तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डको छानबिन गर्न बनेको समितिले गोरे भनिने चुडामणि उप्रेती नै नेपालमा सुन तस्करीको ठूलो समूह भएको निष्कर्ष निकालेको छ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले अहिलेसम्म जुटेका प्रमाणका आधारमा गोरेको समूह नै ठूलो सुन तस्कर भएको निष्कर्ष निकालेको हो।
समितिले तस्करीको ३३ किलो सुन कहाँ गयो भन्ने मुख्य प्रश्नको रहस्य भने सुल्झाएको छैन तर सुन तस्करीका महत्वपूर्ण तथ्यहरू सतहमा ल्याइदिएको छ।
मोरङका सनम शाक्यको हत्याको छानबिन गर्न मन्त्रिपरिषद्ले चैत २० समिति बनाएको थियो। सुरुमा ४५ दिन तोकिएको भए पनि सुन तस्करीको रहस्य थप खुल्दै गएपछि समितिको म्याद थपिएको थियो।
तस्करीका मुख्यअभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को समूहले नै ५ वर्षको अवधिमा हवाई मार्गबाट मात्र ३८ सय किलो सुन तस्करी भएको समितिले निष्कर्ष निकालेको छ।
समितिले दुबईबाट सुन पठाउनेदेखि नेपालमा सुन ‘रिसिभ’ गर्ने अनि सुनमा लगानी गर्ने भुजुङ गुरुङदेखि मोहन अग्रवालको पहिचान गरेको छ। त्यसैगरी सुन तस्करीलाई सघाएको आरोपमा नेपाल प्रहरीका एसएसपी, एसपी, डिएसपी तथा सनम शाक्य घटनालाई दबाउन खोजेको अभियोगमा तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख, डिएसपी र सईलाई पक्राउ गरी थुनामा राखिएको छ।
समितिले ५ वर्षमा ३८ सय किलो सुन कसरी तस्करी हुने गरेको थियो? भन्ने पनि बेलिविस्तार उतारेको छ। दुबईबाट सुन पठाउने गोरेका भाइ, सहयोगी, विमानस्थलमा सेटिङ गर्ने प्रहरी, विमान कम्पनीका कर्मचारी तथा बजारमा लैजाने भरियाको पनि समितिले पहिचान गरेको छ। सुन तस्करी र हुण्डीको एकअर्कामा सम्बन्धित भएको निष्कर्षमा पुगेको समितिले हुण्डी कारोबारमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ।
स्रोतका अनुसार हुण्डीको कारोबार गर्नेको अरू पनि छन्। उनीहरूको पनि सूचना संकलन गरिसकेको र अब पक्राउ गर्न प्रहरीलाई सिफारिश गर्ने समिति स्रोतले जानकारी दियो।
समितिले मोरङ प्रहरीमार्फत् प्रहरीका पूर्वडिआइजी, बहालवाला एसएसपीलगायत ९ जनासहित ७९ जनालाई मुद्दा दायर गरेको छ। शंकास्पद केहीलाई अहिले पनि मोरङ प्रहरीले अनुसन्धान जारी राखेको छ।
तीमध्ये केहीलाई प्रमाण पुर्याएर पक्राउ गर्न प्रहरीलाई सिफारिस गर्न लागेको छानबिन समितिले जनाएको छ। समितिका एक सदस्यले यो प्रकरणमा जोडिएका थप व्यक्तिबारे पनि प्रहरीलाई जानकारी दिइएको र भविष्यमा उनीहरू पक्राउ पर्ने बताए।
१०० दिनमा समितिले के-के गर्यो?
