दैनिकजसो टिपरले दुर्घटना गराएको, साना सवारीमा सवार व्यक्तिको ज्यान लिएको वा पैदल यात्रुलाई ठक्कर दिएको खबर आउँछन्। ट्राफिक प्रहरीको अनुसन्धानअनुसार ८० प्रतिशत दुर्घटनाको कारण चालक लापरबाही हो। चालक लापरबाहीको कारण हो, फितलो कानुनी व्यवस्था।
‘यस्ता दुर्घटनामा मालिक र चालककै सबभन्दा धेरै गल्ती देखिन्छ,’ ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथुले भने, ‘कानुन फितलो हुनुले चालक लापरबाह भएका हुन्। नेपालमा चालकलाई कडा कारबाही गर्ने कानुन छैन। भए पनि कसो कसो उम्किहाल्छन्।’
उनका अनुसार दुर्घटना भएको २४ दिनसम्म चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउने र त्यसपछि अदातलमा मुद्दा बुझाउने कानुनी व्यवस्था छ। धेरैले प्रहरीसँग मिलेमतो गरेर सात दिनमै छुट्कारा पाउँछन्।
गत साउन र भदौमा टिपर र ट्रकको ठक्करले ललितपुरमा दुई जनाको ज्यान गएको थियो। दुवै घटनामा प्रहरीले चालकलाई २४ दिन थुनामा राखेर जिल्ला सरकारी वकिलको कार्यालय बुझायो। दुवै घटनामा चालकलाई दुई वर्ष कैद सजाय भयो।
कानुनअनुसार सामान्य सवारी मुद्दामा चालकलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था छ। लापरबाहीपूर्वक गाडी चलाएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत ५ देखि १२ वर्ष कैद हुने व्यवस्था पनि छ। तर, सवारी दुर्घटना गराएर ज्यान लिएको चालकले समेत यो हदसम्म सजाय पाएको रेकर्ड छैन।
जिल्ला सरकारी वकिल कार्यालय पाटनका सहायक जिल्ला न्यायधिवक्ता रमेश भट्टराई सवारी ज्यान मुद्दामा अहिलेसम्म दुई वर्ष कैदबाहेक अन्य सजाय नभएको बताउँछन्। ‘कानुनमा ५ देखि १२ वर्ष कैद सजाय हुने व्यवस्था भए पनि दुई वर्षभन्दा धेरै सजाय भएको जानकारी छैन,’ उनले भने।
यो ललितपुरको मात्र अनुभव होइन। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएका मुद्दामा पनि चालकले दुई वर्ष मात्रै सजाय पाएको जिल्ला सहायक न्यायधिवक्ता तारानाथ शर्माले बताए।
‘पीडित पक्षलाई जिल्ला प्रशासन कार्यालयमार्फत् पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ। चालकलाई भने दुई वर्षभन्दा बढी सजाय भएको थाहा छैन,’ उनले भने।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी दुर्घटनामा ज्यान गए निम्न सजाय हुने व्यवस्था छः
(१) ज्यान मार्ने मनसाय लिई दुर्घटना गराएको भए सवारी चालकलाई सर्वस्वसहित जन्मकैद हुनेछ। ज्यान मार्ने मनसाय लिए पनि ज्यान नगएको अवस्थामा पाँचदेखि १२ वर्षसम्म कैद हुनेछ।
(२) कसैको ज्यान जानसक्ने गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको रहेछ र यसबाट मृत्यु भएको रहेछ भने चालकलाई दुईदेखि १० वर्षसम्म कैद हुनेछ।
(३) लापरबाही देखिएन, तर दुर्घटनामा गाडीभित्र वा बाहिर बस्नेको मृत्यु भएको रहेछ भने चालकलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ।
‘हामीले ज्यान मार्ने मनसाय हो भनेर त्यसैअनुसार मुद्दा लिएर गयौं भने पनि अदालतले घटाएरै सजाय गर्छ,’ न्यायाधिवक्ता भट्टराईले भने, ‘अदालतले दिने भनेको दुई वर्ष सजाय नै हो। कानुनमा त २ देखि १० वर्षको सजाय व्यवस्था नै छ।’
उनका अनुसार एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने भनिए पनि कतिपय मुद्दामा एक महिना मात्र सजाय भएको छ।
चोरी, डकैती, लागुऔषध दुर्व्यसन लगायत मुद्दामा दोहोरिएर पक्राउ पर्नेलाई थप सजाय हुन्छ। सवारी मुद्दामा भने त्यस्तो हुँदैन।
कतिपय अवस्थामा चालकलाई सजाय नै नहुने व्यवस्था पनि छ। चालकको काबुबाहिरको परिस्थितिबाट दुर्घटना भई कुनै हानि–नोक्सानी पुगेको रहेछ भने त्यस्तो सवारी चलाउने चालकलाई कुनै सजाय नहुने कानुनमा व्यवस्था छ।
‘दुर्घटना गराउने चालकलाई सजाय खै?’ ललितपुरका ट्राफिक प्रमुख हाछेथुले भने, ‘दुर्घटना गराउँछन्। मान्छे मार्छन्। सजाय धेरै भए दुई वर्ष!’
‘दुर्घटना गरे बापत चालकले १० प्रतिशत पनि जरिवाना तिर्नुपर्दैन। केही समय जेल बस्छन्। फेरि खुलेआम गाडी चलाएर हिँड्छन्। चालकलाई दुर्घटना गराएपछि त्यसबाट हुने परिणामको डर देखाउन नसकेसम्म सवारी दुर्घटनामा कमी आउँदैन,’ उनले भने।
यो पनि