काठमाडौंका स्थानीय सम्पदाप्रेमीहरूले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन्।
धार्मिक एवम् पूरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन्।
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानी पोखरीको सफाई गरेका थिए। सोही क्रममा रानी पोखरीको पुनर्निर्माणमा गति दिन दवाव स्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए।
रानीपोखरीको सफाई सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए।
त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानी पोखरी पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरिन्। उनले रानी पोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन्।
रानीपोखरीको पुनर्निर्माणमा ढिलाई भएकोमा काठमाडौं महानगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानी पोखरी र त्यहाँस्थित गोपालेश्वर मन्दिरको पुननिर्माणको कामलाई गति दिने काठमाडौं महानगरपालिकाले पटक–पटक प्रतिवद्धता जनाएपनि सोही अनुसार काम हुन सकेको छैन।