प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक फेजन खान, अदिल खान र सिद्द मोहम्मद कसिफ रहेका छन्।
उनीहरूले मुखभित्र राखी जिब्रोमुनि लुकाईछिपाई सुन ल्याएको प्रहरीले बताएको छ।
विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बुधबार एयर अरेबियाको फ्लाइट नम्बर G९५३९ द्वारा युएईको सरजाहबाट बिहान ९ : ३० बजे त्रिभुवन विमानस्थलको आगमन एरियाबाट प्रहरी चेकिङको क्रममा ५ सय ९ ग्राम सुनसहित पक्राउ परेको जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
यसअघि मंगलबार अवैध सुनसहित २ भारतीयलाई पक्राउ गरेको थियो।
सरकारले केही समयअघि गठन गरेको एक समितिले पछिल्ला पाँच वर्षमा विमानस्थल हुँदै ३८ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको थियो।