काठमाडौं उपत्यकामा हप्ता असुलीदेखि ठेक्कापट्टामा रकम उठाउने विभिन्न आपराधिक गतिविधिमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गर्यो।
आर्थिक वर्ष २०७४/७५मा काठमाडौं प्रहरीले १६ जना गुण्डागर्दीमा संलग्न ब्यक्तिलाई पक्राउ गर्यो।
एसएसपी विश्वराज पोखरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि उनले गुण्डागर्दी विरूद्धको अभियाननै सञ्चालन गरे।
सोही अभियान अन्तर्गत ४ नम्बर प्रदेश सभा सदस्य राजिव गुरूङ (दिपक मनाङ्गे) प्रतिनीधि सभामा उठेर पराजित काभ्रेका गणेश लामासहित १६ जनालाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गर्यो।
सांसद मनाङ्गेलाई सर्वोच्च अदालतको फैसलाले सजाय सुनाएको थियो। अर्का गुण्डा नाईके चक्रे मिलनलाई कुटपिट गरेको घटनामा सर्वोच्चले दोषि ठहर गरेको थियो।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा उठेर पराजित भएका काभ्रेका गणेश लामा राजधानीको गौशालाबाट फागुन ३० गते ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परे।
हातहतियार तथा खरखजना मुद्दामा काठमाडौं जिल्ला अदालतले लामालाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। लामा अहिले डिल्लीबजार कारागारमा छन्।
काठमाडौं प्रहरीले राजधानीको ठमेल र ज्याठा क्षेत्रमा गुण्डागर्दी र जवर्जस्ती रकम असुली गरेको आरोपमा असार २ गते २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गर्यो।
त्यसैगरी गत जेठ ३० गते काभ्रे देउराली ८ घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरूङलाई पनि प्रहरीले गुण्डागर्दीकै आरोपमा पक्राउ गर्यो।
प्रहरीका अनुसार विभिन्न ब्यक्तिको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुको साथबाट रिवल्भर र एक थान खुकुरीसमेत बरामद गरेको थियो।
उनीहरु दुवै जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाएको छ।
त्यसैगरी गत असार २० गते ठमेल, दरबारमार्गलयायतका क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सपन भनिने विमल तुङ्गेली मगर पनि पक्राउ गरे।
प्रहरीले गुण्डागर्दी गरेको आरोपमा मगरलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी काठमाडौंको गोंगबु क्षेत्रमा गुन्डागर्दी गर्दै आएका सुरेश डंगोलसहित अन्य ४ जनालाई पनि नियन्त्रणमा लियो।
त्यसैगरी बालुवाटार क्षेत्रमा रहेर गुण्डागर्दी गर्दै आएका सत्यमान तामाङलाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो। तर, उनलाई केही समयमै नेकपाकी सांसद नविना लामाले जमानीमा छुटाइन्।
‘गुण्डागर्दीमा संलग्न भएको उजुरीका आधारमा हामीले विभिन्न ब्यक्तिलाई पक्राउ गरेका हौं’, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सेतोपाटीसँग भने, ‘संगठन प्रमुखको स्पष्ट निर्देशन छ, गुण्डागर्दी गर्ने र समाजमा त्रास फैलाउने कोहीलाई पनि बाँकी नराख्नू।’
समाजमा गुण्डागर्दी गर्दै त्रास फैलाउने जो कोहीलाई चाहे सांसद हुन् या अरू कोही कसैलाई नछोड्ने पोखरेलले दाबी गरे।
अदालतले दोषी सावित गरेका सांसद दिपक मनाङ्गेदेखि हतियारसहित पक्राउ परेका गणेश लामालाई कानुनी दायरामा ल्याएको भन्दै पोखरेलले विभिन्न क्षेत्र र टोलटोलमा आतंक मच्चाउनेलाई पनि कानुनी दायरामा ल्याएको बताए।
‘हामीले पक्राउ गरेका केही ब्यक्ति धरौटीमा छुटे पनि उनीहरुको दैनिक निगरानी राख्ने गरेका छौ, दाँया बाँया भयो भने फेरि पक्राउ गर्नेछौ,’ उनले भने।
काठमाडौंलाई केही समय भित्रै गुन्डागर्दी मुक्त शहरको रूपमा विकास गर्ने पोखरेलले बताए।
‘काठमाडौंमा गुण्डागर्दी अन्त्य गर्ने अभियानमा हामी लागेका छौ, मेहनत नगरी अरूको पसिना खानेलाई प्रहरीले त्यसै छाड्दैन,’ एसएसपी पोखरेलले भने।