाँले भन्नुभयो, 'पूरै धुँवैधुँवा थियो। शिशाको ढोका खोल्दा केही उछिट्टिएर आयो र छातीमा लाग्यो, धुँवाले त्यो चिज देखिनँ, मैले हातले त्यो निकालेँ।'
आज उहाँ धेरै निको भइसक्नुभएको छ। आइसियुबाट वार्डमा सर्नुभएको छ।
आज भेट्दा भावुक भएर उहाँले भन्नुभयो- 'मलाई दोस्रो जीवन दिने जुम्लाका ती डाक्टरप्रति निकै आभारी छु।'