२२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनलाई तेलको ट्याकंरले ठक्कर दियो।
गुड्दै गरेको ट्यांकरमा ठोक्किएर उनको मृत्यु भएको भनियो। तर छानबिन समितिले सिसिटिभी फुटेजलाई केलाएर हेर्यो, बन ट्याकंरमा आफैं ठोकिएको देखियो।
एक महिनापछि फागुन १९ गते गोरे समूहले मोरङ उर्लाबारी- ७ का ३५ वर्षीय सनम शाक्यको हत्या गर्यो।
तस्करीको ३३ किलो सुन सनमले नै लुकाएको भन्दै गोरे समूहले यातना दिने क्रममा उनको मृत्यु भएको थियो।
सनम सुन तस्करी समूहका एकाउन्टेन्टका रूपमा काम गर्ने गरेको समितिको अनुसन्धानमा देखिएको छ।
शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न हिँडेको गाडी प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले नाटकीय शैलीमा नियन्त्रणमा लियो।
भारततिर लैजाँदै गर्दा विराटनगर-३, गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोर्पियोमा शाक्यको शव फेला पारेको महाशाखाले जानकारी गरायो।
प्रहरीले ३० वर्षीय गाडी चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्यो। उर्लाबारीकै ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्कीलाई पनि महाशाखाले पक्राउ गर्यो।
गाडीभित्रबाट महाशाखाको टोलीले १२ भोल्टका दुई ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड लगायतका सामग्री बरामद गरेको थियो।
सनमले सुन गायब बनाएको आशंकामा तस्करहरूले करेन्ट लगाई यातना दिँदा उनको मृत्यु भएको थियो। सनमको मृत्युपछि समूहका नाइके ‘गोरे’ भारत भागे।
महाशाखाका प्रहरी अधिकारी भने उनलाई पक्राउ गर्नेभन्दा पनि भगाउनेतर्फ लागेको रहस्य छानबिन समितिको अनुसन्धानबाट खुल्यो।
महाशाखाको टोलीले गोरेको नाम प्रहरी प्रतिवेदनसमेत उल्लेख गरेन। त्यसपछि ३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी नै शंकाको घेरामा परे।
तस्करसँग मिलेमत्तोको आशंकामा गृहमन्त्रालयको निर्देशनबमोजिम प्रहरी प्रधान कार्यालय लोहनीलाई चैत २२ गते जिम्मेवारीबाट हटायो।
उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भए।
३० चैतमा ३३ किलो सुन काण्डको अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीको रहस्यमय मृत्यु भयो।
अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनले सुरुवालको इजारले बाथरुमभित्र झुन्डिएको अवस्थामा प्रहरीले फेला पार्यो।
चौधरी ३० वर्षदेखि त्रिभुवन विमानस्थलमा लोडर थिए। ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले वैशाख ९ गते पूर्वडिआइजी गोविन्द निरौलालाई पक्राउ गर्यो।
चैत २८ मा अवकाश पाएका निरौलालाई अहिले पुर्पक्षका लागि जेलमा छन्। गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रूपमा कार्यरत निरौलालाई तस्करीमा सघाएको खुलेपछि त्यहाँबाट हटाइएको थियो।
बहालवाला एसपी विकासराज खनाललाई पनि समितिले पक्राउ गर्यो। त्यतिबेला उनी मकवानपुरका प्रहरी प्रमुख थिए। खनालको मुख्य तस्करसँग सम्पर्क रहेकाले नियन्त्रणमा लिएको समितिको दाबी छ।
जेठ ८ गते सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परे। गौरीघाटबाट पक्रेको भनिए पनि उनलाई भारतबाट पक्राउ गरिएको हो।
समितिले नाम चलेका सुन व्यापारीदेखि घराना व्यवसायीसम्मलाई नियन्त्रणमा लियो। जेठ २५ गते ३८ सय किलो सुन तस्करीको अभियोगमा फरार व्यापारी मोहन अग्रवाल एमकेको घरमा प्रहरीले छापा मार्यो।
उनको घरबाट प्रहरीले केही महत्वपूर्ण कागजपत्र समेत फेला पारेको थियो। अग्रवाल भने अझै फरार छन्। तिनै कागजपत्रको आधारमा अर्का व्यवसायी विमल पोदार भने पक्राउ परेका छन्।
समितिले गएको जेठ २८ गते सुन तस्करी प्रकरणमा अभियुक्त राजेन्द्रकुमार शाक्यको न्युरोडस्थित आरके ज्वेलर्सका तीन वटा पसलमा छापा मार्यो। ४९ वर्षीय आरके भनिने राजेन्द्रकुमार शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
जेठ ३० गते सुन प्रकरणलाई लिएर प्रहरीले ‘बाजेको सेकुवा’का आउटलेटहरूमा छापा मार्यो। अनामनगरलगायत काठमाडौंभित्रका बाजेको सेकुवाका आउटलेटहरूमा छापा मारी पाँच वटामा सिलबन्दी गरिएको छ।
१०० दिनको अनुसन्धानपछि समिति यतिखेर प्रतिवेदन तयार गरिरहेको छ। प्रतिवेदनमा विमानस्थलबाट हुने सुन तस्करी रोक्न गर्नु पर्ने कामबारे पनि सरकारलाई सुझाव दिइने एक सदस्यले जानकारी दिए।
‘सुन तस्करीका धेरै कुरा खुलेका छन् तर यथेष्ट प्रमाण जुटाउन सकिएको छैन,’ सेतोपाटीसँग कुरा गर्दै ती सदस्यले भने, ‘भविष्यमा प्रमाण जुटे ती व्यक्ति पनि कानूनी दायरामा आउनेछन्।’