ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरूङ पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरूङलाई पक्राउ गरेको हो।
भारतीय कलाकार सलमान खान ल्याउने भन्दै टिकट बिक्री गरि ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले सेतोपाटीलाई बताए।
उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन् । त्योबेला बिक्री गरिएका टिकटको रकम फिर्ता नगरी सलमान केही समयपछि आउने गुरुङले बताउँदै आएका थिए ।
टुँडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट दुई पटक स्थगित भएको थियो। अन्तिमपटक गत मार्च १० गतेका लागि तय भएको उक्त कन्सर्ट विप्लप नेतृत्वको नेकपा माओवादीको चेतावनीका कारण स्थगित गर्नु परेको त्यतिबेला ओडिसी इन्टरटेन्मेन्टले जनाएको थियो।
सिमान्तले दबङ द टुरका लागि ३ हजारदेखि २० हजारसम्मको टिकट बिक्री गरेका थिए। कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम रहेको सिमान्तले बताउँदै आएका थिए।